काठमाडौं । विगतका प्राकृतिक प्रकोप भूकम्प होस् वा कोभिड माहामारीमा सहकारी क्षेत्रमार्फत भएका सामाजिक कर्म सम्झनयोग्य छन् । सहकारी मार्फत भएका उद्धार, राहत बितरण र सहकार्यले सहकारीमा सामाजिक कर्मको थीति बसेको छ ।
त्यस्ता विपदमा संधै साथ दिंदै आएको सहकारी क्षेत्र पछिल्लो समय रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति आत्मिय साथका साथै आर्थिक सहयोग, उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्नथालेका छन् ।
राष्ट्रिय सहकारी महासंघले रसुवामा आएको विपत्तिमा दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकार, स्थानीय तह, सहकारी संघसंस्था तथा सम्पूर्ण सहकारी अभियानलाई एकजुट भएर सहयोग गर्न अपिल गरेको छ ।
त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारीहरुलाई अपिल जारी गरी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै १० लाख आर्थिक सहयोगका साथै सहकारी संघ संस्थालाई क्षमता अनुसारको आर्थिक सहयोगका साथै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि एकजुट भएर सहयोग गर्न अपिल गरेको छ ।
त्यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघले पनि विपदबाट प्रभावित समुदायको उद्धार राहत तथा पुनस्र्थापनाका लागि सरकार, स्थानीय तह, सहकारी संघसंस्था, किसान तथा सम्पूर्ण सहकारी अभियानलाई एकजुट भएर सहयोग गर्न अपिल गरेको छ।
त्यसैगरी नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ काभ्रे तथा कञ्चनपुर बहुउद्देश्यीय सहकारी संघले पनि सहकारीको मूल मर्म पारस्परिक सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्व भएकोले यस विषम परिस्थितिमा सम्पूर्ण सहकारीकर्मीहरू एकताबद्ध भई पीडित नागरिकहरूको सहयोगमा जुट्न आग्रह गरेको छ ।
विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै सहकारीकर्मीहरूलाई आआफ्नो स्थानबाट सक्रिय, जिम्मेवार र समन्वयात्मक भूमिका निर्वाह गर्न बागमती प्रदेश सहकारी संघको अपिल छ । सुनसरी जिल्ला सहकारी संघलगायत जिल्ला संघहरुकोले पनि विपदमा सहकार्य र सहयोगका लागि आग्रह गरेका छन् ।
त्यसैगरी बर्दियाको सिको साकोसले १ लाख ५१ हजार १ रुपैंयाँ, रुपन्देहीको जनउत्थान साकोसबाट ८ लाख, प्यूठानको विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार १११ रुपैंयाँ नेफ्स्कून मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने निर्णय गरेका र धेरै सहकारी संघ संस्थाले आर्थिक सहयोग गर्न थालिसकेको पाइन्छ ।
नेफ्स्कूनले सम्पूर्ण प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था एवं विषयगत संघहरूलाई राज्यद्वारा घोषित आधिकारिक राहतकोष वा बैंक खातामार्फत संस्थागत क्षमताअनुसार स्वेच्छिक योगदान गर्न अपिल गरेको छ । सहकारी अभियानका तर्फबाट हुने आर्थिक योगदान र एक्यबद्धतालाई एकीकृत अभिलेखमा समेट्ने व्यवस्था पनि नेफ्स्कूनले गरेको छ । त्यसका लागि राहत कोषमा रकम जम्मा गर्ने संघ–संस्थाहरूलाई आफ्नो योगदानको भौचर तथा विवरण नेफ्स्कून केन्द्रीय कार्यालय वा नेफ्स्कूनको इमेलमार्फत उपलब्ध गराउन आग्रह गरेको छ ।
Leave a comment