काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यक्षेत्रमा रहेका १ हजार २४५ सहकारीले नविकरण नगरी सम्पर्क बाहिर रहेका छन् । महानगरपालिकाको कार्यक्षेत्रमा रहेका एक हजार ९१२ सहकारी संस्थामध्ये १ हजार २४५ सहकारीले नविकरण नगरेको पाइएको हो ।
आर्थिक वर्ष २०८२ / ८३मा महानगरपालिकामा ६६७ वटा मात्र संस्था नवीकरण भएको जनाइएको छ । पालिकाको कार्यक्षेत्रका १० हजार २३४ बचतकर्ताले आठ अर्ब १९ करोड ५८ लाख रुपैयाँभन्दा बढी बचत फिर्ताको माग गर्दै उजुरी दिएको महानगरको सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेले जनाए ।
उनले बचतकर्ताको रकम जोखिममा परेपछि ९१५ सहकारीविरुद्ध प्रहरीलाई पत्राचार गरिएको र १८७ संस्थालाई कारबाहीका लागि सिफारिस गरिएको जनाए । विभागले १०३ सहकारीका एक हजार ७१२ ऋणीलाई एसएमएस र पत्राचारमार्फत ऋण भुक्तानीमा सहजीकरण गरेको, ५८ सहकारीमा बचतकर्ता र व्यवस्थापनबीच मेलमिलाप गराएको तथा ४० संस्थाको सघन अनुगमन गरेको जनाएको छ।
अनुगमनका क्रममा वार्षिक साधारणसभा नगर्ने, लेखापरीक्षण नगर्ने र नातेदारमा लगानी गर्ने संस्थालाई सुधारका लागि निर्देशन दिइएको जनाइएको छ । महानगरले गैर नेपाली नागरिकलाई सहकारी सदस्य बनाएर बचत सङ्कलन गर्ने कार्य रोक्न सार्वजनिक सूचना जारी गरेको, यस्ता बचतकर्ताबाट सहकारीहरूमा करिब ४४ करोड रुपैयाँ सङ्कलित रहेको अनुमान गरेको छ।
व्यक्तिगत रुपमा ६ करोड रुपियाँसम्म जम्मा गरेको पाइएको छ । सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका लागि विभागले सहकारी संस्थामाथिको नियमनसँगै ऋणीहरुलाई ऋण बुझाउन एसएमएस र पत्राचारमार्फत सहजीकरण गर्न थालेको जनाएको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले बचतकर्ताको सम्पत्ति सुरक्षाका लागि उजुरी पर्खिनेभन्दा सम्भावित समस्या पहिचान गरी कानुनी, प्रशासनिक र व्यावहारिक उपाय अवलम्बन गर्न निर्देशन दिएको बताइएको छ।
Leave a comment