विराटनगर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आफ्नो ३९ औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेशसहित देशभर प्रादेशिक कार्यक्रम आयोजना गरेको छ । नेफ्स्कूनले काठमाडौंसहित सातै प्रदेशमा स्थापना दिवस मनाएको हो ।
कोशी प्रदेशमा आयोजित कार्यक्रममा प्रदेश सरकार, प्रदेश रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भूपेन्द्र खनालले सहकारी क्षेत्रमा संस्थागत सुशासन कायम गर्न नियमनकारी निकाय र सहकारी अभियानकर्मीबीच समान धारणा र सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै खनालले तीन तहको सरकार र बहुनियामकीय व्यवस्थाका कारण सहकारी क्षेत्रमा थप स्पष्टता र समन्वय आवश्यक रहेको बताए । “तीन तहको सरकार भइरहँदा राज्य तपाईँहरूसँगै छ भन्ने बुझ्नुपर्छ,” उनले भने, “नियमनकारी निकायको क्षमता कमजोर र सहकारी अभियानको क्षमता पनि कमजोर छ भने समाजकै क्षमता कमजोर भएको हो कि भन्ने प्रश्न उठ्छ ।” यसकारण क्षमता वृद्धिको लागि काम गर्नुपर्ने उनको भनाई छ ।
उनले नियमनकारी निकायले एउटा कुरा र सहकारी अभियानकर्मीले अर्को कुरा बोल्दा सहकारी क्षेत्रको समस्या समाधान हुन नसक्ने बताए । कानुन निर्माणअघि व्यापक छलफल आवश्यक भए पनि कानुन बनिसकेपछि सबैले त्यसको पालना गर्नुपर्ने उनको भनाइ थियो ।
प्रवर्धन कोषको विषयमा सहकारी अभियानकर्मीको आवाज पर्याप्त रूपमा नपुगेको हुन सक्ने भन्दै खनालले अभियानकर्मीले आफ्ना विषय प्रभावकारी ढंगले उठाउनुपर्ने बताए । सहकारी अभियानमा संलग्न व्यक्तिहरू नैतिकवान हुनुपर्नेमा पनि उनले जोड दिए ।
सहकारी क्षेत्रमा समस्या नरहेको दाबी गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै खनालले नियमनकारी निकायको दृष्टिकोणबाट हेर्दा धेरै समस्या देखिने बताए । उनले सहकारी क्षेत्रमा आलोचनात्मक चेत आवश्यक रहेको उल्लेख गर्दै नेफ्स्कूनलाई आफ्ना सदस्य संस्थाहरू निष्क्रिय छन् कि छैनन् भन्ने विषयमा समेत गम्भीर भएर समीक्षा गर्न आग्रह गरे ।
कार्यक्रममा कोशी प्रदेशको उत्कृष्ट साकोसका रूपमा गोर्खा साकोस, सुनसरी–धरानलाई सम्मान गरिएको थियो । त्यस्तै नेफ्स्कून संघ उत्प्रेरणा सम्मान साझा जिल्ला बचत संघले प्राप्त गरेको छ भने उत्कृष्ट व्यवस्थापकको सम्मान संसेवक साकोसकी जर्मन राईले प्राप्त गरेकी छिन् । कार्यक्रममा नेफ्स्कूनले गर्दै आएका गतिविधि तथा आगामी कार्यदिशाबारे कार्यक्रम अधिकृत गणेश तिल्सिनाले जानकारी गराएका थिए ।
राष्ट्रिय सहकारी महासंघकी सञ्चालक योगमाया सुवेदी, कोशी प्रदेश सहकारी संघका सञ्चालक गंगाप्रसाद दाहाल, कोशी प्रदेश बचत संघका अध्यक्ष हरि सुवेदी र जिल्ला बचत संघ झापाका अध्यक्ष युवराज गिरीले सहकारी क्षेत्रका आगामी सम्भावना र चुनौतीबारे धारणा राखेका थिए । उनीहरूले संघको वैकल्पिक व्यवस्थाबारे सोच्दा त्यसबाट पछि आउन सक्ने सहजता र अप्ठ्यारोलाई समेत मध्यनजर गरेर अघि बढ्नुपर्ने बताए।
कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले सहकारीका सदस्यले जम्मा गरेको रकम सुरक्षित राख्नु सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै सदस्यको बचत सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।कार्यक्रम नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालको अध्यक्षता तथा कोशी प्रदेश सरकार, प्रदेश रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भूपेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
Leave a comment