सरकारले २०७० सालमै एकीकरण निर्देशिका जारी गरेपनि मर्जरका लागि आकर्षित नभएका सहकारी संस्थाहरु पछिल्लो समय भने स्वस्फुर्त रुपमा त्यसका लागि जुट्न थालेका छन् । कोभिड–१९ को महामारी, विश्वव्यापी रुपमा सुरु भएको आर्थिक मन्दी, वित्तीय क्षेत्रमा देखिएको तरलता अभावलगायतका समस्याका कारण संस्था संचालनमै चुनौतिहरु बढ्दै गएपछि बलियो र शसक्त सहकारी बनाउने लल्यसहित सहकारीकर्मीहरु मर्जरमा जुटेका हुन् । जसको कारण सहकारीमा मर्जर अभियानको माहोल सिर्जना हुन थालेको छ । मर्जरको आवश्यक्ता, यसका फाइदालगायत विविध पक्षमा केन्द्रीत रहि सहकारीकर्मीसँग सहकारी अखबारले गरेको कुराकानी ः
जोखिम न्यूनिकरण हुन्छ
नरेन्द्र विष्ट (अध्यक्ष– प्रस्तावित राष्ट्रिय बहुउद्देश्यीय सहकारी )
आ–आफ्नो तरिकाले छुट्टाछुट्टै संस्था सञ्चालन गर्दा प्रभावकारी भएन । त्यसैले एकीकृत रुपमा संस्था संचालन गरौं भन्ने सोचका साथ मर्जरमा जुटेका हौं । मर्जरले सदस्य पहिचान र जोखिम न्यूनिकरण हुन्छ । मर्ज गर्दा आम जनमानसमा सहकारीप्रति समस्या पर्दा पनि व्यवसायिक र दिगो हुन सक्छ भन्ने सन्देश दिन सकिन्छ ।
पछिल्लो दुई चार वर्षमा सेवा केन्द्र सञ्चालन गर्न होडबाजी नै भयो । यसले कष्ट बढी भयो । धेरै सदस्य जुध्ने अवस्था आयो । मर्जर गर्दा ५० प्रतिशत भन्दा बढी सेवा केन्द्र घट्छन् । यसले लागत पनि घट्ने छ । बैंक तथा वित्तीय संस्थामा पनि मर्जर अभियान प्रभावकारी भएको छ ।
विश्वव्यापी रुपमै मर्जर अभियान चलेको छ । राम्रो सेवा दिन सबैको कन्सेप्टमै मर्ज गर्नुपर्ने महसुस भएको देखिन्छ । हाम्रो अपेक्षा पनि त्यही हो । सहकारी विभागले मर्जरका लागि निर्देशन पनि जारी गरेको छ । त्यसलाई पूरा गरेर जान हामी तयार छौं ।
त्यसलाई हेरेर कतै ग्याप भएका कुरा सुधार गर्दै जानेछौं । मन मिल्ने, कार्यक्षेत्र मिल्ने, मर्ज गर्दा सुहाउँनेबीच घोषणा गरेका छौं । अब डिडिए गरेर कारोबार व्यवस्थित गरी आएको खण्डमा मर्जरमा जानेछौं । ११ वटा घोषणा भएका सबै सहकारीको मर्जर नहुन पनि सक्छ । कैफियत भएमा त्यसलाई छोडेर जाने सहमति भएको छ ।
लागत घट्छ
यम्बर कार्की (अध्यक्ष, शुभसेवा बहुउद्देश्यीय सहकारी (प्रस्तावित)
मर्ज पहिलादेखि नै गर्नुपर्छ भन्नेमा थियौं । अहिले विशेष परिस्थितिमा महसुस अझ बढेर गयो । हामी दीर्घकालीन रुपमै जान चाहेका छौं । १४ वटा कार्यालय रहेकोमा अब ५ वटा हुने छन् । यसबाट लागत घट्ने छ । सदस्यले गुणस्तरीय सेवा पाउने छन् । एक महिनाभित्र साधारणसभा गर्ने योजना छ ।
त्यसपछि डाटाबेसमा बसेर तीन महिनाभित्र एकीकृत कारोबार सुरु हुने छ । पछिल्लो समयमा मर्जरको लहर सुरु भएको छ । संख्या धेरै भएकाले व्यवस्थापन गर्न सकस परिरहेको छ । मर्ज गर्दा संस्थाले सदस्यलाई गुणस्तरीय सेवा दिने निश्चित छ । सदस्यको बेस पनि फराकिलो हुन्छ ।
दीर्घकालिन फाइदा हुन्छ
महाशंकर रेग्मी (अध्यक्ष, मेगा ड्रिम बहुउद्देश्यीय )
अहिलेको अवस्थालाई हेरेर मर्जरमा जाने निर्णय गरियो । विशेषगरी सहकारीमा तरलता व्यवस्थापनमा समस्या भएकाले नै मर्जरमा प्राथमिकता दिइएको हो । मर्ज गर्दा दोहोरो सदस्यता हटाउन सकिन्छ । एउटै व्यक्ति पाँच÷छ वटा सहकारीको सदस्य लिने, बचत गर्ने र कर्जा लिने प्रवृति छ । तर, सदस्यको आम्दानीको रेसियो बढेको छैन ।
पुँजीगत हिसाबले पनि संस्था बलियो हुन्छ । राज्यको नीति पनि मर्ज गर्ने भन्ने नै छ । त्यसमा टेवा पुग्ने छ । विषम परिस्थितिमा जुध्न टिम बनाएर अघि बढ्यौं भने समस्या हटाउन सकिन्छ भन्ने मनसायले सम्झौता गरेका हौं । डिडिए गरेर सम्पत्ति दायित्वको यकिन गरेपछि मर्जरमा जानेछौं ।
केही संस्थामा समस्या छ भने एकीकरणमा जान सक्ने स्थिति हुँदैन । सझौता अनुसार नयाँ सन्देश दिनेगरी मर्ज गर्नेछौं । यसले सदस्यमा सकारातमक प्रभाव पर्छ । सहकारी धेरै नै भए भन्ने गुनासो आइरहेका छन् । यसबाट अस्वस्थ प्रतिस्पर्धा पनि भएको छ । त्यसलाई चिर्न पनि खोजिएको हो । यसबाट दीर्घकालीनरुपमा फाइदा हुन्छ ।
सहकारीको स्ट्रेन्थ बढ्छ
राजकुमार लामा (अध्यक्ष, नेशनल नमोबुद्ध बचत तथा ऋण )
हामीले पहिला पनि मर्जर गरेका थियौं । २०७२ सालमा ७ वटा मर्जर गरेर नेशनल नमोबुद्ध बनायौं । गत वर्ष सदिक्षा सहकारीसँग मर्जर गरियो । धेरै वटा मिलेर एउटै बन्दा सहकारीको स्ट्रेन्थ बढ्छ । एउटै कार्यक्षेत्र र सेवा केन्द्र भएका ठाउँमा मर्ज गरेका छौं ।
सदस्य पनि दोहोरिएका हुन्छन् । मर्ज गर्दा सेवा केन्द्र घट्ने भएकाले कष्ट अफ फण्ड पनि घट्ने नै भयो । सीमित कर्मचारीबाट गुणस्तरीय काम गर्न सकिन्छ । कर्मचारीको खर्च पनि घट्ने भएकाले मर्जर आवश्यक छ । सदस्यमा सहकारीप्रति अविश्वास बढ्दै गइरहेको छ ।
आपसमा सहकारी सस्था गाभिदा बलियो हुँदै जाने रहेछ भन्ने सन्देश पनि जान्छ । सदस्यलाई गुणस्तरीय सेवा दिन सकिन्छ । जसरी बैंकहरु गाभिएर एक भइरहेका छन् । सहकारी ऐनले पनि मर्जरमा प्रोत्साहन दिएको छ ।
मर्जरले सबैलाई फाइदा
विनोद खनाल (सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था)
मर्जर गर्दा सबैलाई फाइदा हुन्छ । एक हप्तामा २५ वटा सहकारी मर्जर भएर तीनवटा बन्न थालेका छन् । यसले दोहोरो सदस्यता कम गराउछ । सरकारलाई पनि तीनवटा संस्थाको नियमन गर्न सहज हुन्छ । एउटा पोखरीमा हजार माछा पाल्नु भन्दा ठूला माछा थोरै हुनु राम्रो भएजस्तै सहकारी कम हुनु र गुणस्तरीय हुन राम्रो मानिन्छ ।
सहकारी मर्ज गर्दा रोजगारी कम हुन सक्छ तर संस्थाको खर्च कम हुन्छ । अहिले संस्था मर्ज गर्दा ३७ करोड खर्च जोगिने देखिएको छ । खर्च जोगिएपछि सेयर सदस्यले पनि लाभांश राम्रो पाउँछन् । मर्ज नहुँदा सबैलाई असर देखिएको छ ।
मर्ज गरेर ठूलो संस्था बनाउँदा गुणस्तरीय सेवा दिन सकिन्छ । ऋण पनि एउटै संस्थाबाट लिन पाउँदा सदस्यलाई राहत हुन्छ । सदस्यलाई पनि सहज हुन्छ । यस्तो हुँदा सदस्यको पैसा पनि सुरक्षित हुने भयो । कार्यक्षेत्र भन्दा बाहिर कारोबार हुन पनि बन्द हुन्छ ।
Leave a comment