हाइलाइट

जनहितकारी साकोसका कर्मचारीलाई बैंकिङ कसुर तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम

जनहितकारी साकोसका कर्मचारीलाई बैंकिङ कसुर तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । वीरेन्द्रनगर सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले बैंकिङ कसुर तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजनामा कार्तिक १४ गते शनिबार एकदिने बैंकिङ कसुर तथा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी सहायक निरीक्षक सरोज थापा र प्रहरी सहायक हवल्दार सर्जन श्रीषले सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साइबर अपराध तथा विद्युतीय माध्यमको दुरुपयोगबाट उत्पन्न हुन सक्ने कानुनी जोखिमसम्बन्धी सचेतनामूलक भिडियोमार्फत सम्बन्धित व्यक्तिको अनुमति बिना फोटो, भिडियो वा अन्य व्यक्तिगत सामग्री प्रयोग तथा सार्वजनिक गर्दा कानुनी कारबाही, जरिवाना र सजाय हुन सक्ने विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रहरी सहायक निरीक्षक सरोज थापाले अपराधको परिचय, बैंकिङ कसुरको प्रकृति तथा यससम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी गराएका थिए । उनले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित आपराधिक कार्य वा अनियमितता गरी आर्थिक प्रणालीमा धोका, बेइमानी तथा गैरकानुनी लाभ लिन खोज्ने कार्य बैंकिङ कसुरअन्तर्गत पर्ने बताए ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा उल्लेखित व्यवस्थाबारे जानकारी दिँदै जालसाजी चेक, कागजातमा किर्ते, अनधिकृत रूपमा रकम निकासा, बैंकिङ प्रणालीमा ह्याकिङ वा छेडछाड तथा नक्कली खाता खोल्नेजस्ता कार्यहरू बैंकिङ कसुरमा पर्ने जानकारी गराए ।

त्यसैगरी, उनले बैंकिङ कसुर भएमा अपनाउनुपर्ने कानुनी प्रक्रिया, जाहेरी दिने अवधि तथा हदम्याद, उजुरी गर्ने निकाय र कानुनी कारबाहीका चरणहरूबारे पनि जानकारी गराए । पीडितले प्रहरी कार्यालय, नेपाल राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा उजुरी दिन सक्ने र प्रचलित कानुनी प्रक्रियाअनुसार सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दायर हुनसक्ने उनले बताए । त्यसैगरी कार्यक्रममा विद्युतीय अपराध सम्बन्धी विषयमा जानकारी दिँदै कम्प्युटर तथा इन्टरनेटको दुरुपयोग गरी गैरकानुनी रूपमा गरिने कार्य साइबर अपराध भएको बताए ।

विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कम्प्युटरको धनी वा अधिकारप्राप्त व्यक्तिको अनुमति बिना कम्प्युटर प्रयोग गर्ने, त्यहाँ रहेका सूचना नष्ट गर्ने वा अनधिकृत रूपमा परिवर्तन गर्ने तथा विद्युतीय स्वरूपमा गैरकानुनी सामग्री प्रकाशन गर्ने कार्यमा हुन सक्ने कानुनी सजाय तथा जरिवानाबारे उनले जानकारी गराएका थिए ।

नेपालमा पछिल्लो समय देखिँदै आएका विभिन्न साइबर अपराधहरूका विषयमा जानकारी गराइएको थियो । सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सूचना तथा विवरणको सुरक्षा, शंकास्पद लिंक तथा इमेलबाट बच्ने उपाय, बलियो पासवर्डको प्रयोग र डिजिटल माध्यमबाट हुने ठगीबाट सुरक्षित रहने तरिकाबारे समेत विस्तृत रूपमा प्रकाश पारिएको थियो ।

उक्त सचेतना कार्यक्रमले संस्थाका कर्मचारीहरूमा बैंकिङ कसुर तथा साइबर अपराधसम्बन्धी कानुनी ज्ञान अभिवृद्धि गर्नुका साथै दैनिक कार्यसम्पादनमा सूचना प्रविधिको सुरक्षित प्रयोग, व्यक्तिगत तथा संस्थागत तथ्याङ्कको संरक्षण र सम्भावित डिजिटल जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास संस्थाको छ ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000