हाइलाइट

बागमती प्रदेशका ४२ जना बचतकर्तालाई १७ लाख रुपैयाँ फिर्ता

बागमती प्रदेशका ४२ जना बचतकर्तालाई १७ लाख रुपैयाँ फिर्ता :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज समस्याग्रत ५ सहकारीका ४२ जना बचतकर्तालाई १७ लाख रुपैयाँ फिर्तागरी बचत फिर्ताको शुभारम्भ गरेको छ । समितिले आजबाट १० हजारदेखि १ लाखसम्म बचत फिर्ता प्रक्रिया सुरु गरेको हो ।

आज सुमेरु बचत तथा ऋण सहकारी संस्थाकी सदस्य तिर्थमाया राईलाई पहिलो चेक हस्तान्तरण गरी बचत फिर्ता शुभारम्भ गरेको छ । राईले सुमेरु सहकारी संस्थामा बचत गरेको ४८ हजार रुपैयाँ प्राप्त गरेकी छन् । कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेश सरकारका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले राईलाई चेक हस्तान्तरण गरेका थिए ।

सहकारीमा राखेको बचतफिर्ता पाएसँगै राईले सरकारलाई धन्यवाद दिँदै खुशी व्यक्त गरिन् ।  दर्शन सहकारीका बचतकर्तालाई १० हजार, सुमेरु सहकारीका बचतकर्तालाई ५० हजार, नेशनल नमोबुद्ध सहकारीका बचतकर्तालाई १ लाख, लालीगुँरास सहकारीका बचतकर्तालाई ५० हजार र सिभिल सहकारी संस्थाका बचतकर्तालाई १० हजारका दरले रकम फिर्ता गरिएको छ।

दर्शन सहकारीका १६२ जना, सुमेरु सहकारीका ९७५, नेशनल नमोबुद्ध सहकारीका ३३१, लालीगुँरास सहकारीका २८७ र सिभिल सहकारीका ११ जना गरी १ हजार ७६६ जनालाई समितिले ४ करोड १५ लाखको हारहारीमा बचत फिर्ता गर्ने भएको छ।

समस्याग्रस्त समितिमा हालसम्म ५ सहकारी संस्थाका १४ हजार ६४  सदस्यले २२ अर्ब ३८ करोड बचत फिर्ताको मागदावी गरेका छन् । ती सहकारीमा ५१ हजार सदस्य आवद्ध रहेको र अझै ठुलो संख्यामा मागदावी प्राप्त हुनबाँकी रहेको समितिले जनाएको छ । ती सहकारीले सदस्यहरुको ३१ अर्ब ६ करोड बचतफिर्ता गर्नुपर्ने देखिएको छ।

समितिले हालसम्म ९ करोड ५४ लाख रकम समस्याग्रस्त सहकारीका ऋणीहरुबाट असुल गरेको छ। समितिले यस अघि जेष्ठ सदस्य र विरामी बचतकर्ताहरुलाई ५६ लाख ५१ हजार बचत फिर्ता गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि बानियाँले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई क्रमशः बचत फिर्ता गर्दैजाने बताए ।

सहकारीबाट ऋण लिएर फिर्ता गर्न आलटाल गर्ने ऋणी सदस्यहरुलाई सार्वजनिक सुविधाबाट बञ्चित गर्ने भन्दै छोरा नाति अध्ययनको लागि विदेश जानसमेत रोक लगाउने उल्लेख गरे । ऋणीको समस्या सुन्न र ऋण कसरी तिर्ने भन्ने विषयमा सहजीरकण गर्न सरकार तयार रहेको भन्दै उनले ऋण तिर्न आलटाल गरे जायजेथाबाट समेत ऋण असुल गर्ने प्रष्ट पारे ।

सरकार जनतालाई न्याय दिन कठोर हुनसक्ने तर निर्दयी भने नहुने बताए । राज्यले इजाजत दिएका सहकारीले नियमन र अनुगमन प्रभावकारी नभएको कारण बचतकर्ताको बचत समस्यामा परेको उनले स्वीकार गरे। सरकारले अब सहकारीको प्रभावकारी नियमन गर्ने भन्दै बानियाँले पबित्र भावनाले संस्था सञ्चालन गरेको भए समस्या नआउने जीकिर गरे ।

अहिले पनि कृषि, महिला, बहुउद्देश्यीय र बचत तथा ऋण सहकारी पनि राम्रोसँग सञ्चालन भएको र समुदायको आर्थिक सामाजिक रुपान्तरण गरिराखेको उनको भनाई छ । कार्यक्रममा बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री विनु पौडेल रायमाझीले सरकार सहकारीका समस्या समाधान गर्न लागि परेको बताइन् ।

उनले सुरुमा साना बचतकर्ताको बचत फिर्ता गर्दै क्रमशः ठुला बचतकर्ताको समेत बचत फिर्ता गर्दै जाने उल्लेख गरिन् । सुरुमा १० हजारदेखि १ लाख रकम फिर्ता गर्न थालेको र यसले सदस्यहरुलाई केही राहत पुग्ने उनले विश्वास  व्यक्त गरिन् ।



Leave a comment