नेपालको सहकारी क्षेत्र देशको वित्तीय समावेशीकरणको महत्वपूर्ण आधार हो । विश्वभरका बैंक तथा Credit Union हरूले ग्राहक सेवा, जोखिम व्यवस्थापन, अनुपालन र सञ्चालन दक्षता सुधार गर्न AI को प्रयोग बढाउँदै लगेका छन् । नेपालका सहकारीका लागि पनि यो परिवर्तनलाई टाढाबाट हेर्ने होइन, समयमै बुझ्ने र तयारी गर्ने समय हो ।
पृष्ठभूमिः सहकारी क्षेत्र र डिजिटल बाध्यता
नेपालको वित्तीय प्रणालीमा सहकारी क्षेत्रको उपस्थिति साना बैंकहरूभन्दा कम छैन । हालैको आर्थिक सर्वेक्षण (आर्थिक वर्ष २०८२ / ८३, फागुन मसान्तसम्म) अनुसार देशभर ३२ हजार ३२५ सहकारी संस्था दर्ता भएका छन, जसमध्ये करिब १९ हजार ९०३ वटा कोपोमिस (सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली) मा आबद्ध छन् र यी मध्य केहिले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र लिएर कार्य गर्दैछन भने अन्य लिने क्रममा छन् ।
यी संस्थाहरूले हालसम्म रु.१० खर्ब २९ अर्बभन्दा बढी बचत परिचालन गरेका छन् । ८२ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन्, शेयर सदस्य संख्या नै १ करोड नाघिसकेको छ । यति ठूलो सदस्य आधार र वित्तीय आयतन भएको क्षेत्र अब परम्परागत ‘काउन्टर बैंकिङ’ मै अडिन सक्दैन ।
डिजिटल साक्षरता प्रतिशत कतै कुनै रिपोर्टमा प्रस्ट उल्लेख भएको भेटिदैन, डिजिटल नेपाल फ्रेमवर्कले २०२० सम्म नै जनसंख्याको ७५ प्रतिसत पुग्ने लक्ष्य लिएकोमा त्यसको मापन भएको नदेखिएतापनि पछिल्लो आर्थिक सर्वेक्षणको आधारमा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख उल्लेख भएको देख्दा डिजिटल साक्षरताको प्रतिशत बढेको देखिन्छ । यद्यपी यसको मापन मोबाइल बैंकिङ प्रयोगकर्ताबाट मात्र गर्दा त्यति उपयुक्त हुदैन ।
अर्कोतर्फ, नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय डिजिटल भुक्तानी रणनीति, डिजिटल फाइनान्स इनोभेसन हब तथा विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शनजस्ता महत्वपूर्ण नीतिगत पहलहरू अघि बढाइसकेको छ।
विश्वव्यापी रूपमा डिजिटल बैंकिङ, कृत्रिम बुद्धिमत्ता र फिनटेकको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको सन्दर्भमा अब प्रश्न सहकारीहरू डिजिटल बन्ने कि नबन्ने भन्ने होइन, बरु आउँदो पुस्ताको प्रविधि, अर्थात AI-सक्षम वा Agentic Banking,कति चाँडो र कति सुरक्षित रूपमा अँगाल्ने भन्ने हो । हालै भएको WOCCU को सम्मेलनमा पनि अब डिजिटल बैंकिङ बाट agentic बैंकिङ तर्फ लाग्नु पर्ने विषयमा चर्चा गरिएकोले पनि यस बारे सबैको चासो बढ्नु स्वाभाविक हो ।
Agentic Banking (एजेन्टिक बैंकिङ) भनेको के हो ?
मोबाइल बैंकिङ र च्याटबटले सामान्यतया प्रयोगकर्ताले दिएको आदेश वा प्रश्नअनुसार सेवा प्रदान गर्छन् । तर जटिल निर्णय, विभिन्न चरणमा विभाजित कार्यको समन्वय तथा अन्तिम स्वीकृति भने प्रायः मानिसले नै गर्नुपर्ने हुन्छ । यसभन्दा अगाडिको अवधारणा हो एजेन्टिक एआई (Agentic AI) । एजेन्टिक शब्द एजेन्ट (Agent) बाट आएको हो । यसको अर्थ कुनै निश्चित लक्ष्य पूरा गर्न स्वायत्त रूपमा निर्णय गर्ने र कार्य गर्ने क्षमता भएको हो ।
त्यसैले लक्ष्यअनुसार योजना बनाउने, निर्णय गर्ने र आवश्यक कार्यहरू सम्पन्न गर्न सक्ने एआईलाई एजेन्टिक एआई भनिन्छ । एजेन्टिक बैंकिङ भनेको चाही बैंकिङ क्षेत्रमा एजेन्टिक एआईको प्रयोग हो । यसले दिइएको लक्ष्य वा उद्देश्यका आधारमा बहुचरणीय कार्यको योजना बनाउँछ, आवश्यक प्रणाली तथा औजारहरूसँग अन्तरक्रिया गर्छ, प्राप्त नतिजाको मूल्याङ्कन गर्छ, र पूर्वनिर्धारित नियम, अधिकार तथा मानवीय निगरानीको सीमाभित्र रहेर कार्य सम्पन्न गर्न सक्छ । आवश्यक अवस्थामा अन्तिम निर्णय वा विशेष परिस्थितिको व्यवस्थापनका लागि मानिसको सहभागिता आवश्यक हुन सक्छ ।
सहकारी क्षेत्रको सन्दर्भमा यसको अर्थ के हुन सक्छ भने, कुनै सदस्यले ऋणका लागि आवेदन दिएपछि आवश्यक कागजात सङ्कलन, पहिचान प्रमाणीकरण (KYC), उपलब्ध तथ्याङ्कका आधारमा प्रारम्भिक जोखिम वा क्रेडिट मूल्याङ्कन, तथा सम्बन्धित अधिकारीका लागि सिफारिस तयार गर्ने जस्ता कार्यहरू AI-आधारित डिजिटल सहायकले स्वचालित रूपमा गर्न सक्छ । तर अन्तिम ऋण स्वीकृति, नीतिगत निर्णय तथा नियामकीय जिम्मेवारी भने सम्बन्धित अधिकृत वा संस्थाले नै वहन गर्छ ।
विश्वका अग्रणी बैंकहरूले Agentic AI को प्रयोग गर्दै ग्राहक सेवा, जोखिम व्यवस्थापन, अनुपालन, ठगी पहिचान तथा आन्तरिक कार्यप्रवाहलाई अझ बुद्धिमान र स्वचालित बनाउने दिशामा तीव्र रूपमा अघि बढिरहेका छन् । नेपालमा भने Agentic AI को व्यावसायिक प्रयोग अझै प्रारम्भिक चरणमा छ।
नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्दै आएको छ भने नेपाली बैंकहरूले पनि कृत्रिम बुद्धिमत्ता (AI) र Machine Learning सम्बन्धी अनुसन्धान तथा नवप्रवर्तनमा चासो बढाइरहेका छन् । यसको एउटा उदाहरण Global IME Bank ले आयोजना गरेको AI/ML Hackathon 2026 हो, जसले बैंकिङ क्षेत्रमा AI आधारित समाधान विकास र नवप्रवर्तनप्रति बढ्दो प्रतिबद्धता देखाउँछ।
कृत्रिम बुद्धिमत्ता (AI) को विकास अत्यन्त तीव्र गतिमा भइरहेको छ । केही वर्षअघि कल्पनाजस्तै लाग्ने प्रविधिहरू आज व्यावहारिक समाधानका रूपमा प्रयोग हुन थालेका छन् । त्यसैले अब प्रश्न Agentic AI नेपालमा कहिले आउला ? भन्ने होइन, बरु यो प्रविधि व्यापक रूपमा प्रयोगमा आउँदा हाम्रो संस्था त्यसलाई सुरक्षित, जिम्मेवार र प्रभावकारी रूपमा अपनाउन कत्तिको तयार छ ? भन्ने हो ।
सहकारी क्षेत्रले अहिलेबाटै डिजिटल पूर्वाधार, गुणस्तरीय डेटा, साइबर सुरक्षा, कर्मचारीको डिजिटल क्षमता तथा ब्क्ष् सम्बन्धी सुशासनमा लगानी गर्न सकेमा आगामी परिवर्तनलाई चुनौती होइन, अवसरका रूपमा रूपान्तरण गर्न सक्नेछ ।
आज कृत्रिम बुद्धिमत्ता (AI) हाम्रो दैनिक कार्यशैलीको हिस्सा बनिसकेको छ । औपचारिक AI तालिम वा प्राविधिक विशेषज्ञता नभएका धेरै कर्मचारीहरूले पनि ChatGPT, Claude, DeepSeek लगायतका AI उपकरणहरू सूचना खोज्न, सामग्री तयार गर्न, विश्लेषण गर्न तथा दैनिक कार्यलाई सहज बनाउन प्रयोग गरिरहेका छन् । यसले के देखाउँछ भने नयाँ प्रविधिको प्रयोग प्रायः औपचारिक संरचना तयार भएपछि होइन, आवश्यकता र उपयोगिताको आधारमा छिट्टै फैलिने गर्छ ।
यही अनुभवबाट हामीले अर्को महत्वपूर्ण पाठ सिक्नुपर्छ । अहिले विश्व बैंकिङ तथा वित्तीय क्षेत्रमा Agentic AI तीव्र रूपमा विकास भइरहेको छ । यसको व्यापक प्रयोग नेपालमा हुन अझ केही समय लाग्न सक्छ, तर त्यसको प्रतीक्षा गर्दै बस्नु बुद्धिमानी हुनेछैन। बरु अहिलेदेखि नै संस्थागत तयारी, डिजिटल पूर्वाधार, गुणस्तरीय डेटा, साइबर सुरक्षा, कर्मचारीको क्षमता अभिवृद्धि तथा AI सम्बन्धी सुशासनमा लगानी गर्नु आवश्यक छ।
जब Agentic AI व्यावहारिक रूपमा हाम्रो परिवेशमा प्रवेश गर्छ, त्यसबेला तयार संस्था परिवर्तनको नेतृत्व गर्न सक्षम हुनेछन् भने तयारी नगरेका संस्थाहरू परिवर्तनसँग तालमेल मिलाउन संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले प्रश्न AI वा Agentic AI अपनाउने कि नअपनाउने भन्ने होइन, बरु त्यसलाई कति जिम्मेवार, सुरक्षित र समयमै अपनाउने भन्ने हो ।
विश्वव्यापी उदाहरण, प्रमाण र सम्भावना
Agentic AI को विकास अब प्रयोगशालामा सीमित छैन । विश्वका अग्रणी बैंकहरू र बैंकिङ प्रविधि प्रदायक (Fintech Providers) हरूले यसलाई आफ्ना उत्पादन तथा सेवामा समावेश गर्न थालेका छन् ।JPMorgan Chase, NatWest (National Westminster Bank), BNY लगायतका वित्तीय संस्थाहरूले AI Agent मार्फत विभिन्न बैंकिङ कार्यहरू स्वचालित बनाउने दिशामा काम गरिरहेका छन् ।
त्यसैगरी, विश्वका प्रमुख कोर बैंकिङ प्रविधि प्रदायक Fiserv ले agentOS सार्वजनिक गर्दै AI Agent लाई प्रत्यक्ष बैंकिङ सेवामा प्रयोग गर्ने दिशा लिएको छ । यसले स्पष्ट सन्देश दिन्छ कि अब AI भविष्यको सम्भावना मात्र होइन, बैंकिङ प्रविधिको नयाँ आधार बन्दै गएको छ।
नेपालका सहकारी संस्थाहरूका लागि पनि यसले महत्वपूर्ण सन्देश दिन्छ । अधिकांश सहकारी संस्थाहरू आफ्नै प्रविधि विकास गर्दैनन् उनीहरूले कोर बैंकिङ तथा डिजिटल सेवा उपलब्ध गराउने प्रविधि साझेदार (Fintech Providers) माथि निर्भर हुन्छन् ।
त्यसैले अब नेपाली फिनटेक कम्पनीहरूले पनि AI र Agentic AI लाई आफ्ना उत्पादन तथा सेवामा समावेश गर्न अनुसन्धान, विकास र नवप्रवर्तनमा लगानी बढाउन आवश्यक छ । हालसम्म नेपाली बैंक तथा फिनटेक सेवा प्रदायकहरूले एजेन्टिक एआईको व्यापक प्रयोग गरेको पुष्टि गर्ने सार्वजनिक प्रमाण उपलब्ध छैन ।
यद्यपि, ग्राहक सेवा, ठगी पहिचान, KYC तथा कार्यप्रवाह स्वचालनजस्ता क्षेत्रमा एआईको प्रयोग बढ्दै गएको छ, जसले भविष्यमा एजेन्टिक एआई अपनाउने सम्भावना देखाउँछ । यस्ता प्रविधि तयार भएपछि सहकारी संस्थाहरूले पनि चरणबद्ध रूपमा तिनलाई अपनाउँदै आफ्ना सदस्यलाई अझ छिटो, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न सक्नेछन् ।
प्रविधिको विकासको गति हेर्दा AI जस्तै Agentic AI पनि अपेक्षा गरिएभन्दा छिटो व्यवहारमा आउन सक्छ । त्यसैले अब तयारी गर्ने समय भविष्यमा होइन, आज नै हाे । सहकारी संस्था, प्रविधि प्रदायक र नियामक निकायबीचको सहकार्यले मात्र नेपालमा सुरक्षित, जिम्मेवार र प्रभावकारी Agentic AI को प्रयोग सुनिश्चित गर्न सक्छ ।
नेपालको आफ्नै उपलब्धिः WOCCU डिजिटल ग्रोथ अवार्ड
नेपालको सहकारी क्षेत्रले डिजिटल रूपान्तरणतर्फ उल्लेखनीय प्रगति गरिरहेको एउटा अन्तर्राष्ट्रिय प्रमाण हालै प्राप्त भएको छ । जुलाई २०२६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजितWorld Credit Union Conference (WCUC 2026) मा नेपालको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थालाई WOCCU Digital Growth Award 2026 प्रदान गरिएको थियो ।
यो पुरस्कार सदस्यको वित्तीय पहुँच विस्तार, डिजिटल नवप्रवर्तन तथा प्रविधिको प्रभावकारी प्रयोग गर्ने सहकारी संस्थालाई प्रदान गरिन्छ । चन्द्रागिरी सहकारीले मोबाइल बैंकिङ, QR भुक्तानी, विप्रेषण सेवा तथा ट्याब्लेटमार्फत घरदैलोमा वित्तीय सेवा पुर्याउने जस्ता डिजिटल पहलका कारण यो सम्मान प्राप्त गरेको हो ।
यस उपलब्धिले नेपाली सहकारीहरूले उपयुक्त प्रविधिको प्रयोगमार्फत सदस्यलाई गुणस्तरीय, सहज र पहुँचयोग्य सेवा प्रदान गर्नसक्ने क्षमता अन्तर्राष्ट्रिय स्तरमै प्रदर्शन गरेको छ । यहीसँगै विश्व सहकारी आन्दोलनले पनि कृत्रिम बुद्धिमत्तालाई गम्भीर रूपमा लिन थालेको छ ।
WOCCU ले २०२५ मा AI को जिम्मेवार प्रयोग, सुशासन, पारदर्शिता, गोपनीयता तथा सदस्यको विश्वास कायम राख्ने विषयमा मार्गदर्शन प्रदान गर्ने श्वेतपत्र प्रकाशित गरेको छ । साथै, यसको पछिल्ला नियामकीय अद्यावधिकहरूमा ब्क्ष् लाई आगामी वर्षहरूमा सहकारी वित्तीय संस्थाहरूले विशेष ध्यान दिनुपर्ने प्रमुख रणनीतिक र नियामकीय विषयका रूपमा उल्लेख गरिएको छ ।
यसबाट नेपालका सहकारी संस्थाहरूका लागि एउटा स्पष्ट सन्देश प्राप्त हुन्छ । हामीले डिजिटल बैंकिङको आधार निर्माण गरिसकेका छौं । अब यही आधारलाई थप सुदृढ बनाउँदै AI तथा भविष्यमा Agentic AI जस्ता प्रविधिको जिम्मेवार प्रयोगका लागि आवश्यक पूर्वाधार, डेटा, साइबर सुरक्षा, कर्मचारीको क्षमता र सुशासनमा आजैदेखि तयारी गर्न आवश्यक छ । यस यात्रामा सहकारी संस्था, नियामक निकाय तथा नेपाली फिनटेक प्रविधि प्रदायकबीचको सहकार्य नै सफल डिजिटल रूपान्तरणको मुख्य आधार हुनेछ ।
नेपालका सहकारीका लागि सम्भावना
नेपालका सहकारी संस्थामा सदस्यको संख्या ठूलो छ। तर धेरै संस्थामा कर्मचारी सीमित छन्, शाखा धेरै छन् र सदस्यको डिजिटल सेवाप्रतिको अपेक्षा पनि दिनप्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा AI र भविष्यमा Agentic AI सहकारीका लागि उपयोगी सहयोगी बन्न सक्छ ।
१, सदस्य सेवा अझ छिटो र सहज
सदस्यले खाता, बचत, ऋण, ब्याजदर, किस्ता वा अन्य सेवासम्बन्धी सामान्य जानकारी जुनसुकै समयमा सोध्न सक्छन् AI आधारित सहायकले नेपाली भाषामै २४सै घण्टा यस्ता प्रश्नको जवाफ दिनसक्छ । यसले कर्मचारीलाई नियमित सोधपुछभन्दा महत्वपूर्ण काममा बढी समय दिन सहयोग पुर्याउँछ ।
२, ऋण प्रक्रिया सरल बनाउन
ऋण आवेदनका कागजात सङ्कलन, विवरण जाँच तथा प्रारम्भिक जोखिम विश्लेषण जस्ता काममा AI ले सहयोग गर्न सक्छ । यसले कर्मचारीलाई आवश्यक जानकारी छिटो उपलब्ध गराउँछ र निर्णय प्रक्रिया सहज बनाउँछ । तर अन्तिम ऋण स्वीकृति भने सम्बन्धित अधिकृतले नै गर्नुपर्छ ।
३, KYM, AML र ठगी नियन्त्रणमा सहयोग
सदस्यको पहिचान प्रमाणीकरण (KYM), शंकास्पद कारोबारको पहिचान तथा नियम पालना (Compliance) जस्ता क्षेत्रमा विश्वभरका वित्तीय संस्थाले AI को प्रयोग बढाइरहेका छन् । नेपालका सहकारीले पनि भविष्यमा यस्ता क्षेत्रमा AI लाई सहयोगी उपकरणका रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ ।
४, वित्तीय शिक्षा र सदस्य परामर्श
धेरै सदस्यलाई बचत, बजेट व्यवस्थापन, ऋणको जिम्मेवार प्रयोग तथा डिजिटल सेवाबारे समयमै जानकारी चाहिन्छ । AI आधारित सहायकले सदस्यको आवश्यकता अनुसार सरल भाषामा जानकारी दिनसक्छ । यसले विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रमा रहेका सदस्यलाई थप सुविधा पुग्नसक्छ ।
५, साझा AI सेवा विकास
हरेक सहकारीले छुट्टाछुट्टै AI प्रणाली विकास गर्नु खर्चिलो हुन सक्छ । त्यसैले राष्ट्रिय सहकारी बैंक, केन्द्रीय संघ तथा नेपाली फिनटेक कम्पनीहरूले साझा AI सेवा विकास गरेमा धेरै सहकारीले कम लागतमा यसको लाभ लिन सक्नेछन । यसले डिजिटल रूपान्तरणलाई अझ छिटो र प्रभावकारी बनाउन मद्दत पुर्याउन सक्छ ।
चुनौती पनि कम छैन
AI ले धेरै अवसर ल्याउँछ, तर केही विषयमा विशेष ध्यान दिनुपर्छ । सबैभन्दा पहिले, धेरै सहकारी संस्थामा अझै पर्याप्त डिजिटल पूर्वाधार, गुणस्तरीय डेटा, दक्ष जनशक्ति र आवश्यक लगानीको अभाव छ । यी आधार तयार नगरी AI बाट अपेक्षित परिणाम प्राप्त गर्न कठिन हुन्छ । दोस्रो, AI ले दिएको सुझाव उपयोगी हुन सक्छ, तर सदस्यको वित्तीय हितसँग जोडिएका निर्णयमा अन्तिम जिम्मेवारी मानिसकै हुनुपर्छ । त्यसैले मानव निगरानी, स्पष्ट जिम्मेवारी र राम्रो आन्तरिक नियन्त्रण अनिवार्य हुन्छ ।
तेस्रो, सदस्यको व्यक्तिगत र वित्तीय विवरण अत्यन्त संवेदनशील हुन्छ । त्यसैले AI प्रयोग गर्दा डेटा गोपनीयता, साइबर सुरक्षा तथा सम्बन्धित कानुन र नियामकीय व्यवस्थाको पूर्ण पालना गर्नुपर्छ ।AI प्रणाली पारदर्शी, परीक्षण गर्न मिल्ने (Auditable र संस्थाको सुशासनसँग मेल खाने हुनुपर्छ ।
निष्कर्ष
नेपालको सहकारी क्षेत्र देशको वित्तीय समावेशीकरणको महत्वपूर्ण आधार हो । विश्वभरका बैंक तथा Credit Union हरूले ग्राहक सेवा, जोखिम व्यवस्थापन, अनुपालन र सञ्चालन दक्षता सुधार गर्न AI को प्रयोग बढाउँदै लगेका छन् । नेपालका सहकारीका लागि पनि यो परिवर्तनलाई टाढाबाट हेर्ने होइन, समयमै बुझ्ने र तयारी गर्ने समय हो ।
आजभन्दा १० वर्षअघि मोबाइल बैंकिङ धेरैका लागि नयाँ विषय थियो । आज यो दैनिक जीवनको हिस्सा बनेको छ । AI पनि त्यही बाटोमा छ । केही वर्षपछि Agentic AI पनि वित्तीय सेवाको सामान्य हिस्सा बन्न सक्छ । त्यसैले अहिलेको आवश्यकता हतार गरेर अपनाउने होइन, तर समयमै तयारी सुरु गर्ने हो । तयारी गर्ने सहकारीले परिवर्तनको नेतृत्व गर्नेछन्, तयारी नगर्ने सहकारीले परिवर्तन पछ्याउनुपर्नेछ ।
साना पाइलट परियोजनाबाट सुरुआत गर्दै, कर्मचारीको क्षमता बढाउँदै, डेटा र साइबर सुरक्षालाई सुदृढ बनाउँदै तथा नेपाली फिनटेक कम्पनी र नियामक निकायसँग सहकार्य गर्दै अघि बढ्न सके, नेपालका सहकारी संस्थाले पनि भविष्यको डिजिटल वित्तीय सेवामा आत्मविश्वासका साथ नेतृत्व गर्न सक्नेछन् ।
Leave a comment