हाइलाइट

महिलाको जीवनस्तर उकास्न कृषि सहकारी र उद्यमशीलतालाई जोड्नुपर्नेमा सरोकारवालाको जोड

महिलाको जीवनस्तर उकास्न कृषि सहकारी र उद्यमशीलतालाई जोड्नुपर्नेमा सरोकारवालाको जोड :: Sahakari Akhabar

काठमाडौं । महिलाहरूको जीवनस्तर उकास्न कृषि सहकारी र उद्यमशीलतालाई जोड्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा भएको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनका अवसरमा आयोजित ‘कृषि उत्पादन र खाद्य पारिस्थितिक प्रणालीमा महिला सहकारीको भूमिकाः अहिले र भविष्य’ विषयक प्यानल छलफलमा वक्ताहरूले नेपाली महिलाहरूको जीवनस्तर उकास्न कृषि सहकारी र उद्यमशीलतालाई जोड्नुपर्नेमा जोड दिएका छन् ।

महिला उद्यमी सीता थापा भट्टराईले आफ्नो व्यक्तिगत जीवनको सङ्घर्षपूर्ण कथा सुनाउँदै, अर्गानिक खेती र ‘जमराको जुस’ ले आफूलाई नयाँ जीवन दिएको बताइन् । उनले अर्गानिक उत्पादन, श्री अन्न’ वा उपचारात्मक तत्व भएको खानेकुराको रूपमा व्याख्या गर्दै, यसले क्यान्सर जस्ता रोगसँग लड्ने क्षमता बढाउने उल्लेख गरिन् । उनले अर्गानिक खेतीमा इमानदारीको ठुलो महत्व रहेको र यसका लागि सरकारले प्रमाणीकरण र प्रोत्साहनमा सहयोग गर्नुपर्ने आवश्यकता औल्याइन् ।

मुना कृषि लिमिटेडकी नेपालकी अध्यक्ष रिता वस्ताकोटीले नेपालको ग्रामीण क्षेत्रका झन्डै ६० देखि ८० प्रतिशत महिलाहरू कृषिमा संलग्न रहेको तथ्याङ्क प्रस्तुत गर्दै कम्पनीमा आउने उपजहरूमध्ये ६० प्रतिशत महिला सहकारीहरूबाटै आउने गरेको जानकारी दिइन् ।

उनले महिलाहरूको ज्ञान र सीपमा आधारित मस्यौरा, गुन्द्रुक र अचार जस्ता उत्पादनलाई बजारसँग जोडेर उनीहरूको आर्थिक अवस्था सुधार गर्ने लक्ष्य रहेको जानकारी दिइन् । तर, ढुवानी खर्च बढी हुँदा अन्तर्राष्ट्रिय र कालीमाटी जस्ता ठुला बजारसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले बचत तथा ऋण सहकारीको ठुलो हिस्सा कृषि र दुग्ध उत्पादनमा केन्द्रित रहेको जानकारी दिए । नेफ्स्कूनले आफ्नो लगानीको २० देखि ३५ प्रतिशतसम्म कृषि क्षेत्रलाई प्राथमिकता दिएको भए पनि कानुनी प्रावधानका कारण संघले प्रत्यक्ष रूपमा व्यवसाय गर्न नसक्ने स्पष्ट पारे । यस्तै ढकालले सहकारीहरूले उत्पादन बढाउन सक्ने तर उत्पादित वस्तुको भण्डारण र बजार सुनिश्चितताका लागि ’कोशेली घर’ जस्ता संरचनाको आवश्यकता रहेको औल्याए ।

खाद्य वैज्ञानिक होम न्यौपानेले उद्योगहरूमा ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग हुने भए पनि सहकारीबाट सिधै आउने सामग्रीको हिस्सा ५ प्रतिशत मात्र रहेको जानकारी दिए । उनले कोदो, फापर र चिनो जस्ता रैथाने बालीलाई औद्योगिक स्तरमा प्रशोधन गर्ने मिलिङ युनिटको अभावका कारण यी वस्तुहरूको व्यावसायिकरण हुन नसकेको तर्क गरे । कोदोको बोक्रा ननिकाली पिठो बनाउँदा उत्पादनको ‘सेल्फ लाइफ’ कम हुने प्राविधिक समस्या रहेकोले सरकारले प्रविधि र पूर्वाधारमा लगानी गर्नुपर्ने सुझाव दिए ।

संयुक्त राष्ट्रसंघिय खाद्य तथा कृषि संगठन (एफएओ) का कार्यक्रम विशेषज्ञ महेश बडालले नेपालको आहार प्रणाली मुख्यतया धान, मकै र गहुँमा मात्र सीमित रहेकोले ‘क्रप डाइभर्सिफिकेसन’ (बाली विविधीकरण) आवश्यक रहेको बताए । एफएओले नेपाल सरकारसँग मिलेर कोदो, फापर र लट्टे जस्ता ‘फ्युचर स्मार्ट क्रप्स’ प्रवर्धन गर्न रणनीति बनाइरहेको उनले जानकारी दिए ।

भान्सामा के पाक्ने भन्ने निर्णय महिलाकै हातमा हुने भएकाले सहकारीमार्फत महिलाहरूलाई पोषण र खाद्य सुरक्षाबारे शिक्षा दिनु प्रभावकारी हुने उनको भनाइ थियो । छलफलमा वक्ताहरूले उत्पादन, प्रशोधन र बजारीकरणको चक्रमा महिला सहकारीहरूलाई सशक्त बनाउन सके मात्र दिगो कृषि र आर्थिक समृद्धि हासिल हुने कुरामा ऐक्यबद्धता जनाएका छन् ।



Leave a comment