काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारीले अहिले जटिल कानुनी चुनौतीहरूको सामना गर्नु परिरहेको बताएका छन् । उनले सरकारले सहकारीलाई सदस्य नियन्त्रित बनाउनुको साटो सबैलाई एउटै डालोमा राखेर राज्य नियन्त्रित कानुन ल्याएको बताएका हुन् ।
संघको नगर सहकारी समन्वय उपसमितिले आयोजना गरेको एकदिने सदस्य सक्षमता विकास तालिममा सहकारी नेतृत्वले गलत प्रवृत्तिका व्यक्तिको प्रवेशका कारण सहकारी क्षेत्र बदनाम भएको र त्यसको मार समुदायमा आधारित असल सहकारीहरूले खेप्नुपरेको बताएका छन् ।
उनले सहकारी सञ्चालनमा बाधक कानुन संशोधनका लागि सरोकारवालाहरूले निरन्तर खबरदारी र आवाज उठाइरहनु पर्ने बताए । उनले केही संस्थामा विकृति देखियो भन्दैमा सबैलाई एउटै डालोमा हेरेर सरकारले सहकारीलाई सदस्य नियन्त्रित भन्दा पनि राज्य नियन्त्रित बनाउने गरी कानुन बनाएको बताए । मौजुदा ऐन कानुनको पालना हामीले गर्नैपर्छ, उनले भने, तर सहकारी संस्था सञ्चालनमा बाधक हुने प्रावधानहरूको संशोधनका लागि विरोधका आवाजहरू निरन्तर उठाइ रहनुपर्छ ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन नियम अनुसार संस्थाको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र सहकारी सञ्चालनसम्बन्धी अनिवार्य तालिम लिनुपर्ने कानुनी व्यवस्थालाई सहजीकरण गर्न संघले यो तालिम आयोजना गरेको जानकारी दिए । उनले प्रत्येक सहकारी संस्थाले हरेक वर्ष आफ्नो वार्षिक बजेटमै आवश्यक रकम विनियोजन गरी सञ्चालक, कर्मचारी र सदस्यहरूको क्षमता विकासका लागि निरन्तर तालिमहरू सञ्चालन गर्नुपर्ने बताए ।
तालिममा संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको अवधारणा, विकासक्रम, अन्तर्राष्ट्रिय सिद्धान्त र व्यावहारिक प्रयोगका साथै सञ्चालक समिति तथा उपसमितिहरूको काम, कर्तव्य र अधिकारका बारेमा सहजीकरण गरेका थिए । तालिममा केदारनाथ साकोसका अध्यक्ष राजभाइ तजले र छुमा गणेश साकोसका अध्यक्ष हरिशरण अवालले तालिम प्रभावकारी र समयसान्दर्भिक भएको बताए । तालिममा ३१ जनाको सहभागिता रहेको थियो ।
Leave a comment