हाइलाइट

साकोस शिखर गोष्ठीको पहिलो दिन

साकोस शिखर गोष्ठीको पहिलो दिन :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना रहेको साकोस शिखर गोष्ठी बिहिबारबाट सुरु भएको छ ।

अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा आयोजना गरेकोे गोष्ठीको ‘सुदृढ अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन’ मूल थिम रहेको छ । दुईदिने साकोस शिखर गोष्ठी शुक्रबारसम्म सञ्चालन हुनेछ ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा भएको गोष्ठीको उद्घघाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्राडा कुमार इङ्नामले गरेका थिए ।

मन्त्री इङनामले सहकारीलाई  स्वःनियमनमा सञ्चालन हुने संस्था भनेर जनताको बचत दुरुपयोग गर्ने कस्तो खालको स्वःनियमन हो भनेर प्रश्न गरे । आफु धनी र गरिब जनताको बचत लुट्नको लागि स्वःनियमनको कुरा गर्नु गलत भएको उनको भनाई छ ।

सदस्यको बचत दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति कुनै पनि समयमा राज्यले जफत गरी जनतालाई फिर्ता गर्ने उनले बताए । उनले भने, ‘तपाईहरुले सुरक्षित राख्न खोजेको पनि तापाईहरुको साखा सन्तानबाट भए पनि जनताको बचत फिर्ता गराइन्छ, यसमा ढुक्क हुनु्स् ।’ सहकारी ऐन संशोधन मार्फत थुप्रै व्यवस्था भएको भन्दै उनले अब यो क्षेत्र व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

मुलुकको मुख्य स्रोत रेमिटान्स मात्र भएको भन्दै सहकारी मार्फत उद्यमशीलता विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

नियामक निकायले सहकारी संस्थाको प्रभावकारी नियमन गर्न आवश्यक रहेको भन्दै उनले आफ्नो स्वार्थ जोडिने नियमन प्रभावकारी नहुने जनाए । सहकारीको बचत दुरुपयोग गर्ने जोकोहीलाई पनि कानुनले नछडाने उनको भनाई छ ।

नागरिकलाई विदेशमा अरुको गुलामीमा पठाउनु गलत भएको भन्दै उनले मुलुकमा जस्तोसुकै व्यवसाय गर्न सकिने बताए । सहकारी पीडितहरु सडकमा रोएर बसेको भन्दै मन्त्रीले इङनामले सहकारीको भावना त्यहि हो भनेर प्रश्न गरे ।

सहकारी खोलेर सञ्चालकहरु मात्र धनी हुने की सदस्यहरुलाई समृद्धको बाटोमा लैजाने भनेर प्रश्न उनको थियो । सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउन संस्थाहरुले योजना बनाएर काम गर्न उनको निर्देशन थियो ।

त्यसैगरी सचिव मदन भुजेलले सहकारी संस्थाहरु वित्तीय अपचलन, कानूनले स्वीकृत नदिएका जोखिमका क्षेत्रहरुमा लगानी, सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीको कमजोर व्यवस्थापन लगायतका कारणले चरम समस्यामा परेको बताए ।

उनले सहकारी नियमनको भूमिका ७६१ वटै सरकारमा बाँडफाँड हुँदा नियमनमा ह्रास आएको पनि बताए । नियमनको भूमिका बाँडिएपनि नियमन क्षमता विकास नभएको उनको भनाइ थियो ।

सहकारीहरुको नियमन अनुगमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन सहकारी ऐन २०७४ मा संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको भन्दै उनले प्राधिकरणले आफ्नो कार्यादेश बमोजिम काम अघि बढाएको जनाए ।

उनले सहकारी अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्त परिपालना गर्दै स्वतन्त्र, स्वायत्त र स्वनियमनका आधारमा सञ्चालन हुन्छन भन्ने मान्यताकै आधारमा नेपालमा पनि सहकारी कानून तर्जुमा भएको बताए ।

सचिव भुजेलले भने, सहकारीमा राज्यको कठोर नियन्त्रण नहुने गरी सहकारी ऐन २०७४ मा समेत प्रावधानहरु समेटिएको छ । उक्त ऐनमा पनि संघहरुले आफ्ना सदस्य संस्थाहरुको अनुगमन गरी कैफियत देखिएमा नियामकलाई सोको जानकारी गराउनुपर्ने विषय समेटिएको छ ।

तसर्थ सहकारी संस्थाहरुले सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तअनुरुप सञ्चालन गर्न गराउन सहकारी अभियानको पनि महत्वपूर्ण भूमिका रहन्छ ।’

नेफ्स्कूनका अध्यक्ष ढकालले साकोस गोष्ठीले सहकारी संघ संस्थालाई सुशासनमा सञ्चालन गर्न सघाउने बताए । उनले हामीले नेतृत्व गरेको साकोस अभियान स्वःनियमनका साथै ऐन र नियमको परिधिमा रहेर सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले सहकारी भित्रको धमिलो वातावरणलाई चिर्न नसक्नु अभियानको लागि दुःखद भएको उल्लेख गरे । सहकारी अभियानमा समस्या रहेको स्वीकार गर्दै उनले सुधारको लागि राष्ट्र बैंक र सहकारी नियमन प्राधिकरणले काम थालेको जनाए ।

सहकारी क्षेत्रको समस्या क्रमश समाधान हुने उनको विश्वास छ । नेफ्स्कूनसँग आवद्ध भएका संघ संस्थाहरु प्राधिकरणले सुरु गरेको दर्ता÷अभिलेखीकरणमा आवद्ध हुन थालेको भन्दै उनले साकोसहरुलाई व्यवस्थित गर्ने काममा नेफ्स्कून क्रियशिल रहेको बताए ।

साकोस अभियानलाई बलियो बनाउन सबै पक्ष जिमेवार हुनुपर्नेमा उनको जोड छ । गोष्ठीको पहिलो दिन चारवटा सामूहिक सत्र भएको छ ।

पहिलो दिन नियामकीय मार्गचित्रः साकोसको दिगो संस्थागत रुपान्तरणको चुनौति र अवसर, सम्पती शुद्धीकरण निवारण सम्बन्धी कानुनी व्यवस्था र परिपालना, Shifting leadership for rekindling cooperative values and principles, वित्तीय सहकारीको स्वःनियामकीय अभ्यासः चुनौती तथा आगामी मार्गचित्र विश्वव्यापी दृष्टिकोण तथा नेपालमा यसको सम्भावना विषयमा प्रस्तुती तथा छलफल सम्पन्न भएको छ ।

आज शुक्रबार आधादिन संचालन हुने गोष्ठीमा वित्तीय सहकारी संस्थाहरूका लागि सञ्चालन मानकीकरण ढाँचा र वित्तीय सहकारीमा स्रोत परिचालनः वर्तमान प्रवृत्ति र आगामी मार्गदिशा विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् भने त्यसपछि संघको ३४ औं बार्षिक साधारण सभा हुने जनाइएको छ ।



Leave a comment