हाइलाइट

सयपत्री साकोसको २० औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा मचामसी निर्वाचित

सयपत्री साकोसको २० औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा मचामसी निर्वाचित :: Sahakari Akhabar

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सातौं अधिवेशनसहितको सभाले नयाँ संचालक समितिको चयन गरेको छ ।

सभामा संस्थाका सचिव सत्यराम थुयाजूले आव ०८२ / ८३ को प्रगति प्रतिवेदन र आव ०८३ / ८४ को कार्यक्रम तथा कोषाध्यक्ष रामप्रसाद मचामसीले आव ०८२ / ८३ को आर्थिक प्रतिवेदन र आव ०८३ / ८४ को बजेट प्रस्तुत गरेका थिए ।

त्यसैगरी ऋण उपसमितिका संयोजक नारायणभक्त थुयाजूले आव ०८२ / ८३ को ऋण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बाबुकाजी माकजूले आव ०८२ / ८३ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी, लेखापरीक्षक रमेश थापा श्रेष्ठले तयार गरेको संस्थाको आव ०८२ / ८३ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो ।

त्यसैगरी, सभाबाट आ.व. २०८३ / ८४ को लेखापरीक्षण गर्न आर.टी.श्रेष्ठ एन्ड एसोसिएट्सका रमेश थापा श्रेष्ठलाई लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण, आ.व. ०८२ / ८३ को शेयर लाभांश कोषबाट सदस्यहरुलाई करसहित १५ प्रतिशतबराबर शेयर लाभांश वितरण गर्ने र संरक्षित पुँजी फिर्ता कोषबाट नियमानुसार रकम वितरण गर्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मत पारित गरेको छ ।

सभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदनअनुसार आव ०८२ / ८३ मा संस्थाको कुल सम्पति २८ करोड ८८ लाख ७५ हजार ५२१ रुपैंयाँ, संस्थाको शेयर पुँजी २ करोड ८ लाख ५३ हजार ७०० रुपैयाँ, जगेडा तथा अन्य कोषहरु ६ करोड ६५ लाख ३३ हजार ९३९ रुपैंयाँ बचत १९ करोड ९३ लाख ८५ हजार ५६३ रुपैंयाँ पुगेको जनाइएको छ । यसैगरी, सदस्यहरुलाई प्रवाह गरेको ऋण २४ करोड ३१ लाख २४ हजार ४९० रुपैयाँ रहेको छ भने उक्त आवमा संस्थाले ९६ लाख ४४ हजार १११ रुपेंयाँ खुद बचत गरेको जनाएको छ ।

नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन

सभाबाट रामप्रसाद मचामसीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । सञ्चालक समितिको उपाध्यक्षमा नारायणभक्त थुयाजू, सचिवमा रविन्द्र न्हेम्हाफुकी, कोषाध्यक्षमा रविन बासुकला निर्वाचित भएका छन् । यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा हरिगोपाल बासुकला, रामकेशरी न्हेम्हाफुकी, जयराम छुकाँ, न्हुछेबहादुर कासिछ्वा र राजु बनमाला निर्वाचित भएका छन् ।

सभाबाट राजाराम छुकाँको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको छ । समितिको सदस्यहरुमा राजकुमार न्हेम्हाफुकी र रामप्रसाद न्हेम्हाफुकी निर्वाचित भएको निर्वाचन उपसमितिका संयोजक राजेन्द्रकुमार साखकर्मीले जानकारी दिए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000