काठमाडौं । नेपाल भ्रमणमा रहेको बंगलादेशका सहकारीकर्मीहरुले काभ्रेको पाँचखालमा रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको अवलोकन तथा भ्रमण गरेका छन् । टोलीले संस्थाका पदाधिकारी तथा कर्मचारीहरूसँग शिष्टाचार भेटघाट, स्वागत तथा परिचयात्मक कार्यक्रमका साथै सहकारी क्षेत्रका गतिविधि, संस्थागत अभ्यास, उपलब्धि र अनुभवहरूबारे महत्वपूर्ण छलफल एवं विचार आदानप्रदान गरेको हो ।
टोलीलाई संस्थाका उपाध्यक्ष राजन कार्कीको अध्यक्षता स्वागत कार्यक्रम गरेको थियो भने सचिव रामप्रसाद कोइरालाले कार्यक्रम सञ्चालन तथा कोषाध्यक्ष दामोदर दुलालले स्वागत मन्तव्य राखेका थिए । त्यसैगरी, संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाको समग्र परिचय, उद्देश्य, कार्यक्षेत्र, सहकारीका गतिविधि, संस्थागत अभ्यास, उपलब्धि तथा सञ्चालनका विविध पक्षहरूबारे विस्तृत जानकारी गराएका थिए ।
टोलीमा बंगलादेशका सहकारी क्षेत्रका उच्च पदस्थ पदाधिकारी तथा अभियन्ताहरू गरी १९ जना सहभागी थिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र द को(अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड CCULB को संयुक्त आयोजनामा सञ्चालित पारस्परिक अध्ययन अवलोकन भ्रमण (Mutual Exposure Visit) अन्तर्गत टोलीले आर्थिक विकास मित्र साकोसको संस्थागत संरचना, सञ्चालन पद्धति, व्यवस्थापन प्रणाली तथा वित्तीय सेवासम्बन्धी अभ्यासबारे जानकारी लिएको थियो ।
बंगलादेशको क्रेडिट युनियन अभियानको केन्द्रीय संघ CCULB को ३०औँ पारस्परिक अध्ययन अवलोकन भ्रमणका क्रममा १९ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको हो । भ्रमणका क्रममा टोलीले नेपालका नौवटा बचत तथा ऋण सहकारी संस्था, नेफ्स्कून तथा सहकारी रजिष्ट्रारको कार्यालयमा अध्ययन, अवलोकन, भेटघाट तथा अन्तरक्रिया गरेको छ।
प्रतिनिधिमण्डलमा बंगलादेशको सहकारी क्षेत्र हेर्ने मन्त्रालयका उच्च अधिकारी, सहकारी विभागका रजिष्ट्रार,CCULB का सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत सहकारी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
नेफ्स्कून र CCULB बीच सन् २००५ देखि पारस्परिक अध्ययन अवलोकन भ्रमणमार्फत सहकारी क्षेत्रको ज्ञान, सीप, अनुभव तथा असल अभ्यास आदानप्रदान हुँदै आएको छ । यसअन्तर्गत बंगलादेशका सहकारी प्रतिनिधिहरू नेपाल आउने र नेपाली सहकारी प्रतिनिधिहरू बंगलादेश जाने अभ्यास रहेको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया