हाइलाइट

स्थापनाको ३९ वर्षमा अस्तित्वको लडाई लड्दै नेफ्स्कून

स्थापनाको ३९ वर्षमा अस्तित्वको लडाई लड्दै नेफ्स्कून :: Sahakari Akhabar

काठमाडौं । नेपालमा बचत अभियानलाई संस्थागतको सुत्रधार गर्ने बचत तथा ऋण सहकारी संस्थाहरूको केन्द्रीय र प्रवद्र्धक संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आफ्नो गौरवमय यात्राको ३८ वर्ष पूरा गरिसकेको छ । २०४५ साल साउन ३२ गते स्थापना भएको यो संघले ३९ वर्षको पाइला टेक्दैगर्दा गन्तब्य भने, अलमलिएको छ।

छरिएर रहेको सानातिनो पुँजीलाई एकत्रीत गर्दै आम सर्वसाधारणमा वित्तीय चेतनाका साथै उनीहरुमा वित्तीय पहुँच पुर्याउने ऐतिहासिक कदमको सुरुवात नेफ्स्कूनले गरेको थियो । तर आज ३९ वर्षको लामो कालखण्ड पार गर्दैगर्दा नेफ्स्कूनका ति पाइला मोड्न सरकारको निर्देशन छ ।

देशका ७७ वटै जिल्लाहरूमा आफ्नो सञ्जाल विस्तार गरिसकेको नेफ्स्कूनलाई बचत ऋणको विरासत छोड्नुपर्ने बाध्याता छ । नेपालमा परम्परागत रूपमा चलिआएका ढिकुरी, पर्म, धर्मभकारी र गुठी जस्ता सामाजिक तथा आर्थिक सहकार्यका अभ्यासहरूलाई आधुनिक र संगठित रूपदिन नेफ्स्कूनको परिकल्पना गरिएको थियो । र परिकल्पनाकारका मुख्य कलाकार स्वर्गीय भोजराज घिमिरेलयागतको सपनाको यात्राले ३९ वर्षमा विश्राम लिएको छ।

समुहबाट सुरु भएको यो अभियानले नेपालमा प्रजातन्त्रको पुनःस्थापना र तत्पश्चात आएको सहकारी ऐन, २०४८ देखि २०७४ अनि संसोधित हुँदै ०८३ ले टुङ्गो लगाइदिएको हो । नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरूको क्षमता विकास, वित्तीय सुशासन र नीतिगत पैरवीको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको छ ।

यसले देशका लाखौं सर्वसाधारणको व्यक्तिगत बचत सुरक्षित गर्न र उनीहरूलाई उद्यमशील बनाउन प्रभावकारी भूमिका खेलेको देखिन्छ । वित्तीय साक्षरता अभिवृद्धि गर्न, गरिबी निवारणमा टेवा पुर्याउन र महिला तथा सीमान्तकृत समुदायलाई आर्थिक रूपमा सबल बनाउन संघले शिक्षा तालिमका साथै वित्तीय चेतना पनि दिएको छ।

यसका साथै, नेपालका सहकारीको अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुर्याएको छ । ३९ वर्षे यात्रामा नेफ्स्कूनले केवल प्रशासनिक वा साङ्केतिक काम मात्र गरेन, बल्कि नेपालको सहकारी आन्दोलनलाई वैज्ञानिक र व्यावसायिक मार्गमा डोर्याउन अनेकौं महत्वपूर्ण कार्यहरू सम्पन्न गरेको छ ।

सदस्य संस्थाहरूमा पर्नसक्ने तरलताको अभावलाई टार्न र वित्तीय कारोबारलाई सहज बनाउन नेफ्स्कूनले प्रभावकारी अन्तरलगानी तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ । समयको परिवर्तनसँगै सहकारी क्षेत्रलाई डिजिटल रूपान्तरण गर्न नेफ्स्कूनले साझा सहकारी सञ्जाल (SCAN) र व्यवस्थापन सूचना प्रणाली (MIS) जस्ता प्रविधिहरू भित्र्याएर सदस्य संस्थाहरूलाई एकीकृत प्रविधिको धारमा ल्याएको छ।

सहकारी संस्थाहरूमा सुशासन कायम गर्न र जोखिम न्यूनीकरणका लागि अन्तराष्ट्रियस्तरका ब्रान्डिङ कार्यक्रमहरू सञ्चालन गरी संस्थागत विश्वसनियता बढाएको छ । संकटमा सहयोग गर्न योगदानमा आधारित स्थिरीकरण कोषको अवधारणालाई मूर्त रूपदिन नेफ्स्कूनको महत्वपूर्ण योगदान रहेको छ । हरेक वर्ष हजारौं सहकारी सञ्चालक, व्यवस्थापक र कर्मचारीहरूलाई व्यावसायिक तालिम तथा अभिमुखीकरण प्रदान गरि दक्ष जनशक्ति उत्पादनमा संघ निरन्तर खटिरहेको पाइन्छ ।

वर्तमानको टर्निङ प्वाइन्टः

नेफ्स्कून यतिवेला आफ्नो ३९ वर्षे इतिहासकै सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मोडमा उभिएको छ । पछिल्लो समय केही सीमित सहकारीहरूमा देखिएका वित्तीय अनियमितता, अपारदर्शिता र स्वेच्छाचारिताका कारण समग्र क्षेत्र नै गम्भीर संकटको भूमरीमा परेपछि सरकारले संघहरुको कारोबारमा शंका गर्दै बचत ऋणको कारोबारमा बन्देज लगाएको छ ।

फलस्वरूप, नियामक निकायले बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूका लागि कडा नियमन, सीमाहरू तथा नियन्त्रणात्मक व्यवस्थाहरू अगाडि सारेका छन् ।  सरकारका साथै नेपाल राष्ट्र बैंकलगायतका निकायबाट जारी गरिएका नयाँ निर्देशन र मापदण्डहरूले बचत ऋण कारोबारको दायरा, ब्याजदरको सिमा, लगानीका क्षेत्र र शेयर पुँजीको अनुपातमा कडाइ गरेका छन् ।

यसले एकातिर वित्तीय सुशासन कायम गर्न र विकृति रोक्न सकारात्मक मञ्च तयार पारेको छ भने अर्कोतर्फ दशकौंसम्म स्वनियमनमा चल्ने अभ्यास गरेका लाखौं साना तथा मझौला सहकारीहरूलाई अस्तित्व जोगाउनै कठिन पर्ने अवस्था सिर्जना भएको छ ।

कतिपय क्षेत्रमा कारोबारमा आएका अंकुश र अविश्वासको वातारणका कारण नेफ्स्कूनले पनि आफ्नो गरिमा र अस्तित्वको रक्षाका लागि ठूलो वैचारिक, नीतिगत र व्यावहारिक लडाई लड्नुपरेको छ । संकटलाई अवसरमा बदल्ने दृढता र भविष्यको मार्ग चुनौतीहरू जुनसुकै रूपमा आए पनि नेफ्स्कूनले आफ्नो स्थापनाको उद्देश्य र लाखौं सदस्यहरूको भरोसालाई मर्न दिनुहुन्न ।

सरकारका नियमनकारी नीतिहरूलाई शिरोधार्य गर्दै सहकारीमा देखिएका विकृतिहरूलाई पखाल्न नेफ्स्कून अहिले शुद्धीकरण र सुशासनको आन्तरिक अभियानमा जुटेको छ । बचत तथा ऋण सहकारीहरूले अब केवल परम्परागत बचत संकलन र ऋण प्रवाहमा मात्र सीमित नरही उत्पादनमूलक क्षेत्र, कृषि, र स्थानीय उद्यमशीलतामा ५० प्रतिशतभन्दा बढी लगानी पुर्याउनुपर्ने बाध्यात्मक तथा सकारात्मक नियमलाई आत्मसात गर्न नेफ्स्कूनले आफ्ना सदस्य संस्थाहरूलाई प्रशिक्षित गरिरहेको देखिन्छ ।

सरकारले लगाएका नियमनकारी अंकुशहरूलाई अभियानको सुदृढीकरण र पुनर्संरचनाको अवसरको रूपमा लिँदै, पारदर्शी र उत्तरदायी सहकारी बनाउन संघ अगाडि बढ्नुपर्छ । ३९ वर्षको गौरवशाली इतिहास बोकेको नेफ्स्कूनले नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा खेलेको भूमिका अमूल्य छ ।

हाल सरकारले ल्याएका कडा नियमन र बचत ऋण कारोबारमा संघहरुलाई लगाएको बन्देजहरूले केही समयका लागि असहजता सिर्जना गरेतापनि यसले दीर्घकालमा सहकारी क्षेत्रलाई अझ बढी सुरक्षित, भरपर्दो र उत्तरदायी बनाउनेछ ।

राज्य, नियामक निकाय र सहकारी अभियानकर्मीहरू बिचको दरिलो सहकार्यबाट मात्रै नेफ्स्कूनले वर्तमान अस्तित्वको लडाईमा विजय प्राप्त गरेर सदस्य संघसंस्थाको वित्तीय सेवाको पनि सारथि बन्दै आफ्नो गौरवमय इतिहाँसलाई आगामी दिनहरूमा पनि उच्च राखिरहनेछ भन्नेमा शंका लिनुपर्ने छैन । ३९ औं स्थापना दिवसको भब्य शुभकामना ।



Leave a comment