हाइलाइट

असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले असार ६ र ७ गते अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन  गर्ने भएको छ । महासंघले आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन –२०२६ गर्ने भएको हो ।

“नेतृत्वमा नारीः समृद्धिमा सहकारी” भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनले सहकारी क्षेत्रमा आबद्ध महिला किसान तथा महिला सहकारीकर्मीहरूको योगदानलाई उजागर गर्दै महिला नेतृत्व, उद्यमशीलता र सशक्तीकरणलाई प्रवर्धन गर्ने लक्ष्य राखेको जनाइएको छ ।

सहकारी क्षेत्रमा लैङ्गिक–उत्तरदायी नीति तथा अभ्यासलाई सुदृढ गर्नु, महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणमा टेवा पुर्याउनु तथा नेतृत्व तहमा महिलाको सहभागिता बढाउनु सम्मेलनको उद्देश्य रहेको महासंघका महाप्रबन्धक डा.बाबु काजी थापाले बताए ।

सम्मेलनले विश्वका विभिन्न देशका सहकारी क्षेत्रका सफल अभ्यासहरूको आदानप्रदान मार्फत नवीन सोच र रणनीति विकास गर्न तथा महिला–पुरुषको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहललाई समेत प्रोत्साहन गर्नेछ, उनले भने ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा र ग्रामीण विकासमा महिलाको भूमिकालाई विशेष प्राथमिकताका साथ उठाउने जनाइएको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारी अभियन्ता, नीति निर्माता, सरकारी प्रतिनिधि, विकास साझेदार, अन्तर्राष्ट्रिय सहकारी संस्थाका प्रतिनिधि, अनुसन्धानकर्ता तथा महिला उद्यमीहरूको सहभागिता रहने जनाइएको छ ।

कार्यक्रममा महिला सशक्तीकरण, नेतृत्व विकास, खाद्य सुरक्षा, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, उद्यमशीलता विकास, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनासम्बन्धी विषयमा प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ । साथै महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारीहरूको अवलोकन भ्रमण पनि समावेश गरिएको बताइएको छ ।

सम्मेलनमा सहभागिताका लागि गुगल फारममार्फत दर्तागर्न सकिने व्यवस्था गरिएको छ, भने प्रति सहभागी पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको महासंघले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुख्य सहकार्यमा आयोजना हुने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त, आइएलओ नेपाल र हेफर इन्टरनेशनल सह–आयोजकका रूपमा रहनेछन्।

विभिन्न केन्द्रीय तथा जिल्ला सहकारी संघ, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाहरूले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्ने जनाइएको छ । सम्मेलनको समापनमा ‘काठमाडौं घोषणा–२०२६’ जारी गरिने र उक्त घोषणापत्रले महिला नेतृत्व विकास, उद्यमशीलता प्रवद्र्धन तथा सहकारी क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारमा सकारात्मक योगदान र्पुयाउने अपेक्षा सम्मेलनको छ।



Leave a comment