काठमाडौं । आर्थिक वर्ष ०८२ / ०८३ मा सहकारी क्षेत्रको वित्तीय सूचक बढेपनि कर्मचारीको संख्या भने घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आर्थिक वर्ष ०८२ / ०८३ को प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा सहकारी क्षेत्रको वित्तीय अवस्था बढेपनि कर्मचारीको संख्या भने घटेको देखाएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा समीक्षा वर्षमा सहकारीहरूको कुल पूँजी आर्थिक वर्ष २०८१ र ८२ को तुलनामा १.०७ प्रतिशतले बढेको उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कुल पूँजी ०.८४ प्रतिशतले घटेको जनाएको छ । समीक्षा वर्षमा उक्त सहकारीहरुको कुल बचत ७.६० प्रतिशतले बढेको छ भने कुल कर्जा ६.५० प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष सहकारी संस्थाहरुको बचत ८.५४ प्रतिशतले बढेको थियो भने कर्जा १.६६ प्रतिशतले बढेको थियो । त्यसैगरी, समीक्षा वर्षमा सहकारी संस्थाका सदस्य संख्या २.६९ प्रतिशतले बढ्दा कर्मचारी संख्या २.५३ प्रतिशतले घटेको छ ।
अघिल्लो आर्थिक वर्षमा सदस्य संख्या ३.०५ प्रतिशतले बढेको र कर्मचारी संख्या ३.७८ प्रतिशतले घटेको थियो । बैंकले प्रत्येक प्रदेशका १० र १० वटा सहकारी संस्थाका दरले नमूना छनौट गरी कुल ७० सहकारी संस्थाहरूको वित्तीय विवरण संकलन गरी अध्ययन गरिएको जनाएको छ ।
प्रतिवेदनमा सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्नु, कृषि क्षेत्रमा सरकारी, नीजि सहकारी क्षेत्रको लगानी आकर्षति गर्नु, सहकारी संस्थाहरुको प्रभावकारी निरिक्षण तथा अनुगमन गरी देखिएका समस्याको समयमै समाधान गर्दै सहकारी क्षेत्र प्रति जनताको विश्वसनियता कायम गर्नु, स्वदेशमै रोजगारी सिर्जना तथा आर्थिक आत्मनिर्भरता अभिवृद्धि गर्नु चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया