प्रविधिको विकाससँगै वित्तीय सेवा प्रवाहमा पनि एक प्रकारको क्रान्ति नै भएको छ । हिजो चेक बोकेर बैंक तथा वित्तीय संस्थाको काउन्टरमा पुगेर घण्टै लाईन बस्नुपर्ने बाध्यताबाट यतिबेला अधिकांश वित्तीय सेवा सर्वसाधारणले मोवाईलको एक क्लिकमै लिन सक्ने अवस्थामा पुगेको छ । वित्तीय क्षेत्रमा आएको यो परिवर्तनलाई विस्तारै सहकारी संघसंस्थाले समेत आत्मसात गर्दै अघि लगेका छन् । सहकारीमा प्रविधि प्रयोगमा भइरहेका अभ्यास, यसका समस्या र चूनौतिका विषयमा सहकारी अखबारले केहि सहकारीकर्मीसँग गरेको कुराकानी :
निजी कम्पनीको प्रविधि प्रयोग गर्नुपर्ने वाध्यता
चित्राकुमारी सुब्बा
महाप्रबन्धक–राष्ट्रिय सहकारी महासंघ
देशभर ७५ वटा भन्दा बढी सफ्टवेयर संचालनमा छन् । तर, नाम सुनेको चार–पाँचवटा होलान् । कुन राम्रो भनेर छुट्टाउन समस्या छ । कतिपय सफ्टवेयरमा त समस्या देखिएको पनि छ । एउटा खातामा बचत गरेको पैसा अर्कै खातामा जाने गरेको पनि पाइएको छ । त्यसकारण सहकारी संस्थाले प्रविधि प्रयोग गर्नुअघि सेवा छनोटमा ध्यान दिनुपर्छ । प्रविधि प्रयोग सुरु गर्नु ठूलो कुरा होइन, सेवा निरन्तरतालाई बिचार पु¥याउनुपर्छ ।
समयको विकासक्रमसँगै सहकारीले प्रविधिको प्रयोग नगरी सुखै छैन । अब क्यासलेसको जमाना आउन थालिसक्यो । त्यो बेला सहकारीको सेवा पनि प्रविधिमा आधारित बनाउनै पर्छ । एटीएम सेवा पछि परिसक्यो, क्यासलेस, ब्रान्चलेस सेवा, रोबर्टको जमाना आएकाले सहकारीको सेवा पनि प्रतिष्पर्धी हुनुपर्छ ।
प्रविधिमा चाहिने पूर्वाधार, दक्ष कर्मचारी चाहियो । यसो भयो भने सहकारी डिजिटलाइजेसनमा जान सक्छन् । अहिले मोबाइल बैंकिङ चलाइरहेका छन् । तर, सहकारीमा कस्तो प्रविधि प्रयोग गर्ने विषयमा द्धिविधा छ । वित्तीय साक्षरता जस्तै डिजिटलाइजेसनमा जान पनि साक्षरता अनिवार्य भइसकेको छ । साइबर सुरक्षाका विषयमा पनि सचेत हुनुपर्ने अवस्था छ ।
निर्देशनले प्रविधि प्रयोगमा सहजता
प्रकाशप्रसाद पोखरेल
प्रमुख कार्यकारी अधिकृत–नेफ्स्कून
सहकारीहरुले कम्पनीसँगको सहकार्य गरी प्रविधि प्रयोग गर्न सक्ने व्यवस्था हालै गरिएको छ । भुक्तानी प्रदायक कम्पनीसँग सहकार्य गरी पिएसपी र पिएसओ सेवा लिन सकिने नेपाल राष्ट्र बैंकको निर्देशनमा पनि आएको छ । सहकारी विभागको निर्देशनले पनि प्रविधि प्रयोग गर्न सहज व्यवस्था गरेको छ । तर अझै पनि नेपाल राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था ऐन (वाफियाँ) ले सहकारीलाई वित्तीय क्षेत्रको मान्यता दिएको छैन । सहकारी ऐनमा ठूला सहकारी राष्ट्र बैंकले अनुगमन गर्छ भनिए पनि राष्ट्र बैंक ऐन र बाफियाँले वित्तीय क्षेत्रको पहिचान नगरेकाले सहकारीलाई राष्ट्रिय प्रणालीमा आउन कठिनाइ छ ।
बैंकहरुले प्रयोग गर्दै आएको प्रविधि सहकारीले प्रयोग गर्न सक्छन् । सहकार्य गरी उचित प्रविधि प्रयोग गर्न सहकारीलाई समस्या छैन । सहकारीसँग बजारलाई धान्न सक्ने प्रविधि सेवा नभएको देखिन्छ । त्यसो हुनाले पनि राष्ट्र बैंकसँग हामीसँग यस्तो प्रविधि छ भन्न सकिएको छैन । राष्ट्रिय भुक्तानी प्रणालीसँग जोड्न स्ट्रेन्थ सफ्टवेयर सहकारीसँग नभएको यथार्थ हो । भएको कम्पनीसँग मिलेर काम गर्न भने सकिन्छ । भइरहेको वस्तु तथा सेवाको प्याटेन्ट राइट लिएर काम गर्न सकिन्छ । अब सहकारीले राम्रो प्रविधि, कोर बैंकिङ भएमा वैधानिकरुपमा प्रविधिमा जान सकिन्छ । तर, आफैले खोल्न पाउने, प्रविधिमा सेयर हाल्न पाउने व्यवस्था छैन । त्यसो हुँदा सहकारीको पैसा त्यता जान सक्ने जोखिम पनि हुन्छ ।
सहकारीमा प्रविधिको प्रयोग
बालकृष्ण धोजु
म्यानेजर– भक्तपुर जिल्ला बचत संघ
विगतमा सहकारीको हिसाब किताव अर्थात लेखा तथा अन्य अभिलेख हातैले कलम र कागजको प्रयोग गरिन्थ्यो । त्यसबेला थौरै सदस्य, थोरै कारोबार भएकोले सम्भव भयो । तर आज भोली सहकारी संस्थाको संख्या, सदस्य आबद्धता, कारोबार र लोकप्रियता बढ्दो छ । अब सहकारीमा प्रविधि विना कारोबार तथा लेखाप्रणाली सम्भव नै छैन । तसर्थ सहकारी ऐन २०७४ को दफा ७२, ७३ र ७४ बमोजिम अभिलेख तथा कारोबार व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । सहकारी नियमावली २०७५ नियम २८ मा ५ करोड भन्दा बढी जायजेथा भएको सहकारी संस्थाले अभिलेख तथा कारोबारको सहकारी विभागले तोके बमोजिम निर्धारक पुरा गरेको सफवेयर एप्लीकेशनमा अभिलेख व्यवस्थापन समेत गर्नु पर्दछ ।
अभिलेख तथा कारोबारको लेखा राख्नको लागि सहकारी विभागले सफ्वेयरको मापदण्ड तोकेको छैन । सहकारीको आवश्यकता अनुसार बजारमा ५ हजारदेखि लाख भन्दा बढी मुल्यका सफ्वेयरहरु पाइन्छ । यसका विशेषताहरु पनि मुल्य अनुसार फरक फरक छन् । यसको प्रयोगको तरिका पनि पहिला खातापातामा चढाउने र त्यसपछि सफ्वेयरमा प्रविष्टि गर्ने चलन छ । यसले म्यानुल र सफ्टवेयर दुबैको प्रयोगले कार्य बोझ थपेको छ । प्रविधिप्रति विश्वास नभएका सहकारीमा यी दुवै प्रणालीलाई अगाँलेको छ ।
सहकारीमा दक्ष कर्मचारी वा प्राविधि कर्मचारी नियुक्ति गर्ने चलन पनि कमै छ । सहकारीको प्रविधिमा केही समस्या हुँदा सहकारीको सेवा र अन्य अभिलेखमा प्रत्यक्ष असर पार्दछ । प्राविधिक सेवा दाताहरु समयमै सेवा दिन सकेको छैन । यसले गर्दा सहकारीको प्रविधि माथि त्यति विश्वास गरेको पाइदैंन । नेपालमा निश्चित तथा पहुँच भएका सहकारीले मात्र प्रविधिको प्रयोग गरेको पाइन्छ । तर कोभिड १९ संगै सहकारीमा आफ्ना सेवाहरु एटीएम, मोबाइ बैंकिङ, एसएमएस बैंकिङ क्युआर कोड जस्ता नयाँ प्रविधिमार्फत संचालनमा जोड दिएकाछन् । सहकारीमा सदस्यले प्रविधिको प्रयोगको अवस्था र प्रभावकारीता भन्दा पनि प्रविधि राख्ने होडबाजी नै छ । सहकारीमा प्रविधिको कानुनी दायरा नहुँदा आफु खुशी प्रविधिको प्रयोगले जोखिम अत्याधिक रहेको छ ।
हाल सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशनमा पनि सहकारीले प्रविधिको प्रयोग गर्दा सहकारी विभागबाट अनुमती लिनुपर्ने व्यवस्थालाई सकारात्मक मान्न सकिन्छ । सहकारीलाई एकिकृत तथा साझा प्रविधिको प्रयोगकोे आवश्यकता छ । जुन इआरपी र सास मोडलको प्रविधि हुनुपर्दछ । विभागले तोकेको मापदण्ड पूरा भएको हुनुपर्दछ । साझा नीति र विधिको प्रयोग गरि प्रविधिमा एकरुपता ल्याउनु पर्दछ ।
खर्च गर्ने तागत सहकारीमा छैन
सन्तोष बजगाइ
म्यानेजर–ललितपुर बचत संघ
सहकारीमा प्रविधिको न्यून रुपमा प्रयोग भइरहेको छ । सहकारीको संख्या उल्लेख्य हुँदाहुँदै प्रविधि प्रयोग एकदमै न्यून छ । सहकारीमा दक्ष जनशक्ति पनि छैनन् । प्रविधि ह्यान्डिल गर्ने जनशक्तिलाई पैसा तिर्न सक्ने तागत सहकारीसँग छैन । प्रविधिमै खर्च गर्न सक्ने स्थिति सहकारीसँग छैन ।
उच्च खालका प्रविधि प्रयोग गर्न सहकारीले चाहेर पनि सकिरहेका छैनन् । अधिकांश सहकारीकर्मी सबैभन्दा सस्तो प्रविधि कहाँ छ भन्ने सोच्ने र खोज्ने गर्छन् । यसले आर्थिक कारोबार सुरक्षाका दृष्टिले चुकिरहेको अवस्था छ । प्रविधिमा जाँदा गोपनियता, वित्तीय कारोबारको सुरक्षाको सुनिश्चिता देखिएको छैन । आर्थिक कारोबारको सूचना चुहावट हुने डर छ । यसले गर्दा प्रविधि प्रयोग गर्न असहज देखिएको छ ।
सहकारीलाई प्रविधि प्रयोग गर्न फण्डकै अभाव छ । प्रविधि नयाँ नयाँ आइरहेका छन् । २४ सै घण्टा सेवा दिन क्लाउडमा जान महिनामै हजारौं खर्च लाग्न सक्छ । सहकारीमा इच्छा शक्ति हुँदाहुँदै पनि प्रविधि प्रयोग गर्न नसकिएको अवस्था हो ।
Leave a comment