काठमाडौं । सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले आव २०८२ / ०८३ को वार्षिक समीक्षा सकेको छ । संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका सचिव यामराज गिरीले सञ्चालन गरेको कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगीले आर्थिक वर्ष २०८२ / ०८३ को नीति तथा कार्यक्रमसम्बन्धी वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले सदस्य विस्तार तथा व्यावसायिक क्षमता विकास, शेयर पूँजी तथा बचत संकलन, शिक्षा तथा तालिम, सूचना तथा प्रविधि, भौतिक तथा जनशक्ति व्यवस्थापन, सदस्य सेवा तथा सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन तथा व्यावसायिक गुणस्तर विकास, सम्बन्ध तथा समन्वय तथा वार्षिक साधारण सभा र स्थापना दिवसलगायतका कार्यक्रमको कार्यान्वयन अवस्थाका बारेमा जानकारी गराएका थिए ।
समीक्षामा तय गरिएका केही कार्यक्रम सञ्चालन हुन नसके पनि अधिकांश कार्यक्रम सम्पन्न भएको र केही सम्पन्न हुने चरणमा रहेको जानकारी गराउँदै आगामी वर्ष चालु वर्षका सकारात्मक तथा प्रभावकारी कार्यक्रमलाई अनुशरण गरी संस्थागत विकास र सदस्य हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलले वार्षिक कार्यसम्पादन समीक्षा तथा आगामी वर्षको रणनीतिक कार्ययोजना प्रस्तुत गरेका थिए । उनले आगामी वर्षको रणनीतिक योजना, कार्यदिशा तथा विस्तृत वार्षिक रणनीतिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
बैठकको दोस्रो सत्रमा लेखा तथा प्रशासन विभाग प्रमुख बसन्त बहादुर बुढाले वार्षिक बजेट समीक्षा तथा वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२ / ०८३ मा शेयर सदस्यतर्फ ८२ प्रतिशत, शेयर पूँजीतर्फ ८७ प्रतिशत, बचत तथा निक्षेपतर्फ ९९ प्रतिशत, ऋण लगानीतर्फ ८८ प्रतिशत र ऋण जोखिम व्यवस्थापनतर्फ १०६ प्रतिशत लक्ष्य उपलब्धि हासिल भएको जनाए ।
त्यसैगरी कुल सम्पत्तितर्फ ९८ प्रतिशत, कुल आम्दानीतर्फ ७२ प्रतिशत, कुल खर्चतर्फ ७८ प्रतिशत र करअघिको नाफातर्फ ३८ प्रतिशत उपलब्धि हासिल भएको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ । बैठकमा आम्दानी तथा खर्च, ऋणको गुणस्तर तथा जोखिम व्यवस्था, वित्तीय दक्षता तथा प्रमुख वित्तीय अनुपातका साथै विभिन्न सेवा केन्द्रको वित्तीय अवस्था, आम्दानी, खर्च, अन्तर–सेवा केन्द्र कारोबार र भाखा नाघेको ऋणको अवस्थासमेत समीक्षा गरिएको थियो। विशेषगरी बचत तथा निक्षेप, कुल सम्पत्ति र ऋण जोखिम व्यवस्थापनतर्फ हासिल भएको प्रगतिलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको थियो ।
Leave a comment