हाइलाइट

नेफ्स्कून बाघ थियो अहिलेपनि बाघ नै हो  

नेफ्स्कून बाघ थियो अहिलेपनि बाघ नै हो   :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले साकोस अभियानले सन् २०२६ मा पाएको अन्तर्राष्ट्रिय उपलब्धीका विषयमा जानकारी गराएको छ । संघको कार्यालयमा आज पत्रकार सम्मेलन गरी उपलब्धिका बारेमा जानकारी गराएको हो।

नेफ्स्कूनले सन् २०२६ मा एशियाली ऋण महासंघ (अकू)को ४५औँ साधारण सभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरिरहँदा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल दोश्रो उपाध्यक्ष चयन भए ।

त्यसैगरी मलेसियाको क्वालालम्पुरमा आयोजित आकू फोरम २०२६ मा नेपालका दुई साकोसहरु रुपन्देहीको जन उत्थान साकोस तथा नवलपुरको मध्य नेपाल साकोसले एशियास्तरको ब्राण्ड प्राप्त गरे । विश्व ऋण परिषद् (ओकू)बाट काठमाडौंको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले डिजिटल ग्रोथ अवार्ड २०२६ प्राप्त गर्यो ।

त्यसैगरी रसुवाको भोटेकोशी बाढीबाट प्रभावित बचत तथा ऋण सहकारी (क्रेडिट युनियन) हरुका लागि दक्षिण कोरियाली केन्द्रीय बचत संघ (नाकूफोक)ले ५० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको उपलब्धिका बारेमा जानकारी दिइएको थियो ।

त्यसैगरी कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको बचत ऋण अभियानले अन्तराष्ट्रियस्तरमा सम्मान पाइरहँदा नेपालमा भने सरकारले त्यही बचत ऋणको कामलाइ रोक लगाउनुु दुखद भएको बताए । उनले संघहरुको वितीय कारोबारलाई तीन वर्ष भित्र ब्यवस्थापन गर्न सरकारले दिएको विकल्पमा पनि प्रश्न गरेका छन् ।

उनले नेफ्स्कूनलाई सहकारी बैंक बन्ने वा मर्ज हुने विषयलाई नकार्दै बैंक स्वयमको अहिलेसम्मको अभिभावकत्व नै नेफ्स्कूनले दिएको दावी गरे ।

बैंकलाई संस्थागत गर्ने कुरामा नेफ्स्कूनले नकारात्मक सोच नराखेको भन्दै नेफ्स्कून र सहकारी बैंकको सदस्य र कारोबार पनि एउटै भएको उनले बताए । उनले भने, ‘नेफ्स्कून कुनै बेलाको त बाघ जस्तै थियो, आज पनि हामीले आफुलाई बाघै नै सम्झेका छौ । त्यो कामको हिसाबले मैले भनेको हो ।

हिजो बिजनेसको हिसाबले पनि त हामी बाघै नै थियौ नि ।’ उनले बचत ऋण अभियानबाटै नेफ्स्कूनको जन्म भएको र ३२ / ३४ अरबको ट्रान्जेक्सन लिएर काम गर्दा पनि नेफ्स्कूनले सहकारी बैंकलाई सहकारी अभियान कै हिस्साका रुपमा लिएको बताए । उनले भने, अहिले परिस्थितिले, कथाले र समयले हामीलाई तिमीहरुले विकल्प पनि सोचिराख है बैंकका विषयमा’ भन्ने सोचेको बताए ।

बचत अभियानलाई राम्रो गर्ने हो भने, अभियानको विषयमा उत्तरदायी कोही बन्ने हो भने, यो जिम्मा पनि नेफ्स्कूनको रहेको एकखालको संकेत दिएको भन्ने बुझाईले एकखाले होमवर्क गरेको उनले बताए ।

उनले सहकारी अभियानलाई संस्थागत गरेर जाने र यसको स्थायित्वको लागि लिनुपर्ने सबै खालका प्रिय अप्रिय निर्णय आफू लिन तयार रहेको बताए ।

अहिले भएको बैंकलाई अझै बढी मजबुत बनाउनका लागि र अब बन्ने बैंकलाई ओभरअल बैंक बनाउनको लागि आफु लडिरहेको उनको भनाइ थियो । उनले सहकारीको बैंक बनाउने विषयमा अघि बढिसकेको पनि बताए उनले भने, ‘अब हामी एउटा प्रक्रियामा अगाडी बढेका छौ ।

यो प्रक्रियाले एउटा खालको आकार लिन्छ । त्यो आकार लिनेकुरामा अब सबैले सघाएर जाने, स्वयम बैंकका साथीहरुले पनि यो कुरा बुझ्नुपर्छ । ‘मैले पटक पटक भनेको छु, तपाईहरु पूर्ण बैंक बन्ने प्रयास गर्नुस्, पूर्ण बैंक बन्ने प्रयास गर्नुस् ।

बिगत तीन वर्षदेखि मेरो एउटै स्लोगन थियो ।’ कोही पनि नबन्दाखेरि आफू म बन्छु भनेर अगाढी बढेको उनले बताए ।’ उनले नेफ्कून धेरै हिसाबले स्ट्रङ्ग रहेको र सानातिना दुई चारवटा इसुहरुले कमजोर बन्यो कि ! बन्दै छ कि ! हुन्छ कि ! भन्ने विषयमा बिर्सन आग्रह गरे। उनले भने, ‘यो मैले भनेको कुरा एकदम अंकगणितमा आधारित कुरा छ ।’

उनले अक्कुमा आफू दोश्रो उपाध्य भएको कुरा नौलो नभएको भन्दै यस अघिका अग्रजहरुले पनि एककिसिमको नेतृत्व गरिसकेको बताए ।

कोही पहिलो उपाध्यक्ष  कोही दोस्रो उपाध्यक्ष सबै खालको पोजिसन अग्रजहरुले लिइसक्नु भएको छ, यसअर्थमा पनि त्यो नै एकदमै नयाँ विषय भने हैन, उनले भने ।’ तर दश वर्षको ग्यापमा नेफ्स्कूनले फेरी त्यो ठाउँमा बलियो उपस्थिति देखाएको र नेपालको सहकारी अभियानको विषय अन्तराष्ट्रियस्तरमा राख्नसक्ने नेपालको हैसियत बनेको बताए ।

उनले नेफ्स्कूनको बोर्ड तथा ब्यवस्थापनसंगको सल्लाहमा नेपालको साकोसका एजेण्डा आफूले अकूको बैठकमा राख्ने समेत जनाए । उनले भने, ‘हामी चाहिँ हाम्रो यो बोर्डको सिंगो टिम म्यानेजमेन्टको टिमसित बसेर कस्तो एजेन्डाहरु अबको लागि हाम्रो आवश्यकता हो भन्ने कुरामा हाम्रो फोकस रहन्छ ।’

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले अकूले प्रदान गर्ने ब्राण्डका विषयमा जानकारी दिंदै यो वर्ष दुईवटा संस्थाले ब्रोञ्ज र सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको र आगामी वर्ष धेरैभन्दा धेरै संस्थालाई ब्राण्ड पाउनेगरी स्तरिकरण गर्ने बताए ।

उनले नेपालको साकोस अभियानले अन्तर्राष्ट्रियस्तरमा संस्थागत क्षमता, गुणस्तर सुनिश्चितता र नेतृत्व सहभागितामार्फत आफ्नो पहिचान विस्तार गर्दै गएको जनाए । कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी, महासचिव घनश्याम अधिकारी तथा संचालक शुसिल बस्नेतलगायतको उपस्थिति रहेको थियो ।



Leave a comment