काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १० वटा समस्याग्रस्त सहकारी संस्थाका सदस्यलाइ २ करोड ६३ लाख ९० हजार बचतफिर्ता गरेको छ । समितिले असार १५ गतेसम्म उक्त सहकारीका १ हजार ७५४ बचतकर्तालाई रकमफिर्ता गरेको हो।
समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई बुझाएको प्रगति विवरणअनुसार सहकारीका ऋणीहरूसँग असुल गरिएको रकमबाट बचतकर्तालाई फिर्ता गरिएको जनाइउको छ । बचत फिर्तागर्दा प्रत्येक मागदाबीमध्ये १० हजार रुपैयाँसम्म उपलब्ध गराइएको उल्लेख छ।
सबैभन्दा धेरै रकम तुलसी बहुमुखी सहकारी संस्थाका १५८ बचतकर्तालाई २ करोड ५३ हजार फिर्ता गरिएको छ । त्यसपछि शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका ८६९ बचतकर्ताले ३२ लाख ६६ हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रगति विवरणअनुसार कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ्स एण्ड क्रेडिट, पशुपति सेभिङ्स एण्ड क्रेडिट, नागरिक कल्याण बहुउद्देश्यीय, ओरेण्टल, गोरखा सेभिङ्स एण्ड क्रेडिट, श्री लालिगुराँस बहुउद्देश्यीय तथा हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई पनि बचत फिर्ता गरिएको छ।
समितिका अनुसार त्यस अवधिमा १४१ बचतकर्तालाई १ करोड ७९ लाख ५७ हजार बचत मिलान गरिएको छ भने १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ऋण असुली गरिएको जनाइएको छ । समस्याग्रस्त सहकारीबाट असुल भएको रकम क्रमशः बचतकर्तालाई फिर्तागर्ने प्रक्रिया निरन्तर जारी रहेको समितिले जनाएको छ।
Leave a comment