काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी क्षेत्रको बदलिँदो अवस्था, चुनौती र सम्भावनाबारे गहन छलफल तथा अनुभव आदानप्रदानका लागि ‘पाँचौँ ललितपुर साकोस समिट–२०८३’ आयोजना गर्न लागेका छ ।
पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका वित्तीय समस्या, संस्थागत सुशासनको प्रश्न, नियामकीय परिवर्तन, प्रविधिको तीव्र विकास तथा सदस्य र सर्वसाधारणको विश्वास कायम राख्नुपर्ने चुनौतीलाई ध्यानमा राख्दै समिट आयोजना गर्न लागिएको संघले जनाएको छ ।
समिटलाई ‘समृद्ध साकोस, दिगो संघ’ भन्ने परिकल्पनाअनुसार सहकारी संस्थाको संस्थागत क्षमता, नेतृत्व र व्यवस्थापकीय दक्षता विकास गर्ने साझा मञ्चका रूपमा अघि बढाउन खोजिएको छ । समिटमा सहकारी क्षेत्रसँग प्रत्यक्ष जोडिएका समसामयिक विषयमा विज्ञ तथा सरोकारवालाबीच छलफल र प्रस्तुति हुनेछन् ।
समिटको उद्देश्य
१, कानुनी तथा नीतिगत स्पष्टता हाँसिल गर्नुः
- परिवर्तित नियमन बुझ्नुः सहकारी क्षेत्रको वदलिँदो कानुनी परिदृश्य र नयाँ नियमनकारी व्यवस्थाहरुको बारेमा सरोकारवालाहरुलाई सचेत गराउनु ।
- कानुनी जोखिम न्युनिकरण गर्नुः कानुनी प्रावधानहरुको सही पालना मार्फत भविष्यमा आउनसक्ने कानुनी जटिलता वा कारबाहीबाट संस्थालाई जोगाउनु ।
२, संस्थागत सुशासन र छवि सुधार गर्नु
- विश्वास र साख फर्काउनुः विद्यमान सहकारी संकटका कारण गुमेको सर्वसाधारणको विश्वास पुनस्र्थापित गर्न र संस्थाको सकारात्मक छवि निर्माण गर्नु ।
- पारदर्शिता र जवाफदेहिता बढाउनुः नियमनको डरले मात्र नभई आन्तरिक रुपमा सुशासन कायम गर्ने पद्धति विकास गर्नु ।
३, वित्तीय जोखिम र ऋण व्यवस्थापन गर्नुः
- खराब ऋण असुलीमा प्रभावकारीताः भाखा नाघेको ऋण असुलीका लागि कर्जा असुली न्यायाधिकरणको कानुनी प्रक्रिया तथा भुमिका बुझी भाखा नाघेको ऋण असुलीदर वृद्धि गर्नु ।
४, विद्यमान सहकारी संकटका प्रमुख कारण, संकट समाधानका प्रयासहरु र सहकारी प्रतिको जनविश्वास पुनर्जीवित गर्नु
- संकटको अन्तर्निहित कारण र समाधानका मार्गचित्र पहिचान गर्नुः सहकारी क्षेत्रमा हाल देखापरेका बहुआयामिक वित्तीय तथा संस्थागत संकटका प्रमुख कारणहरुको गहन विश्लेषण गर्दै विद्यमान समस्या समाधानका व्यावहारिक, नीतिगत र कानुनी उपायहरुको मार्गचित्र प्रस्तुत गर्नु ।
- सदस्य केन्द्रित कारोबारमार्फत जनविश्वास पुनः स्थापित गर्नु स् सहकारी मुल्य, मान्यता र स्वनियमनको प्रभावकारी कार्यान्वयनद्धारा वित्तीय पारदर्शिता सुनिश्चित गर्ने र आम नागरिक एवं सदस्यहरुमा सहकारी प्रतिको साख र जनविश्वास पुनर्जीवित गर्ने आधारहरु तय गर्नु ।
५, प्रविधि र कृतिम बुद्धिमत्ता एआईको सुरक्षित प्रयोग गर्नु
- सेवामा आधुनिकता ल्याउनुः साकोसमा कृतिम बुद्धिमत्ता एआई र आधुनिक प्रविधिको प्रयोग गरी सेवामा छिटो, छरितो र लागत प्रभावकारिता वृद्धि गर्नु
- डिजिटल जोखिम कम गर्नेः प्रविधि सँगसँगै भित्रिने साइबर सुरक्षा, डाटा चोरी र प्राविधिक जोखिमहरु पहिचान गरी तिनको पूर्व व्यवस्थापन गर्नु
६, मानव संसाधनलाई मानव पुँजीमा रुपान्तरण गर्नुः
- सक्षम व्यवस्थापन निर्माण गर्नु स् कर्मचारीहरुलाई साधारण श्रमिकका रुपमा मात्र नहेरी संस्थाको अमुल्य सम्पति अर्थात् मानव पुँजीका रुपमा विकास गर्ने रणनीति बनाउनु ।
७, सकारात्मक सोच सहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास गर्नुः
- कुशल नेतृत्व निर्माणस् सहकारीलाई सही दिशा दिन आत्मविश्वासिलो र प्रभावकारी नेतृत्व सीपको विकास गर्नु ।
- सकारात्मक र सामूहिक भावनाः संस्थागत चुनौतीहरू सामना गर्न सकारात्मक दृष्टिकोण र बलियो आपसी सहकार्य बढाउनु ।
८, रणनीतिक आगामी कार्यदिशा तय गर्नुः
- दिगो योजना बनाउनु स् वर्तमान चुनौतिहरुलाई अवसरमा बदल्नका लागि साकोसको आगामी स्पष्ट कार्यदिशा र कार्ययोजना तय गर्न ।
संघले सहकारी क्षेत्रमा देखिएको निराशाजनक वातावरणलाई चिर्दै सहकारीकर्मीको मनोबल बढाउने उद्देश्यले मूलुक विषम परिस्थितिका बीचमा रहँदा रहँदै पनि ‘पाँचौँ ललितपुर साकोस समिट–२०८३’ आयोजना गर्न लागेको संघका बरिष्ठ उपाध्यक्ष तथा समिटका संयोजक करुणारत्न बज्राचार्य बताउँछन् ।
संघमा ४ सय भन्दाबढी सदस्य संस्था रहेपनि समिटमा बढीमा २०० जनालाई सहभागी गराइने उनले जनाए । संस्थाहरूबाट दुई–तीन जनासम्मको सहभागिता हुन सक्ने र सहभागिताका लागि दर्तागर्ने समय कम रहेकाले इच्छुक संस्थालाई यथाशीघ्र संघको कार्यालयमा सम्पर्क गरी नाम दर्ता गराउन समेत उनले आग्रह गरे ।
समिटमा सहकारी क्षेत्रसँग सम्बन्धित विषय मात्र नभइ वित्तीय क्षेत्रसँग जोडिएका व्यक्तिहरूले कार्यपत्र प्रस्तुत गर्नेभएकोले सहकारीका संचालक र ब्यवस्थापन दुवैलाई उपलब्धीमूलक रहने बरिष्ठ उपाध्यक्ष बज्राचार्यको भनाइ छ । सहकारी क्षेत्र बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई सामाजिक, औद्योगिक तथा वित्तीय क्षेत्रसँग समेत प्रत्यक्ष जोडिएकाले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालालाई वक्ताका रूपमा समेटिएको उनले जनाए ।
स्थानीय तहका सहकारी नियमनसँग सम्बन्धित व्यक्तित्वलाई समेत समेटिने र नेपाल राष्ट्र बैंकबाट समेत प्रस्तुति हुने हुँदा सहकारी क्षेत्रमा देखिएका समस्या, स्थानीय तहको भूमिका र नियमनसम्बन्धी जिज्ञासामाथि प्रत्यक्ष छलफल तथा अन्तरक्रिया हुनेछ । यसले सहकारी संस्था र नियामक निकायबीच प्रत्यक्ष संवादको वातावरण निर्माण भइ समस्याको निकास दिने अपेक्षा समिटबाट गरिएको छ ।
समिटको पूर्वयोजना बाढीको घटना हुनुअघि नै बनिसकेकोले विपत्तिका कारण देश शोकमा रहेका बेला तडकभडक बिना सकारात्मक रूपमा अघि बढ्नुपर्ने सन्देश सहित समिटलाई सामान्य र मितव्ययी र उपलब्धीमूलक रुपमा सम्पन्न गर्ने योजना रहेको उनले सुनाए ।
संघले समिटलाई केवल ज्ञान र अनुभव आदानप्रदान गर्ने कार्यक्रमका रूपमा नभई अहिलेको कठिन परिस्थितिमा सहकारीकर्मी र कर्मचारीको मनोबल बढाउने तथा सहकारी क्षेत्रमा सकारात्मक वातावरण निर्माण गर्ने अभियानका रूपमा अघि बढाउन खोजेको उनले जनाए । त्यसैले सहकारी संस्थाहरूले आफ्ना सक्रिय सञ्चालक, व्यवस्थापक तथा कर्मचारीलाई सहभागी गराई समिटबाट प्राप्त ज्ञान, सकारात्मक सोच र सिकाइलाई संस्थाको कार्यसम्पादनमा प्रयोग गर्न उनको आग्रह छ ।
समिटमा सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीमध्ये सहकारीको दैनिक कामकारबाहीमा सक्रिय व्यक्तिहरूको सहभागितालाई प्राथमिकता दिइएको संघका सचिव श्याम महर्जन बताउँछन् । सहकारी संस्थाका सबै सञ्चालक सक्रिय रूपमा संस्थाको दैनिक गतिविधिमा संलग्न नहुने भएकाले संस्थामा प्रभावकारी भूमिका निर्वाह गरिरहेका सञ्चालक तथा व्यवस्थापनका कर्मचारीलाई सहभागी गराउँदा समिटबाट प्राप्त ज्ञान र सिकाइ संस्थामा कार्यान्वयन गर्न सघाउ पुग्ने उनको भनाइ छ ।
समिट बचत तथा ऋण सहकारीमा मात्र सीमित नभई ललितपुरमा रहेका बहुउद्देश्यीय, कृषि लगायत सबै प्रकारका सहकारी संस्थाका लागि उपयोगी हुने उनले जनाए । २०६९ साल बैशाखमा पहिलो साकोस समिट गरेर ललितपुर बचत संघले सहकारीमा गोष्ठीको थीति बसालेको उनले बताए ।
त्यसपछि संघले निरन्तर चारवटा साकोस समिटहरु गरिरहँदा सहकारी क्षेत्र र सहकारी अभियानमा धेरै टेवा पुगेको उनको दावी छ । पाँचौं समिट निरन्तरतामात्र नभएर अघिल्ला चारवटा समिटबाट सिकेका र अघिलला समितमा छुटेका विषयलाई निरन्तर उजागर गर्ने कार्यक्रम भएको उनको भनाइ छ ।
समिटबाट प्रारम्भिक संस्थाका सहभागिहरुले सहकारी सम्बन्धि धेरै कुराहरु बुझेको र उपलब्धि हाँसिल गरेको उनले बताए । समिटमा सहकारीका समसामायिक कुराहरु, नीति नियमका कुराहरु र नयाँ प्रविधिका कुराहरु एकमुष्ट रुपमा मसिनो ढंगले छलफल हुने हुनाले सहकारी समिट उपलब्धिमूलक हुने उनको भनाइ छ ।
यसपटक सहकारी क्षेत्रमा देखिएको आर्थिक तथा संस्थागत कठिनाइलाई ध्यानमा राख्दै समिटलाई विगतको तुलनामा मितव्ययी बनाइएको संघका कोषाध्यक्ष बसन्त मालिको भनाइ छ । विगतमा काठमाडौं बाहिर दुई–तीन दिनसम्म आवासीय रूपमा समिट आयोजना गर्दा प्रतिव्यक्ति १२ हजार रुपैयाँसम्म शुल्क लिनेगरिए पनि यसपटक प्रति ब्यक्ति ५ हजार मात्र शुल्क लिइएको र कार्यक्रममा नपुग रकम संघले विभिन्न कोषबाट ब्यहोर्ने कोषाध्य मालिको भनाइ छ ।
उनले यसपटक ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुईदिनको दिवा कार्यक्रम आयोजना गरिएको भएपनि उक्त सहभागि शूल्कले खर्च नधान्ने उनले जनाए । समिट पहिलो दिन बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म र भोलिपल्ट पाँचबजे समापन गरिने उनले जनाए ।
अहिले परिवर्तित सहकारी ऐन नियम नीतिलाई, हामीले अब कसरी लाने हो यसलाई कसरी लागु गर्ने भन्ने विषयमा साकोस समिटमा छलफल हुने र राष्ट्र बैंकको नीति निर्देशन, राष्ट्रिय सहकारी प्राधिकरणको नीति नियम सम्बन्धि विषयमा पनि घनिभूत छलफल हुनेभएकोले सहकारीकर्मी हरुलाई सहभागी हुनको लागि उनले अनुरोध गरेका छन् ।
बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरुलाई मात्र नभएर बचत तथा ऋणको कारोबार गर्ने बहुउद्देश्यीय, कृषि सहकारीलगायतकाट सहभागिता जनाउन सकिने उनले जनाए । उनले सहकारीलाई पहिलाकै अवस्थामा फर्काउनको लागि पनि सवैजना एकैठाउँमा बसेर छलफल गर्नुपर्ने भएकोले यसको उपयुक्त माध्याम साकोस समिट रहेको जनाए ।
यस्तो छ कार्यक्रम तालिका, विषय र श्रोत ब्यक्तीहरूः

Leave a comment