काठमाडौं । डिजिटल वित्तीय सेवाका लागि झापाको नेपाल बहुउद्देश्यीय सहकारी ( एनएमसी ) ले एमबैंक टेक्नोलोजिज प्रालिसंग सम्झौता गरेको छ । दुईसंस्था बिच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने उद्देश्यले रणनीतिक सम्झौता भएको हो ।
सम्झौता भएअनुसारको सेवा संस्थाले साउन ७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ । संस्थाले बचत ऋणका साथै कृषि, दुग्ध, चिया, रेमिट्यान्स तथा अन्य समुदायमुखि सेवा प्रवाह गर्दै आएको छ ।
देशभर ५७ सेवा केन्द्रमार्फत एक लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको एनएमसी कोअपले अब आफ्ना सदस्यलाई एमबैंकको प्लेटफर्म मार्फत थप डिजिटल वित्तीय सेवा उपलब्ध गराउने भएको जनाइएको छ ।
एनएमसीका सदस्यहरूले एउटै मोबाइल एप्लिकेसनमार्फत मोबाइल बैंकिङ, क्यूआर पेमेन्ट, फण्ड ट्रान्सफर, युटिलिटी पेमेन्ट, डिजिटल पेमेन्ट तथा केवाइएम अपडेट लगायतका सेवा प्राप्त गर्न सकिने जनाएको छ । चरणबद्ध रूपमा सदस्यहरूले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण, ऋण भुक्तानी, ऋण विवरण तथा नयाँ ऋण आवेदन जस्ता सेवा मोबाइल प्लेटफर्ममार्फत प्राप्त गर्न सकिने एम बैंकले जनाएको छ।
डिजिटल प्रक्रियामार्फत आवश्यक कागजात पेश गर्ने र ऋण आवेदनको अवस्थाबारे जानकारी लिन सकिने भएकाले शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ । सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार अपरिहार्य रहेको एनएमसीका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले बताए ।
उनले यस साझेदारीले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । त्यसैगरी साझेदारी केवल मोबाइल बैंकिङ सेवाको विस्तार मात्र नभएर सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने साझा पहल भएको एमबैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठको भनाइ छ ।
उनले बैंकिङ, पेमेन्ट र लेन्डिङलाई एउटै डिजिटल इकोसिस्टममा एकीकृत गरेर सदस्यलाई अझ सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव प्रदान गर्ने सिइओ महासेठको भनाइ छ। यो साझेदारीले एमबैंकको ‘वन प्लेटफर्म फर बैंकिङ, पेमेन्ट्स एन्ड लेन्डिङ’ भन्ने दृष्टिकोण तथा ‘वन एप, मल्टिपल सर्भिसेज’ भन्ने मूल अवधारणालाई थप सुदृढ बनाएको उनले बताए । यसले नेपालभर सहकारी, लघुवित्त र वित्तीय क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्ने कम्पनीको प्रतिबद्धतालाई पनि मजबुत बनाएको उनले बताए ।
Leave a comment