काठमाडौं । कर्जा असुली न्यायाधिकरणका सूचना अधिकृत नविन मैनालीले सहकारी संस्थाहरुले ऋण लगानी गर्दा धितोलाई नभई तिर्नसक्ने क्षमतालाई ध्यान दिनुपर्ने बताएका छन् । तलितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको पाँचौं साकोस समिटमा कार्यपत्र प्रस्ततु गर्दै उनले धितोलाई आधार मन्दा ऋण असुलीमा समस्या हुने बताए ।
विकशित देशमा ऋण लिन धितो नचाहिने तर विना धितो ऋण लगानी भएपनि ऋणीसँग तिर्नसक्ने क्षमता भने हुने उनले जनाए । सहकारीमा भाखा नाखेको ऋण असुलीमा कर्जा असुली न्यायाधिकरणको भूमिका तथा कानुनी पक्षहरुको बारेमा चर्चा गर्दै उनले ऋण लगानी गर्दा संस्थाहरुले फाइभ सीलाई समेत विश्लेषण गर्नुपर्नेमा जोड दिए ।
ऋण तिर्नसक्ने क्षमता नभएको व्यक्तिलाई ऋण लगानी गर्नुभयो र उठाइदिन आग्रह गर्दै कर्जा असुली न्यायाधिकरणमा आए त्यो सम्भव नभएको उनले प्रष्ट पारे । ऋण लगानीमा नै समस्या भएपछि असुलीमा समस्या हुने उनले जनाए । एउटा व्यक्तिको ऋण लिएर साइकल किन्ने क्षमता मात्र भए पनि उसले ड्रिम प्रोजेक्ट ल्यायो भने सहकारीले तिर्नसक्ने क्षमता नहेरी गरेको लगानीले असुलीमा समस्या आएको उनले प्रष्ट पारे ।
ऋण लगानी गर्दै गर्दा ऋणी र उसको एकाघरका परिवारको सम्पत्तिको विवरण लिनसके भोलिका दिनमा असुलीमा सहयोग पुग्ने उनल बताए । ऋण लगानी गर्दा संस्थाले सदस्यबाट सम्पत्तिको बारेमा स्वःघोषणा फर्म विकास गरी राख्नसके भोलिका दिनमा ऋण असुलीमा सहघाउ पुग्ने उनले जनाए ।
न्यायाधिकरणमा ५८८ मुद्धा दर्ता भएको र १० वटा सहकारी संस्थाले मात्र ऋणी सदस्यको बैंक खाता रोक्का राख्न निवेदन दिएको उनले बताए । ऋणले ऋणीलाई धनी बनाउनु पर्ने र ऋणी धनी भएन भने ऋण असुली नहुने उनले प्रष्ट पारे । जिल्ला अदालतमा विभिन्न प्रकृतिको मुद्धा हुने हुँदा सहकारीको मुद्धा समयमा छिनोफाँनो हुन समय लाग्ने र न्याय पाउन ढिलाहुने भएकाले सहकारीका लागि छुट्टै न्यायाधिकरण गठन गरिएको उनले जानकारी दिए ।
Leave a comment