हाइलाइट

स्वैच्छिक तथा खुला सदस्यताको मर्म र सुशासनमा यसको प्रभाव        

स्वैच्छिक तथा खुला सदस्यताको मर्म र सुशासनमा यसको प्रभाव         :: Sahakari Akhabar

सहकारी क्षेत्रमा विगत १५ बर्षदेखि कार्यरत सुर्यप्रसाद रिमालले एसियाली ऋण महासंघबाट एक्सेस सिल्भर ब्राण्डप्राप्त संस्थाको कार्यकारी प्रमुखका रुपमा काम गरिसकेका छन् । साथै राष्ट्रिय सहकारी बैंकमा तालिम तथा स्तरिकरण बिभागको एकदशक लामो कार्यसम्पादनको अनुभव बटुलेका रिमालले देशमा बिभिन्न स्थानहरूमा २५० भन्दा बढी तालिम तथा सयौँं संस्थाहरूको अनुगमन तथा निरिक्षण गरेको अनुभव लिएका छन्। १४ बर्ष व्यवस्थापन संकायमा प्राध्यापन गरेका रिमालले यो लेखमा सहकारी क्षेत्रका लागि उपयोगी हुने सहकारीको पहिलो सिद्धान्त ‘स्वैच्छिक तथा खुला सदस्यताको मर्म र सुशासनमा यसको प्रभाव’ विषयमा बिचार ब्यक्त गरेका छन् ।

न्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) द्वारा प्रतिपादित सहकारीका सात सिद्धान्तहरू विश्वभरका सहकारी संस्थाहरूका लागि नैतिक दिशा निर्देश हुन् । यी सिद्धान्तहरूले सहकारीलाई केवल मुनाफा आर्जन गर्ने वित्तीय कम्पनीको रूपमा मात्र नभई, लोकतान्त्रिक मूल्य र समुदायको हितमा केन्द्रित संस्थाको रूपमा परिभाषित गर्दछन् । यी सिद्धान्तहरूले सहकारीलाई पुँजीको प्रभुत्व रहने ‘फर्म’ बाट रूपान्तरण गरी मानवीय आवश्यकता र लोकतान्त्रिक नियन्त्रण रहने ‘समुदायमा आधारित संगठन’ को रूपमा स्थापित गर्दछ ।

सहकारीका सात सिद्धान्तहरू - स्वैच्छिक तथा खुला सदस्यता, सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वायत्तता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीहरू बीच सहयोग र समुदायप्रतिको चासो - एकअर्कासँग अन्तरसम्बन्धित र परिपूरक छन् । यी मध्ये पहिलो सिद्धान्त ‘स्वैच्छिक तथा खुला सदस्यता’ले सहकारीको जगको रूपमा कार्य गर्दछ ।  यो सिद्धान्त नै त्यो प्रवेशद्वार हो, जसले अन्य सबै सहकारी मूल्य र सिद्धान्तहरूका लागि आधारभूमि तयार गर्दछ ।

‘स्वैच्छिक तथा खुला सदस्यता’को अवधारणा र महत्व:

सहकारीको पहिलो ढोका ‘स्वैच्छिक तथा खुला सदस्यता’ हो । यसले जात, धर्म, राजनीति वा लिङ्गको आधारमा कसैलाई पनि विभेद गर्दैन ।  सहकारीमा सदस्यताको आधार ‘शेयर रकम’ भन्दा पनि ‘कारोबारको उद्देश्य’ हुनुपर्छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघको मार्गदर्शन अनुसार, ‘सहकारीहरू स्वैच्छिक संस्थाहरू हुन् ।  आफ्ना सेवाहरू प्रयोग गर्न सक्षम र सदस्यताका जिम्मेवारीहरू स्वीकार गर्न इच्छुक सबै व्यक्तिहरूका लागि यो लैङ्गिक, सामाजिक, जातीय, राजनीतिक वा धार्मिक भेदभाव बिना खुला रहन्छ ।’

साँच्चैको समावेशी र सुशासित सहकारी बन्नका लागि केवल नारा मात्र पर्याप्त छैन । यसका लागि विविधतामा आधारित प्रतिनिधित्व, लेङ्गिक, भौगोलिक क्षेत्रगत तथा जातीय समावेशिता, सदस्य सक्रियताको परीक्षण आवश्यक पर्दछ ।

यसको रणनीतिक महत्वलाई निम्न दुई आयामबाट विश्लेषण गर्न सकिन्छः

१, स्वैच्छिक पक्ष (Voluntary Aspect): सहकारीमा सहभागी हुने वा नरहने निर्णय व्यक्तिको पूर्ण इच्छाशक्तिमा आधारित हुनुपर्छ ।  यसले सदस्यमा संस्थाप्रति अपनत्व र जिम्मेवारी बोध सिर्जना गर्दछ । जब सदस्यता स्वैच्छिक हुन्छ, सदस्यहरू संस्थाको उत्तरदायित्व बहन गर्न र लोकतान्त्रिक प्रक्रियामा सक्रिय हुन स्वतः उत्प्रेरित हुन्छन् । 
२, खुलापन (Openness Aspect): योग्यता पुगेका र संस्थाको सेवा उपयोग गर्न चाहने सबैका लागि बिना कुनै भेदभाव सदस्यता खुला हुनुपर्छ । यसले ‘सामाजिक पुँजी’ (Social Capital) को निर्माण गर्दछ र संस्थाको ‘व्यवसायिक विस्तार’ मा रणनीतिक योगदान पुर्याउँछ ।

यो सिद्धान्तले सहकारीलाई एउटा सामान्य वित्तीय संस्थाबाट रूपान्तरण गरी सदस्यहरूले नै सञ्चालन गर्ने र सदस्यहरूकै लागि काम गर्ने एक लोकतान्त्रिक सामुदायिक संगठन बनाउँछ । यसले सहकारीको चरित्रलाई समावेशी र न्यायपूर्ण बनाउँदै दिगो विकासको मार्ग प्रशस्त गर्दछ ।

कार्यान्वयनका प्रमुख सूचकहरूः

सहकारीको गुणात्मक स्वास्थ्य मापन गर्न वस्तुगत उपकरणको प्रयोग अनिवार्य छ ।  यसका लागि ५ तहको (लिकर्ड स्केलः ०–शून्य देखि ४–उत्कृष्ट) प्रयोग गरी निम्न १२ सूचकहरूको आधारमा संस्थाले स्वैच्छिक तथा खुला सदस्यता परिपालनाको स्वपरिक्षण गर्न सकिन्छ ।

विश्लेषण:

यस सिद्धान्तले सहकारीलाई ‘पुँजी–केन्द्रित’(Capital-centric) व्यवसायबाट ‘कारोबार–केन्द्रित’ (Transaction-centric) मोडलमा लैजान्छ । पुँजी लगानी गर्ने तर कारोबार नगर्ने सदस्यले संस्थालाई केवल नाफा कमाउने कम्पनीमा परिणत गर्छ, जबकि कारोबार केन्द्रित सदस्यताले ‘देखावटी वा नाम मात्रको सदस्यता’ (Ghost Membership) अन्त्य गर्छ र सदस्यलाई वास्तविक मालिक बनाउँछ । केवल सदस्यसँग मात्र कारोबार गर्ने सुचक ले संस्थालाई बाह्य बजारका उतारचढाव र नियामक जोखिमबाट जोगाउँछ । यो सहकारी पहिचान जोगाउने सुरक्षा कवच हो ।

त्यसैगरी, सूचकहरूमा भएका समावेशी प्रावधानहरूले नेतृत्वमा कुनै एक निश्चित समूहको एकाधिकार अन्त्य गर्दछ । युवा र समावेशी नेतृत्वले संस्थामा नेतृत्वको जडता (Leadership Stagnation) लाई तोड्छ।यसले गर्दा संस्था नयाँ प्रविधि र बजारको माग अनुसार परिमार्जित हुन सक्छ । यी सूचकहरूको संयुक्त पालनाले संस्थाको आन्तरिक लोकतन्त्रलाई यति मजबुत बनाउँछ कि, कुनै पनि बाह्य राजनीतिक वा सामाजिक दबाबले संस्थाको निर्णय प्रक्रियालाई प्रभावित गर्न सक्दैन ।

त्यसैगरी, सहज बहिर्गमन र खुला सदस्यताले संस्थाप्रति बजारको विश्वास बढाउँछ, जसले तरलता संकटको समयमा समेत सदस्यलाई ढुक्क बनाउँछ । कारोबारमा आधारित सदस्यताले सदस्यहरूलाई संस्थाको सेवाको नियमित उपयोगमा बाँध्छ, जसले संस्थाको नाफा र दिगोपन सुनिश्चित गर्दछ । विविधतायुक्त नेतृत्वले समुदायका सबै वर्गको अपनत्व सुनिश्चित गर्दै सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको बलियो खम्बाको रूपमा स्थापित गर्दछ ।

निष्कर्ष तथा रणनीतिक सिफारिसहरूः

सहकारीको पहिलो सिद्धान्तको कार्यान्वयन अवस्था मापन गर्न ‘स्व–परिक्षण सूची’ (Self-Assessment Checklist) एक अनिवार्य रणनीतिक औजार हो । यसले संस्थालाई केवल कागजी सुशासनबाट वास्तविक सुशासन तर्फ डोर्याउँछ । संस्थालाई ‘सन्तोषजनक’ बाट ‘उत्कृष्ट’ तहमा पुर्याउन सञ्चालक समितिले निम्न उच्चस्तरीय नीतिगत निर्णयहरू लिनु आवश्यक छः

१, स्वपरिक्षण प्रतिवेदनको सार्वजनिकिकरणः वार्षिक साधारण सभामा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमा सहकारी सिद्धन्त परिपालना स्वपरिक्षणको नतिजा अनिवार्य रूपमा समावेश गरी पारदर्शिता कायम गर्ने ।
२, कारोबारमा आधारित सदस्य वर्गीकरणः ‘निष्क्रिय सदस्य’ र ‘कारोबार गर्ने सदस्य’ बीच स्पष्ट वर्गीकरण गरी सक्रिय सदस्यहरूका लागि प्रोत्सहानमुलक सहुलियतका प्याकेजहरू घोषणा गर्ने ।
३, पुस्तान्तरण र क्लष्टर नीतिः लैङ्गिक सहभागीताका साथसाथै भौगोलिक र जातीय क्लष्टर एवं ३५ वर्ष मुनिका युवाहरूको नेतृत्व सुनिश्चित गर्न संस्थाको विनियममै बाध्यात्मक व्यवस्था गर्ने ।

अन्त्यमा, पहिलो सिद्धान्तको पूर्ण पालनाले नै सदस्यहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दछ ।  जब सदस्यता स्वैच्छिक, खुला र कारोबारमा आधारित हुन्छ, तब मात्र सहकारीले आफ्नो वास्तविक पहिचान र सामाजिक, आर्थिक उद्देश्य प्राप्त गर्न सक्छ।

जब सहकारीहरूले यो सिद्धान्तलाई पूर्ण रूपमा आत्मसाथ गर्छन्, तब मात्र सहकारी क्षेत्र ‘अदृश्य’ आर्थिक एकाइबाट माथि उठेर चरित्र निर्माण र सामाजिक, आर्थिक रूपान्तरणको एउटा बलियो र सुरक्षित मोडलका रूपमा स्थापित हुन सक्छ । जय सहकारी ।



Leave a comment