हाइलाइट

विश्व शान्तिकालागि लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन

विश्व शान्तिकालागि लुम्बिनीमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । मंसिर २४ देखि २६ गतेसम्म लुम्बिनीमा ३ दिने सम्मेलन सहकारी शान्ति सम्मेलन गर्न लागिएको हो ।

महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी संस्थाहरु शान्ति निर्माण र दिगो विकासका माध्यम भएकाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गरिएको बताए ।

उनले दिगो शान्तिका लागि न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक रहेको परिप्रेक्षमा पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका लागि सम्मेलन आवश्यक रहेको बताए ।

सम्मेलनमा सहभागिताको लागि सदस्य संघमार्फत् मूलुकभित्र र मूलुकबाहिरका सहकारीकर्मीहरुलाई अनुरोध गरिएको उनले बताए । सहकारी शान्ति सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशबाट  उत्साहपूर्वक रजिष्ट्रेशन भइरहेको उनको भनाई छ ।

सम्मेलनमा ६ सय ५० जनाको सहभागिता रहने र इच्छुक सहकारीकर्मीहरुलाई छिटो रजिष्ट्रेशन गरी आफ्नो सिट सुरक्षित गर्न उनको आग्रह छ ।

सहकारी शान्ति सम्मेलन भनिए पनि सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा समेत छलफल गरिने हुँदा सम्मेलन फलदायी हुने उनको भनाइ छ ।

मूलुकमा खुलेका केही सहकारी संस्थाले सदस्यको बचतलाई अपचलन गर्दा सिङ्गो सहकारी अभियान माथि नै प्रश्न उठिरहेको सन्दर्भमा यो क्षेत्रको समस्यालाई समाधान गर्ने गरी सम्मेलनले मार्ग प्रशस्त गर्ने उनले बताए ।

अन्तर्राष्ट्रिय जगतमा भएका सहकारीका असल अभ्यासहरुलाई समेत मूलुकमा आन्तरिकीकरण गरी थप सुद्धढ र व्यवस्थित बनाउन सम्मेलनले सघाउने पोखरेलको भनाई छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) का एसिया प्यासिफिकका अध्यक्ष डा. चन्द्रपाल सिंह यादव समेत सहभागी हुने उनले जनाए । यसले पनि सम्मेलन प्रभावकारी हुने विश्वास आयोजकको रहेको छ ।

सम्मेलनमा सहकारीको दिगोपन, वित्तीय परिचालनका उपायहरु, स्रोत परिचानल सम्बन्धी प्रस्तुतिकरण, सहकारीका लागि आवश्यक नयाँ टेक्नोलोजीका साथै सहकारी क्षेत्रका विभिन्न आयामहरुका बारेमा छलफल गरी निचोडमा पुग्ने लक्ष्य राखिएको छ ।

स्थानीय, प्रदेश र संघीय सरकार तथा अभियानबीच अन्तर संवाद गरी यो क्षेत्रमा देखिएको अन्यौलतालाई समेत सम्मेलनले चिर्ने र नयाँ गति दिने आशा गरिएको छ ।

विज्ञान र प्रविधिमा भएको प्रगतिको बाबजुद पनि विश्वमा गरिबी, असमानता, द्वन्द्व र वातवरणीय क्षय कायम रहेको अवस्थामा यो सम्मेलनले विश्वभर समावेशी आर्थिक वृद्धि, सामाजिक सद्भाव र दिगो विकासलाई बढाउँदै सहकारीको माध्यमबाट विश्वमा शान्ति प्रवद्र्धन गर्न सकारात्मक सन्देश दिने विश्वास लिइएको छ ।

सम्मेलनमा शान्ति निर्माण र सहकारी, आर्थिक समानता र युवा तथा महिला नेतृत्व, जलवायु तथा दिगोपन, दिगो विकास लक्ष्य तथा डिजिटल रुपान्तरण र विश्वव्यापी साझेदारी जस्ता प्रमुख विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् ।

त्यसैगरी सहकारीमार्फत् शान्तिका लागि आधिकारिक लुम्बिनी घोेषणापत्र, सम्मेलन कार्यवाही प्रतिवेदन, सरकार तथा अन्तर्राष्ट्रिय सहकारी निकायका लागि कार्यान्वयनयोग्य नीति सिफारिस, अन्तर्राष्ट्रिय साझेदारी र युवा सहकार्य सञ्जाल तथा विश्व सहकारी शान्ति मञ्चको स्थापनामा सहयोग पुग्ने अपेक्षा सम्मेलनबाट गरिएको छ ।

सम्मेलनबाट अल्पाकालिन, मध्यकालिन र दीर्घकालिन नतिजा प्राप्त हुने महासंघको विश्वास छ । सहकारीको शान्तिमा योगदान बारे विश्वव्यापी सचेतना, सरोकारवालाबीच बलियो सञ्जाल, जलवायु परिवर्तन बारे छलफल र प्राविधिक ज्ञान आदान प्रदान हुनेछ ।

त्यसैगरी सीमापार परियोजना सञ्चालन, सहकारीमैत्री नीतिको कार्यान्वयन र अन्तर्राष्ट्रिय सहकार्य वृद्धिका साथै दीर्घकालिन विश्व शान्ति स्थापनामा पहल, सहकारीमार्फत् दिगो सामाजिक आर्थिक विकास तथा शान्ति संवादको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा नेपालको पहिचान पुग्ने अपेक्षा सम्मेलनबाट गरिएको छ ।

सहकारीको पुँजीलाई उत्पादन तथा प्रशोधन, बजारीकरण, वित्तीय क्षेत्र र कृषिको दिगोपनका साथै उद्यम व्यवसायका क्षेत्रमा  लगानी बढाउन अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा भित्र्याई मुलुकको आर्थिक तथ सामाजिक रुपान्तरण थप टेवा पु¥याउने लक्ष्य सम्मेलनले राखेको छ ।

त्यसैगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई व्यवस्थित गर्न बन्न लागेको प्राधिकरण ऐनलाई समेत सार्थक बनाउन सम्मलेनमार्फत् सघाउने विश्वास लिइएको छ ।

सम्मेलनमा सहभागी हुन स्वदेशी सहकारीकर्मीलाई प्रति व्यक्ति ६ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति २५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000