हाइलाइट

सहकारीका लागि दोश्रो सहकारी बैंकको आवश्यकता

सहकारीका लागि दोश्रो सहकारी बैंकको आवश्यकता :: Sahakari Akhabar

सहकारी (पहिलो संशोधन) ऐन, २०८३ ले जिल्ला, प्रदेश र केन्द्रीय सहकारी संघहरूलाई वित्तीय कारोबारमा रोक लगाएपछि नेफ्स्कून साकोसहरुका लागि नयाँ बैंक स्थापना गर्ने तयारीमा लागेको छ । पहिलो संशोधन ऐनले बचत ऋणको कारोबार गरिरहेका संघहरुको ब्यवस्थापनकालागि, संघहरूले एक आपसमा मिलि एक पटकको लागि सहकारी बैक गठन गर्ने, सञ्चालनमा रहेको सहकारी बैङ्कसँग एकीकरण गर्ने वा तीनवर्ष भित्र कारोबार शुन्य गर्ने तीनवटा विकल्प दिएको छ । यसमा नेफ्स्कूनले छुट्टै बैंक स्थापना गर्ने विकल्प रोजेको देखिन्छ । के छुट्टै साकोस बैंक आवश्यक छ ? भन्ने विषयमा सहकारी अखबारले साकोसकर्मीहरुको विचार लिएको छ । यहाँहरुका बिचार हामी निरन्तर प्रकाशन गर्नेछौं । हामीलाई आफ्ना बिचार पठाउनुहोला ।

नेपालमा सहकारी क्षेत्रको विकासमा राष्ट्रिय सहकारी बैंकले महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । प्रारम्भिक सहकारी संस्थाहरुको स्वामित्वमा स्थापित सहकारी बैंकले सहकारी संस्थाहरुलाई बैंकिङ सेवा, तरलता व्यवस्थापन, तालिम प्रविधि तथा विभिन्न बित्तिय सेवा मार्फत उल्लेखनिय योगदान दिएको छ ।

यद्यपी समय संगै व्यवहारिक प्रश्नहरु पनि उठेका छन् । अहिले एउटा मात्र सहकारी बैंक भएकोले प्रतिस्पर्धाको अभाव भने महसुस भएकौ छ । सेवा बिस्तार, प्रविधि सेवा, ब्याज शुल्क तथा नयाँ वित्तिय उत्पादनहरुमा अपेक्षाकृत सुधार हुन नसकेको अनुभव तमाम सहकारीकर्मीहरुले सहसुस गरेका छन् ।

वाणिज्य बैंकहरुले प्रदान गर्ने केहि आधुनिक सेवाहरु सहकारी बैंक बाट अझै प्रभावकारी रुपमा उपलब्ध हुन बाँकि रहेको देखिन्छ । यहि कारणले दोश्रो सहकारी बैंकको आवश्यकता सम्बन्धि बहस स्वभाविक रुपमा आएको छ ।

प्रतिस्पर्धाले सेवा, गुणस्तरमा सुधार गर्ने, नयाँ प्रविधि भित्राउने, संस्थाहरुलाई बिकल्प दिने र सदस्यमैत्रि सेवा विकास गर्ने सम्भावना रहन्छ । एउटा भन्दा बढि सहकारी बैंक हुँदा सहकारी संस्थाहरुले आफ्नो आवश्यकता अनुसार सेवा छनौट गर्नसक्ने वातावरण बन्न सक्छ । तर यस बिषयको अर्को पक्ष पनि त्यत्तिकै महत्वपुर्ण छ ।

सहकारी बैंक संचालनका लागि ठुलो पूँजी, दक्ष जनशक्ति, आधुनिक प्रविधि तथा पर्याप्त कारोबारको आवश्यकता पर्दछ । अहिलेको सिमित पूँजी र कारोबार दुवै बैंकमा बिभाजन भयो भने दूवै बैंकको बित्तिय क्षमता कमजोर हुने र दिर्घकालिन रुपमा संचालनमा चुनौति आउनसक्ने सम्भावनालाई बेवास्ता गर्न मिल्दैन ।

नयाँ बैंक स्थापना गर्ने निर्णय भावनामा आधारित नभई बिस्तृत अध्ययन, बित्तिय सम्भाव्यता, सदस्य संस्थाको आवश्यकता, तथा दिर्घकालिन दिगोपन लाई आधार बनाउनु पर्दछ । पर्याप्त पँुजी, व्यवसायको सुनिश्चतता र प्रभावकारी व्यवस्थापनको आधार तय हुन्छ भने अर्को सहकारी बैंक सहकारी क्षेत्रको लागि लाभदायक हुनसक्छ ।

तर माथिका आधारहरु कमजेर छन भने अहिलेको राष्ट्रिय सहकारी बैंकलाई अझ प्रतिस्पर्धि, प्रविधिमैत्री, सदस्य केन्द्रित र प्रभावकारी बनाउनु पनि त्यत्तिकै उपयुक्त बिकल्प हुन सक्छ । मेरोे बिचारमा सहकारी क्षेत्रको उदेश्य कुनै संस्थाको संख्या वृद्धि गर्नु मात्र होईन, सदस्य संस्थाले गुणस्तरिय, भरपर्दो र प्रतिस्पर्धि सेवा प्राप्त गर्नु हो, चाहे एउटा सहकारी बैंक होस् वा दुई वटा, अन्तिम लक्ष्य भनेको सहकारी संस्थाहरुको बित्तिय सुदृणीकरण, सदस्यहरुको हित र समग्र सहकारी अभियानको दिगो विकास हुनुपर्दछ ।



Leave a comment