हाइलाइट

सर्लाहीको स्वस्तिक साकोसद्धारा राहतकोषमा २ लाख र पिडित सदस्यको परिवारलाई १५ हजार सहयोग

सर्लाहीको स्वस्तिक साकोसद्धारा राहतकोषमा २ लाख र पिडित सदस्यको परिवारलाई १५ हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । सर्लाहीको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार आर्थिक सहयोग गरेको छ । त्यसैगरी संस्थाले बाढी पिडित संस्थाका सदस्यलाई १५ हजार १२५ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले आफ्नो कोषबाट रकम खर्च नगरी सदस्यहरूको स्वेच्छिक सहभागिताबाट सहयोग रकम संकलन गरी सहयोग गरेको जनाएको छ ।

संस्थाका सदस्यहरूबाट २ लाख १६ हजार १२५ संकलन रुपैंयाँ संकलन भएको र २ लाख १ हजार प्रधानमन्त्री राहत कोषमा तथा १५ हजार १२५ संस्थाका सदस्य ईश्वरपुर नगरपालिका–७ का लक्ष्मण श्रेष्ठ सोही बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेकाले उनको परिवारलाई सहयोग गरेको जनाएको छ ।

संस्थाका झण्डै ४ हजार शेयर सदस्य रहेको स्वस्तिक सहकारीले प्राकृतिक विपद् तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाइएको छ । यसपटक पनि विपदमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सदस्यहरूकै स्वेच्छिक सहयोगमा रकम संकलन गरिएको संस्थाले जनाएको छ ।

संस्थाका सचिव नेत्रबहादुर कार्कीका अनुसार साधारणसभाबाट संस्थाको रकम राहत, चन्दा वा अन्य सामाजिक सहयोगमा खर्च गर्ने स्पष्ट म्यान्डेट प्राप्त नभएकाले संस्थाको कोषबाट रकम उपलब्ध नगराई सदस्यहरूबाट स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको हो ।

त्यस्तै, संस्थाका व्यवस्थापक विनोद कुमार थापाले सञ्चालक समितिको निर्णयका आधारमा मात्र संस्थाको रकम चन्दा वा राहतका रूपमा खर्च गर्ने अभ्यासभन्दा सदस्यहरूको प्रत्यक्ष सहभागिता र स्वेच्छिक सहयोगलाई प्राथमिकता दिनु उपयुक्त हुने बताए ।

विपद परेको समयमा तत्काल सहयोग रकम संकलन गर्नुपर्ने अवस्थालाई सहज बनाउन स्वस्तिक सहकारीले संस्थामा स्थायी रूपमा ‘चन्दा बाकस’ स्थापना गरी ‘दैवी प्रकोप कोष’ सञ्चालन गर्ने योजना अघि सारेको संस्थाका अध्यक्ष विष्णुहरि मैनालीले जनाए ।

उनका अनुसार उक्त चन्दा बाकसमा सदस्य तथा शुभेच्छुकहरूले आफ्नो इच्छाअनुसार स्वेच्छिक रूपमा रकम जम्मा गर्न सक्नेछन् । संकलित रकमलाई व्यवस्थित रूपमा ‘दैवी प्रकोप कोष’ का रूपमा व्यवस्थापन गरी बाढी, पहिरो, भूकम्पलगायतका प्राकृतिक विपदमा परेका नागरिकको सहयोगमा परिचालन गरिनेछ ।



Leave a comment