हाम्रो उद्देश्य लघुवित्त बैंकहरु विस्थापित गर्नु हो

हाम्रो उद्देश्य लघुवित्त बैंकहरु विस्थापित गर्नु हो :: Sahakari Akhabar

समुदायमा आधारित सहकारीले समुदायमा कसरी काम गरिरहेका छन् । अन्य ब्ययसायीक संस्था र सहकारी बिचको सम्वन्ध, प्रतिस्पर्धामा सहकारी कसरी सञ्चालन भएका छन् भन्ने विषयमा रमाइलो जनएकता साकोसका अध्यक्ष भोला अधिकारीसँग सहकारी अखबार कालागि विराटनगरबाट चीना थापाले गरेको कुराकानीका अधारमा तयार गरिएको विचार ।

मोरङको कानेपोखरी गाउँपालिकामा रहेको रमाइलो जनएकता सहकारी समुदायमा आधारित सहकारी संस्था हो । दुवै सहकारीको उदेश्य एकै भएकोले रमाइलो र जनएकता साकोस एकीकरण गरेर ठुलो संस्थाको रूपमा विकास गरेका छौँ ।

सदस्यहरूको सेवामा समर्पित हुने उद्देश्यका साथ सहकारी एकीकरण गरेका हौ । गाउँपालिकामा साना साना सहकारी छन् । जुन सहकारीको मर्म अनुसार सञ्चालन हुन पनि सकिरहेका छैनन् भने सदस्यहरूलाई प्रभावकारी सेवा पनि दिन सकेका छैनन् । 

पहिला सहकारी बढाउने हिसाबले टोल नै पिच्छे सहकारी स्थापना भए । तर अहिले सहकारी धेरै भए । प्रविधिको समयमा साना सहकारी प्रविधियुक्त भएर सञ्चालन गर्न साधन स्रोतले भ्याउँदैन । लगानीको अङ्क पनि सानो हुन्छ ।

केही व्यवसाय गर्नको लागि पनि बजेटले भ्याउँदैन । त्यस कारण यस्ता कुराहरूलाई मध्यनजर गर्दै हामीले संस्था एकीकरण गरेका हौँ । अरू सहकारीसँग एकीकरणका कुरा गर्दा तपाईँहरू पहिला एकीकरण हुनुस् भन्ने चाहना अरूको भएका कारण पनि हामी एकीकरण प्रक्रियामा गएका हौँ । हामीले माघ ९ गते संयुक्त रूपमा एकीकरणको साधारण सभा गरेर अहिले प्रमाणपत्र पनि लिएर काम गर्न थालिसकेका छौँ । 

साना साना सहकारी भन्दा ठुलो सहकारी बनाउँदा सहकारी तथा शेयर सदस्यलाई पनि फाइदा हुन्छ  । ठुलो सहकारी भएपछि तरलताको अभाव हुँदैन । लगानीको अंकमा बृद्धि हुन्छ ।  सदस्यहरूलाई केही काम गर्नको लागि अलि धेरै ऋण लिन बैङ्क तथा वित्तीय संस्था धाउनुपर्छ । सहकारी ठुलो भयो र उनीहरूले खोजे अनुसारको ऋण प्रवाह गर्न सकियो भने सहकारी प्रतिको विश्वास बढ्छ । 

अहिले लघुवित्त बैङ्कहरू गाउँ गाउँ पसेर महँगो व्याजमा ऋण प्रवाह गरिरहेका छन् । गरिबलाई झन् गरिब बनाई रहेका छन् । हामीले सहकारीलाई ठुलो बनाएर सदस्यलाई सस्तो व्याजमा ऋण प्रवाह गर्न सक्यौ भने पनि सहकारीप्रति आम मानिसको धारणा राम्रो हुन्छ ।

हाम्रो उद्देश्यले टोल तथा गाउँमा समूह बनाएर सस्तो व्याजमा सरल तरिकाले ऋण प्रवाह गरेर लघुवित्त बैङ्कहरू विस्थापित गर्नु पनि हो । गाउँका सोझा जनतालाई विना सुविधा समूह बनाएर महँगोमा ऋण प्रवाह गरेर गरिबलाई झन् गरिब बनाएका छन् ।

हामीले समूह बनाएर केही सेवा सुविधा पनि दिएर अर्थात् उनीहरूलाई मार नपर्ने गरी काम गर्न सकियो भने कसैलाई पनि ऋण खान बैङ्क धाई रहनु पर्दैन र लघुवित्तको महँगो व्याज तिर्नुपर्दैन । यसबाट उनीहरूलाई पनि फाइदा हुन्छ भने सहकारीप्रति आम मानिसको विश्वास पनि बढ्छ । 

हामी प्रविधियुक्त बन्न सक्छौ । संस्था ठुलो भएपछि विश्वासनिर सेवा सुविधाको लागि प्रविधियुक्त बनेर सेवा सुविधा दिन सक्छौँ । जुन कुरा साना सहकारीले सक्दैनन् । अब सहकारी व्यावसायिक पनि बन्नुपर्छ। बैङ्कले जस्तै सेवा दिन सक्नुपर्छ ।

सदस्यलाई दुःख नदिने हिसाबले प्रविधियुक्त बन्न सक्नुपर्छ । यस कारण पनि सहकारी एकीकरण हुनु आवश्यक छ । यही आवश्यकतालाई मध्यनजर गर्दै हामी एकीकरण भएका हौँ । हामीले अझै अन्य साना सहकारीलाई पनि एकीकरण गर्नका लागि पहल गरिरहेका छौँ । अन्य सहकारीलाई प्रेरणा भएको छ र गाउँपालिकाका धेरै सहकारी एकीकरणको लागि सकारात्मक पनि देखिएका छन् । 

कृषिजन्य उद्योग सञ्चालन गर्नको लागि लगानी गरिने

पहिला बचत तथा ऋण सहकारीले बचत तथा ऋणको मात्र कारोबार गर्ने प्रचलन थियो । बचत तथा ऋण सहकारीले व्यावसायिक रूपमा उद्योग तथा व्यवसाय गर्न मिल्दैन थियो । तर अहिले सहकारी ऐनले आम्दानीको ३३ प्रतिशत रकम उद्योग धन्दा अर्थात् व्यवसायमा लगाउनुपर्ने उल्लेख गरिदिएको छ । सहकारीलाई विशिष्टीकृत सहकारी मार्फत उद्योग सञ्चालन गर्न सक्ने उल्लेख पनि गरिएको छ ।

रमाइलो जनएकता सहकारी पनि कानेपोखरी गाउँपालिकाका कृषकहरूलाई मध्यनजर गरेर कृषिजन्य उद्योगमा लगानी गर्न सक्नेछ । यसको लागि हामीले तयारी गरिरहेका छौँ । अन्य कुनै कृषि सहकारीसँग मिलेर भए पनि केही व्यवसाय सञ्चालन गर्ने सोच सहकारीको छ । 

किसानहरूले दूध बाहिर बेच्न लैजानुपर्ने समस्या, उत्पादन भएका खाद्यान्नहरू समयमा नबिक्ने समस्या लगायतका समस्याहरू छन् । उनीहरूको समस्यालाई मध्यनजर गर्दै कृषि सम्बन्धी व्यवसायमा लगानी गर्न सकियो भने सदस्यहरूले पनि आफूले उत्पादन गरेको कृषि बस्तु सहजै विक्री वितरण गर्न सक्ने अवस्था सिर्जना हुन्छ ।

आगामी दिनमा यसतर्फ पनि काम गर्ने सोच सहकारीले अघि बढाएको छ । आफ्ना सदस्यहरूको सुविधाको लागि हामी काम गछौं । किसानले मूल्य नपाईरहेको अवस्थामा हामीले उनीहरूको मूल्य दिन सक्यौ भने पनि उनीहरुलाई फाईदा हुन्छ । 

सहकारीले साँचो अर्थमा सदस्यहरूको जीवन सहज, सरल, सवल बनाउन र उनीहरूको आर्थिक सामाजिक जीवनलाई रूपान्तरण गराउन सहयोगी संस्थाको रूपमा सहकारी विकास हुनुपर्छ । सदस्यहरूले सहकारी मार्फत ऋण लगेर व्यापार व्यवसाय गरेर आफूलाई आर्थिक रूपमा परिवर्तन गरिरहनुभएको छ ।

यो अझै बढाउने हाम्रो सोच छ । हामीले हाम्रा सदस्यलाई सबै कुराबाट सक्षम बनाउन सक्यौ भने मात्र हामीले सहकारीको माध्यमबाट समाज रूपान्तरणमा योगदान दिन सकेका रैछौं भन्ने अनुभूति हुन्छ । सदस्यको सफलता हेर्ने इच्छा हामीलाई सदैभरि लागिरहेको छ । यसतर्फ हाम्रो सहकारी पनि अनवरत रूपमा लागिरहनेछ ।  

प्रभावकारी अनुगमन हुन नसक्दा सहकारी संस्थामा समस्या 

अहिले सहकारी अनुगमन गर्ने, तथा स्थानीय तहमा रहेका सहकारीलाई ऐन कानुन बनाउने अधिकार स्थानीय तहलाई  छ । आफ्नो क्षेत्राधिकारभित्र रहेका सहकारीहरूको नियमन गर्ने अधिकार दिएको छ । तर स्थानीय तहमा पर्याप्त कर्मचारी नभएका कारण सहकारीको क्षेत्रमा काम हुन सकेका छैनन् । नियमन गर्न पनि स्थानीय तहहरूले सकिरहेका छैनन् । 

कानेपोखरी गाउँपालिकाको अवस्था पनि उस्तै छ । सहकारी अनुगमनका लागि स्थानीय तहमा छुट्टै फाँट छैन । स्थानीय तहले जति अधिकार प्राप्त गरेको छ, तर कार्यान्वयनको पक्ष  फितलो छ । सहकारीमा नियमन गर्ने निकाय चनाखो नभएपछि सहकारी संस्थामा बेतिथिहरू मौलाएर जान्छ ।

अझ साना सहकारी व्यवस्थित तरिकाले चल्न सकिरहेका छैनन् । नियमनकारी निकायले प्रभावकारी भूमिका खेल्न सकेन भने सहकारी संस्थामा जोखिमहरू धेरै आउँछन् । मनलाग्दी चलिरहेका सहकारीलाई अनुगमन गर्नुपर्छ । यसतर्फ नियमनकारी निकायको ध्यान जान जरुरी छ ।

अहिले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई अधिकार छ । तर स्थानीय तहले सहकारीलाई नियमन गर्न नै सकेको छैन । जसका कारण सहकारीहरू आफ्नो हिसाबले चलिरहेका छन् । यसले सदस्यको पैसाको जोखिम पनि बढी रहेको छ ।

यसले गर्दा राम्रो गरेका सहकारी संस्थालाई पनि दोष आउने गर्दछ । एउटाले बिगार्दा सहकारी सबै उस्तै हुन भन्ने भान आम मानिसमा हुन्छ । राम्रो सहकारी पनि नराम्रो हुन्छ । त्यस कारण नियमनकारी निकायले प्रभावकारी रूपमा नियमन गर्नुपर्ने आवश्यक छ । स्थानीय तहले सहकारी क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम  गर्नुपर्छ ।



Leave a comment