हाइलाइट

नयाँ सहकारी ऐनकालागि सरकारले माग्यो सुझाव, नेफ्स्कूनको सुझाव यस्तो

नयाँ सहकारी ऐनकालागि सरकारले माग्यो सुझाव, नेफ्स्कूनको सुझाव यस्तो :: Sahakari Akhabar

काठमाडौं । बचत तथा ऋण सहकारी र अन्य सहकारीकालागि दुईवटा छुट्टा छुट्टै ऐन ल्याउने सरकारको तयारी छ । यसै सन्दर्भमा सरकारले मंसिर ९ गते सरोकारवालाहरुसंग छलफल गर्दै सुझाव मागेको हो । भूमि व्यवस्था, सहकारी, संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहकारी अभियान, स्थानीय र प्रदेश रजिष्ट्रार कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, समस्याग्रस्त व्यवस्थापन समिति, र विज्ञहरुको सहभागिता रहेको थियो ।

सहकारी कानुन सुधारका सम्बन्धमा सरोकारवालाहरुसँग गरिएको छलफलमा राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून लगायत केन्द्रीय सहकारी संघ र विज्ञहरुले सुझाव दिएका छन् । मन्त्रालयका सहसचिव डिलाराम पन्थीले कार्यपत्र प्रस्तुत गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी र अन्य प्रकृतिका सहकारी संस्थाका लागि छुट्टा छुट्टै ऐन ल्याउने तयारी गरेको जनाए ।

सहकारीलाई उद्देश्य अनुसार सञ्चालन गर्न, यो क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित बनाउन आगामी अधिवेशनमा ऐनको मस्यौदा पेश गर्ने उनले जनाए । सहसचिव पन्थीले सरोकारवालाहरु संग सहकारी ऐन र वित्तीय सहकारी नियमन ऐनमा अनिवार्य समावेश हुनुपर्ने विषयहरु प्रस्तुत गरेका थिए ।

ठूला वचतकर्ताको वचत फिर्ता र ऋण असुली, समस्याग्रस्त सहकारीको व्यवस्थापन ढाँचा, कसुरदारको सम्पत्ति जफत र लिलाम बिक्री, सिआइबीको प्रभावकारिता, सहकारी रजिष्ट्रारको कार्यालय र सहकारी नियमन प्राधिकरणको कार्यजिम्मेवारी, प्राधिकरणको कार्यालय विस्तार गर्नुपर्ने आवश्यकता, दीर्घकालमा सहकारीको नियमन प्रभावकारी बनाउन जोड दिनु पर्ने विषयहरु, साझा सहकारीहरुको सञ्चालन तथा व्यवस्थापनमा गर्नुपर्ने सुधारका विषयहरु, सहकारीको नियमनमा तहगत सरकारको अन्तर्सम्बन्धका विषयहरुमा सुझाव माग गरेका थिए ।

कार्यक्रममा सहकारी मन्त्री प्रतिभा रावल र सचिव मदन भुजेलको समेत उपस्थिति रहेको थियो । मन्त्री रावलले सरकारको पहिलो प्राथमिकतामा पीडित बचतकर्ताको रकम फिर्ता गर्नु रहेको भन्दै आफु अनुकुल ऐन नियम बनाउने परिपाटीबाट बाहिर गएर समग्र सदस्यको हित हुनेगरी सुझाव दिन आग्रह गरिन ।

सचिव भुजेलले सहकारीका लागि दुई फरक ऐन ल्याउन लागेको र सरोकारवालाहरुबाट आएको सुझावलाई संवोधन गर्नेगरी ऐनको मस्यौदा बनाउने बताए । उनले सहकारी क्षेत्रलाई थप विग्रन दिन नहुने विषयमा मन्त्रालय स्पष्ट रहेको भन्दै यो क्षेत्रलाई थप व्यवस्थित र पारदर्शी बनाउनको लागि दुईवटा ऐन ल्याउन लागेको बताए । सरोकारवालाहरुबाट दिएको सुझावलाई आत्मसात गर्दै आवश्यकता अनुसार समय समयमा सरोकारवालासंग छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

सहकारी रजिष्ट्रारको कार्यालयका जिष्ट्रार बाबुराम गौतमले बचत सहकारी र अन्य प्रकृतिका सहकारीका लागि छुट्टा छुटटै ऐन ल्याउन लागेकाले रचनात्मक सुझाव दिन आग्रह गरे । सहकारी नीतिलाई कार्यान्वयन गर्न ऐन ल्याउनु पर्नेमा विज्ञहरुले सुझाएका छन् । सरकारले स्पष्ट नीति नल्याई कानुन मात्र ल्याउँदा त्यसको प्रभावकारिता नहुने तर्क उनीहरुको छ । अर्कोतर्फ कानुन कार्यान्वयनमा समेत ध्यान जानुपर्ने र नयाँ कानुन ल्याएर मात्र यो क्षेत्र व्यवस्थित नहुने उनिहरुले बताए । छलफलमा सरोकारवालाहरुले मन्त्रालयमा लिखित सुझाव बुझाउने जनाएका थिए ।

नेफ्स्कूनको सुझाव

बचत तथा ऋण सहकारी ऐनमा हुनुपर्ने व्यवस्था:
– सहकारी दर्ता प्रावधान, न्यूनतम आवश्यक विषय, भूगोल, जनसंख्या, कार्यक्षेत्र
– वित्तीय संस्थाको परिभाषा हुनेगरीको दर्ता वा इजाजतको तह
– लेखापालन, लेखापरीक्षण, प्रतिवेदनहरुको एकरुपता । अनुसूचि
– बचतकर्ताहरुमा न्यूनतम प्रत्याभूतिका संयन्त्रहरु
– ब्याजदर, शूल्कहरु, विषयगत खर्चहरु, स्प्रेडदर आदि
– नियमित जोखिम सुपरिवेक्षण र पृष्ठपोषणको संयन्त्र
– संघहरुलाई जिम्मेवारी र जवाफदेहिता
– नियामकले तोके बमोजिमको प्रविधि प्रयोग र प्रतिवेदन प्रेषणको व्यवस्था
– संघहरुलाई अनुगमन, सुपरिवेक्षण र प्रतिवेदकको स्पष्ट जिम्मेवारी
– संघहरुलाई तहगत सीमा तोकी आफ्ना सदस्यहरुको बचत परिचालन गर्न सक्ने प्रावधान
– केन्द्रीय संघमा नियामकको स्वीकृतीमा केन्द्रीय तरलताकोषको व्यवस्था र परिचालन विधि
– बचत तथा ऋण सहकारीहरु वित्तीय सेवा प्रदायकको रुपमा स्थापित रहन बैंकिंग क्षेत्रका सबै सुविधाहरुमा खुल्ला
– मन्त्रालयको स्वीकृतीमा संघहरुद्वारा क्षमता विकासका प्रमाणिकरण कोर्षहरु सञ्चालन गर्न सक्ने ब्यवस्था
– समस्याग्रस्त घोषणा मात्रै नभई पुरर्सञ्चालनको विधि र सहजकर्ताको परिकल्पना – आवश्यकताको आधारमा प्रदेश जिल्ला तहका संघहरु र अन्तरसम्बन्ध
– प्राधिकरण र संघको अन्तरसम्बन्ध
– ऋण लगानी, असुली, धितो जमानी, रोक्का फुकुवा, कानूनी प्रक्रिया, दण्ड सजायको
स्पष्टता
– कर्जा सूचना केन्द्र, कालोसूची, साखसूचना
– सहकारीलाई संघीय नियमनको दायरामा राख्नुपर्ने, तहगत सरकारहरुको भूमिका प्रवर्धन र सहजिकरण
– सहकारी नियमन समिति
– सहकारी नियमन प्राधिकरणका काम कर्तव्य अधिकारहरु
– एकिकृत निर्देशन जारी गर्ने
– संस्था सञ्चालनका समग्र पक्षहरु स् सुशासन, वित्तीय संरचना, सञ्चालकहरु र ब्यवस्थापनको फिट एण्ड प्रोपर
– संघहरुमा प्रारम्भिक संस्थाहरुबाट प्रतिनिधित्वको विषय
– बचत, ऋण, शेयर, कोषहरुको अनुपात
– जोखिम ब्यवस्था, जोखिम सम्पत्ति वर्गिकरण



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000