हाइलाइट

बाढीपीडित सहकारीलाई भक्तपुर बचत संघद्वारा जिन्सी सामग्री हस्तान्तरण

बाढीपीडित सहकारीलाई भक्तपुर बचत संघद्वारा जिन्सी सामग्री हस्तान्तरण :: Sahakari Akhabar

काठमाडौं । प्राकृतिक विपद्का कारण क्षति व्यहोरेका बचत तथा ऋण सहकारी संस्थाहरूको कार्यालय पुनः सञ्चालन तथा पुनस्र्थापनाका लागि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको नेतृत्वमा जिन्सी सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । असोज १८ गते आइतबारका दिन उक्त औपचारिक हस्तान्तरण कार्यक्रम नुवाकोटको विदुर नगरपालिकामा नगर प्रमुखको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

भोटेकोशी बाढीबाट प्रभावित संस्थाहरूलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहयोग समन्वय तथा नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । यस कार्यमा संघ र ३१ वटा सदस्य सहकारी संस्थाहरूबाट ८ लाख ६४ हजार ३४ रुपैंया बराबरको जिन्सी सामानहरुको सहयोग गरेको हो ।

कार्यक्रमका लागि विदुर नगरपालिका, नुवाकोट र गल्छी गाउँपालिका, धादिङले आवश्यक अनुमति प्रदान गरेका थिए । बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठको उपस्थितमा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ र धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

बाढीका कारण कार्यालय भवन, कम्प्युटर, प्रिन्टर तथा महत्वपूर्ण श्रेस्ताहरू नष्ट भएका सहकारीहरूको प्रशासनिक तथा वित्तीय सेवा पुनः सुचारु गराउन कार्यालय पुनस्थापना गर्न आवश्यक पर्ने ल्यापटप, प्रिन्टर, स्टिल दराज, टेबल र मेच १ / १ सेट नुवाकोटको ७ वटा र धादिङको १ वटा गरी ८ वटा बचत तथा ऋण सहकारी संस्थालाई प्रत्यक्ष सम्बन्धित संस्थाहरूलाई नै जिन्सी सामानहरु उपलब्ध गराइएको हो ।

सहकारीको छैटौं सिद्धान्त सहकारी सहकारी बीच पारस्परिक सहयोग र सातौं सिद्धान्त समुदायप्रति चासोलाई आत्मसात् गर्दै संकटको समयमा यो ऐक्यबद्धता प्रकट गरिएको आयोजक संघका अध्यक्ष हरि कृष्ण बल्लले बताए ।



Leave a comment