काठमाडौं । सरकारले बचत संघहरुलाई वितीय कारोबारमा रोक लगाउँदै ब्यवस्थापनका लागि तीनवटा विकल्प दिएपछि सहकारीकर्मी देश दौडाहमा लागेका छन् ।
सरकारले तीनवर्ष भित्र वितीय कारोबार ब्यवस्थापनका लागि बचत संघहरुलाई भइरहेको सहकारी बैंकमा मर्ज गर्ने, नयाँ सहकारी बैंक खोल्ने र कारोबार शून्य गर्ने विकल्प दिएसंगै सहकारी बैंक स्थापनाको सम्भावना खोजी गर्न सहकारीकर्मी विभिन्न जिल्लामा छलफलमा जुटेका छन् ।
बैक स्थापनको सम्भावना छ वा छैन खोजी गर्नका लागि नेफ्स्कूनले कार्यदल समेत बनाएको छ । कार्यदलले विभिन्न जिल्लामा छलफल गरिरहेको छ । यसैक्रममा कार्यदल बाग्लुङ जिल्लाका सहकारीकर्मीसंग छलफल गरेको छ ।
बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको बैठक हलमा बचत सहकारी बैंक स्थापना गर्ने सन्दर्भमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सहकारी क्षेत्रको वर्तमान अवस्था, वित्तीय आवश्यकता तथा सहकारी संस्थाहरूको हितलाई केन्द्रमा राख्दै प्रस्तावित नेफ्स्कुन बैंकको स्थापना र सञ्चालनका विषयमा कार्यक्रममा विस्तृत छलफल गरिएको जनाइएको छ ।
छलफलमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक खेमराज सुवेदी, सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेल लगायत विभिन्न बचत संघ, सहकारी संघ तथा सहकारी संस्थाका प्रतिनिधिहरू गरी २३ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम सिवाइसी साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले सञ्चालन गरेका थिए । अन्तरक्रियामा बचत सहकारी बैंक स्थापना गर्दा सहकारी क्षेत्रको वास्तविक आवश्यकता, उद्देश्य तथा संस्थागत संरचनालाई विशेष ध्यान दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
बैंक स्थापना गरिएपछि त्यसको प्रत्यक्ष लाभ सहकारी संस्था तथा बचतकर्तासम्म पुग्नुपर्ने र प्रस्तावित बैंक सहकारी क्षेत्रको वित्तीय आवश्यकता पूर्ति गर्ने भरपर्दो माध्यम बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
सहभागीहरूले बचत सहकारी बैंक स्थापना गर्दा नेपाल राष्ट्र बैंकले सहकारी क्षेत्रको प्रकृति र आवश्यकतालाई बुझेर आवश्यक वर्गीकरण तथा नियमनको व्यवस्था गर्नुपर्ने विषयमा पनि जोड दिएका थिए ।
सहकारी संस्थाहरूको विशिष्ट पहिचान र भूमिका कायम राख्दै बैंक स्थापना र सञ्चालनको स्पष्ट कानुनी तथा नियामकीय व्यवस्था आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
त्यस्तै, बैंक स्थापना गर्ने क्रममा बचत तथा ऋण सहकारी संस्थाहरू तथा बचत संघहरूको अस्तित्व र भूमिकामा असर पर्न नहुने विषयलाई महत्वपूर्ण रूपमा उठाइएको थियो ।
सहकारी र सहकारीका संघसंस्थाहरूलाई कमजोर बनाउने वा उनीहरूको संस्थागत अस्तित्व नै प्रभावित हुने अवस्था सिर्जना भएमा बैंक स्थापनाको उद्देश्य पूराहुन नसक्ने सहभागीहरूको धारणा थियो ।
कार्यक्रममा सहकारी अभियानको मर्म, सदस्यको हित, सहकारी संस्थाको स्वायत्तता तथा वित्तीय पहुँचलाई प्राथमिकतामा राखेर बैंकको अवधारणा अघि बढाउनुपर्नेमा जोड दिइएको थियो ।
बैंक स्थापना भएपश्चात् सहकारी संस्थाहरूले सहज वित्तीय सेवा, तरलता व्यवस्थापन, लगानीका अवसर तथा अन्य आवश्यक वित्तीय सुविधा प्राप्त गर्नसक्ने वातावरण बनाउनुपर्ने धारणा समेत व्यक्त गरिएको थियो ।
सहकारी क्षेत्रको संस्थागत विकास, सदस्यको आर्थिक सशक्तीकरण तथा सहकारी अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित बचत सहकारी बैंक स्थापना सम्बन्धी छलफललाई निरन्तरता दिने, आवश्यकता समेत औंल्याइएको थियो ।
कार्यक्रमले प्रस्तावित बैंकको उद्देश्य, संरचना, नियमन र सहकारी संस्थासँगको सम्बन्धका विषयमा थप स्पष्ट छलफलका लागि आधार तयार गरेको सहभागीहरूले बताएका छन ।
Leave a comment