हाइलाइट

सहकारी बैंकमा कस्तो नेतृत्वको अपेक्षा गर्नुहुन्छ ? 

सहकारी बैंकमा कस्तो नेतृत्वको अपेक्षा गर्नुहुन्छ ?  :: Sahakari Akhabar

पछिल्लो समय सहकारीमा राजनीतिक दलको हस्तक्षेपले गर्दा सहकारीकर्मी सही नेतृत्व छनोट गर्ने अवसरबाट बञ्चित हुँदैगएका छन् । सहकारीको जिल्लादेखि केन्द्रसम्म र सहकारी बैंक तथा राष्ट्रिय सहकारी महासंघसम्म नेतृत्व छनोटमा दलकै हस्तक्षेप बढेकोले सहकारीमा योगदान गरेका अभियानकर्ताहरु अभियानको नेतृत्वमा पछि पर्दैगएका छन् । जसका कारण एउटा त सहकारी अभियानले सहि गति लिन सकिरहेको छैन भने अर्को सहकारीको शाख गुम्दैगएको छ। त्यसैले सहकारी अभियानको हितकोलागि सहकारीको नेतृत्व पनि सहि हुनुपर्छ र नेतृत्व छनोट सहकारीकर्मीले नै गर्न पाउनुपर्ने आवाज उठिरहेको छ । त्यसैले सहकारी अखबारले आसन्न सहकारी बैंकको निर्वाचनलाई मध्यनजर गर्दै सहकारीकर्मी प्रतिनिधि पात्रहरुसंग सहकारी बैंकमा कस्तो नेतृत्वको अपेक्षा गर्नुहुन्छ भन्ने जिज्ञासा राखेका छौं, उहाँहरुको बिचार जस्ताको त्यस्तै ।

सहकारीमा निश्कलंकित मानिस चयन गरौं

रामनारायण शाह– ( कोषाध्यक्षः जिल्ला बचत तथा ऋण सहकारी संघ, महोत्तरी )

सहकारी क्षेत्रको एउटा मात्र बैंक, राष्ट्रिय सहकारी बैंक हो । सक्षम नेतृत्व हुनुपर्छ । सक्षम भन्नाले आफू आवद्ध प्रारम्भिक संस्थालाई पूर्णरुपमा नीति, विधिमा संचालन गरेको, सहकारीलाई तल्लो तहदेखिनै बुझेको र ब्यवसायिक ज्ञान भएको हुनुपर्छ।

मैले बाराम्बार सहकारीका फोरमहरुमा पनि भन्नेगरेको छु, राजनीतिको टोपी लगाएर सहकारीको नेतृत्व गर्नआउनेले अभियानमा केही गर्नसक्दैन त्यसैले दलले पठाएको मानिस हैन सहकारी अभियानले पहिचान गरेको मानिसलाई नेतृत्वमा पठाउनुपर्छ ।

यसअघिको अभ्यासबाट पनि हामीहरुले पाठ सिक्नुपर्ने हो की राजनीतिक दलको भागवण्डामा प्यानल बनाएर लडेर आउनेहरुले सहकारी बैंकलाई कुन हालतमा पुर्याए त्यसैले सबै प्रतिनिधिहरु सचेत बनौं । अझ सम्भावना भएसम्म विषय विज्ञहरुलाई ल्याउन सकियो भने सहकारी बैंकलाई सहि दिशानिर्देश गर्नेछन् ।

किनकी विगतका दुई तीन वर्षदेखि बैंकले सदस्य संस्थालाई लाभांश समेत दिनसकेको छैन, लगानी सुरक्षित छैन त्यसैले वित्तिय ज्ञानसहितका विज्ञहरुको टोली अहिले सहकारी बैंकको संचालकमा आउनु जरुरी छ । त्यसैले राजनीतिबाट टाढा रहेको, स्वतन्त्ररुपमा आफ्नो निर्णय लिनसक्ने, नीयमक निकायको नीति निर्देशनलाई पालना गरेर अरुलाई पनि पालना गर्न प्रेरणा दिनेखाले निश्कलंकित ब्यक्तिहरुलाई चयन गरेर पठाऔं भन्न चाहन्छु ।

सहकारी बैंक विषेशत वित्तिय कारोबार गरेको छ, वित्तिय कारोबारमा पनि लगानीको प्रकृयालाई अलि सरल बनाउनु पर्छ भन्ने लाग्छ । साथै अव आउने नेतृत्वले सबै सहकारीलाई समान ब्यवहार गर्दै सहकारी शिक्षा तालिमजस्ता सदस्य संस्थालाई आवश्यक पर्ने आधारभूत आवश्यकताका सेवा पनि प्रदान गरोस् भन्ने चाहन्छु ।

राजनीतिबाट मुक्त भएको ब्यक्तिहरु आउनुपर्छ

नगिनाकुमारी साह–( अध्यक्षः शिवमणि बचत तथा ऋण सहकारी, महोत्तरी )

सहकारी बैंक सबै सहकारी संस्थाहरुको एकमात्र बैंक हो । यसमा सवै प्रकृतिका सहकारीहरुले कारोबार गर्न पाउनुपर्छ । सहकारीको बैंक भएकोले सहकारी संस्थालाई आवश्यक पर्ने कर्जाका साथै तालिम शिक्षामा पनि यसले सहयोग गर्नुपर्छ भन्ने लाग्छ । सहकारी बैंकको नयाँ नेतृत्व छनोट हुँदैछ, यसमा मधेश प्रदेशको पनि प्रतिनिधित्व हुन जरुरी छ, मधेशको पनि आवाज सुनिनुपर्छ ।

बैंकमा आउने नयाँ नेतृत्वले सहकारीका नीति नियमहरु पालना गर्दै सदस्य संस्थाहरुलाई सुविधा दिनसक्ने नीति लिनुपर्छ । नयाँ नेतृत्व छनोट गर्दा सबै पक्ष समेटेर सवल समिति चयन गर्नसक्नुपर्छ । हामीले पनि बैंकमा सेयर हालेका छौं तर लाभांश दिन सकेको छैन, हाम्रो सदस्यले त लाभांश खोजिरहेका छन् ।

त्यसैले सहकारी बैंकले सहकारी संस्थाको मर्का बुझेर पनि काम गर्नु पर्यो । हामीले बैंकसंग ऋणको कारोबार त गरेको छैन तर भोलिका दिनमा ऋण कारोबार गर्नुपरेमा सहज रुपमा कारोबार गर्नपाउनु पर्छ । त्यसैले अवका दिनमा सहकारी बैंकमा आउने संचालकहरु सहकारी बुझेको, सहकारीलाई मायाँ गर्ने र राजनीतिबाट मुक्त भएको ब्यक्तिहरु आउनुपर्छ भन्ने लाग्छ ।

हामीलाई नेता हैन, अभिभावक चाहिएको छ

मोहम्मद रेजा – ( सचिवः मेरो रेजा बचत तथा ऋण सहकारी, महोत्तरी )

सहकारीहरुले कोरोना महामारी पछि धेरै चुनौती खेपिरहेका छन् । सहकारीको नेतृत्वमा धेरै थरीका मानिसहरु आए सवै कुनै न कुनै दलको नेतृत्व गरेर आए, सहकारीकर्मी मात्र भएर कोही आएनन् । सवैले सहकारी अभियानकालागि गरेको कामको नतिजा पनि हामीहरुले देखिसक्यौं । सहकारीले अहिले कस्तोे समस्याको सामना गरिरहेको छ त्यो पनि देखिरहेका छौं ।

जसका कारण सहकारीकालागि नियमन निकायहरु पनि बढीरहेकै छन्, सबैको नीति निर्देशन मानेर जानुपर्ने अवस्था सिर्जना भएको छ । यो सबै सहकारीमा राजनीतिक दलका मानिसले हस्तक्षेप गरेको कारण भएको हो । नयाँ नेतृत्वले सहकारी तीन वर्षदेखि घाटामा रहेको बैंकलाई सदस्यलाई मुनाफा दिने बैंकको रुपमा लैजाने चुनौती छ ।

त्यसैले अवको नेतृत्व हाम्रोको लागि हैन राम्रोको लागि हुनुपर्यो । सबै सहकारीलाई कुनै भेदभाव नगरी समान ब्यवहार गर्दै बैंकलाई उन्नतीमा लानसक्ने नेतृत्व हुनुपर्यो । यहाँ नेता बन्न हैन, ब्यवसायिक नेतृत्व गर्न अभिभावक बनेर आउनुपर्छ, सहकारी अभियानको नै प्रगती हुनेखाले नीति निर्माण गर्नसक्नुपर्छ।

सहकारीले भोगिरहेका समस्याको पहिचान गरी राज्यसंग लविङ गर्नसक्ने क्षमता भएको हुनुपर्छ । सबैको चासो सहकारी प्रति छ, त्यसैले सहकारी बैंकको नेतृत्व गर्न आउनेहरुको ब्याकग्राण्ड केहो पत्तालगायन जरुरी छ, सवैले दलको भरमा हैन, ब्यक्तिको आफ्नो आचरण कस्तो छ पहिल्याएर मात्र चयन गर्नुपर्छ भन्न चाहन्छु । सहकारी आम सर्वसाधारणको भरोसा हो त्यसैले सहकारीको नेतृत्व तहमा रहेका सबैले सहकारी मन्दिर हो र म यसको पूजारी हो भन्ने सम्झनु पर्छ नकी म यसबाट ब्यक्तिगत स्वार्थ लुट्छु भन्ने ठान्नु हुँदैन ।

राजनीतिक हस्तक्षेप भएका हरेकक्षेत्र समस्याग्रस्त भएका छन्

आनन्दकुमार सिंह– ( ब्यवस्थापकः जानकी बचत तथा ऋण सहकारी, महोत्तरी )

सहकारी बैंक राष्ट्र बैंकको निर्देशनमा चलेको हुन्छ भने यसले सहकारी कानुन पनि पालना गर्नुपर्ने हुन्छ । त्यसैले सहकारीको मर्म नमर्नेगरी कानुनको पालना गर्दै बैंकलाई अगाढी बढाउन चुनौती त छैदैछ । समग्र देशमा नै वित्तिय कारोबारमा मन्दी आएको समयमा सहकारी क्षेत्रले पनि पिडाबाट छुटकारा पाएका छैनन् ।

सवै सहकारीहरुलाई एक प्रकारको चुनौति पनि छ । सहकारी बैंक सहकारी संस्थाको अभिभावक हो । यसले सबै सहकारीलाई समान ब्यवहार गर्नुपर्छ । सहकारी बैंक विगत केही वर्षदेखि नोक्सान मै रहेको छ । सहकारी बैंक किन घाटामा गइरहेको छ, यो सोचनिय विषय छ ।

सहकारी बैंकले कमाएर लाभांश बितरण गर्न नसकेपनि खर्च ब्यवस्थापन गर्नसक्ने चाही हुनुपर्ने हो त्यो पनि भएको देखिदैन । बैंकले समय अनुसार संचालन गर्ने बातावरण बनाउन नसकेको हो या सिमित ब्यक्तिहरुले मात्र फाइदा लिइरहेको छ बुझ्न जरुरी छ । विगतका संचालकहरुले खासै उत्तरदायी, दुरदर्शी र योजना बनाएर काम गर्न नसकेको जस्तो देखियो ।

त्यही राष्ट्र बैंकको निर्देशनमा चल्ने अन्य बैंक वित्तिय संस्था संधै नाफामा रहने त्यही निर्देशनबाट चल्ने सहकारी बैंक किन घाटामा गइरहेको छ ? सहकारी बैंक तरलता मात्र थुपारेर बसेको छ, सहकारीलाई आवश्यक पर्दा लचिलो भएर सहयोग गरेको देखिदैन ।

संस्था बैंकको सदस्य हो, सेयर लगानी गरेको छ, बचतको कारोबार गरेको छ भने संस्थाको ब्यालेन्ससिट हेरेर पनि लगानी गर्ने बातावरण बनाउन जरुरी छ । सहकारी भएकोले संस्थासंग पनि सहकारीको ब्यवहार गर्न जरुरी छ, मात्र धितोको पछि लाग्नु हुन्न सानो सानो लगानी पनि गर्न जरुरी छ ।

धेरै सहकारीले अन्य बैंक वित्तिय संस्थासंग कारोबार गरिरहेको छ, उनीहरुसंग टाइममा किस्ता तिर्ने र ऋण कारोबार गरिरहेको छ भने त्यही कारोबार हामी सहकारी बैंकमा गर्न चाहन्छौं । हामी चाहन्छौं सहकारीको पैसा सहकारीमा जाओस् तर सहकारी बैंकले त्यो सोचेको छैन् । त्यसैले बैंकमा अव आउने नेतृत्वलाई यो चुनौती छ र यो चुनौति सामना गर्नसक्यो भने बैंकलाई राम्रो हुन्छ ।

सहकारीको ज्ञान भएको, वित्तिय ज्ञान भएको र समयसापेक्ष सहकारी बैंकको सेवालाई परिमार्जन गर्नसक्ने नेतृत्व चयन गर्नुपर्छ । सहकारी संस्था सहकारी बैंकको लागि घरैछेउको बारी हो यसमा उसले चाहेको बाली लगाएर आम्दानी गर्नसक्नु पर्यो नी । सहकारीमा राजनीति हस्तक्षेपले अहिलेको अवस्था सामना गर्नुपरेको हामी सबैले देखेका छौं ।

त्यसैले सहकारीको नेतृत्व चयन गर्दा सवैले विगतको अभ्यासलाई हेरौं त्यसले अभियानमा के नाफा र घाटा भएको छ, त्यो बिचार गरौं र नेतृत्व चयन गरौं । राजनीतिक हस्तक्षेप भएको हरेक क्षेत्र अहिले समस्याग्रस्त भएका छन् त्यसैले समयमै बिचार पुर्याऔँ ।

ब्यक्तिगत स्वार्थकालागि आउन खोज्नेलाई बहिस्कार गर्नुपर्छ

सरोजकुमार यादव – ( ब्यवस्थापकः यूवासरोकार बचत तथा ऋण सहकारी, महोत्तरी )

हाम्रो भनाइ यही छ, सहकारीको नेतृत्वमा आउनेहरु राजनीतिक ब्यक्ति हुनुभएन । त्यसपछि नेतृत्वमा आउन चाहनेहरुको सहकारीको योगदान के छ ? त्यो पनि हेर्न जरुरी छ । सहकारीलाई कति मयाँ गर्छ, आफू आवद्ध सहकारी संस्थामा के योगदान गरेको छ, समाजले त्यो ब्यक्तिलाई कसरी हेर्छ, सहकारी अभियानले चिन्छ की चिन्दैन भन्ने कुराहरु हेर्न जरुरी छ ।

हामीहरुले सहकारी बैंकमा सेयर लगानी गरेका छौं, बचत ऋणको कारोबार पनि गरेका छौं । दुई तीनवर्ष देखि सेयर लाभांश दिएको छैन, त्यसले गर्दा सहकारी संस्थाहरुलाई मार परिहेको छ । सहकारी बैंकमा तरलता थुपारेर बसेको छ, संस्थामा लगानी गरेको छैन ।

आवश्यक पर्ने संस्थाहरुले पनि ऋण सुविधा पाएको छैनन् भनेपछि सहकारी बैंक साना सहकारी हरुको बैंक बन्न सकेको छैन् । त्यसैले सहकारी बैंकमा दुरदृष्टिवाला नेतृत्व आउनु पर्छ जसले सहकारी बैंकको आगामी बाटो पहिल्याउन सकोस । यहाँ त खाली नेता हुन आएको छ, भाषण गरेर यसो गर्ने उसो गर्ने मात्र भनेको छ, संस्थाले पाउने सेवा सुविधा चाही केही हुनसकेको छैन् ।

त्यसैले सम्पूर्ण सहकारी अभियन्ता साथीहरु सहकारी बैंकको नेतृत्वमा जान चाहनेहरुको सम्पूर्ण ब्याकग्राण्ड के छ खोजी गर्नुहोस्, सहकारीमा गरेको योगदानको विषयमा बुझ्नुहोला, यहाँहरुले सहकारी बैंकमा बसेर सहकारीलाई दिने केहो त्यो पनि बुझ्न जरुरी छ ।

राजनीतिकरण भएको संस्थाको भविश्य छैन, त्यसैले सहकारीमा योगदान विनै ब्यक्तिगत स्वार्थकालागि आउनखोज्नेहरुलाई बहिस्कार गर्नु नै बेस हुन्छ । वर्तमान समयमा सहकारीलाई सबैतिरबाट हमला भएको छ, सहकारी प्रति आम सर्वसाधरण देखि उपल्लो तहसम्ममा नराम्रो इमेज छ, सहकारीको साख गुमेको अवस्था छ ।

त्यसैले नयाँ नेतृत्वले सहकारीको गुमेको साखलाई कसरी फर्काउन सक्छ उनीहरुको आगामी योजना के हो सर्वसाधारणको विश्वास जित्ने आधारहरु के छन् त्यो हेरेर नेर्तत्व चयन गरौं । सहकारी बैंकले सहकारीमा गर्ने लगानीको प्रकृया झण्झटिलो पनि छ, सरल बनाउन आग्रह छ ।

अहिले सहकारी बैंकले सवै जिल्लामा सवै सहकारीहरुलाई सुविधा हुनेगरी सेवाकेन्द्र राखेर सेवा दिओस् भन्न चाहन्छु । हाम्रो नजिकमा सहकारी बैंकको शाखा नभएकोले चाहेर पनि हामीले सहकारीको पैसा सहकारीमा राख्न सकेको छैन । हामीले बाध्य भएर नीजि बैंक वित्तिय संस्थासंग कारोबार गर्नुपरेको अवस्था छ।



Leave a comment