काठमाडौं । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा सवा २६ करोड बढी सदस्यको लागि राहत तथा सुविधामा खर्च गरेको छ । संस्थाले आर्थिक वर्ष ०८१ / ०८२ मा २६ करोड १७ लाख ६३ हजार १६८ रुपैयाँ सदस्यहरुको सामाजिक सुरक्षा तथा स्वास्थ्य सुविधा कार्यक्रममा खर्च गरेको हो ।
संस्थाले यस अवधिमा संस्थाका ६८५ जना सदस्यलाई उक्त सुविधा प्रदान गरेको जनाएको छ । संस्थाले उक्त आवमा ३२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा गर्न सफल भएको जनाएको छ । संस्थाले चालू आर्थिक वर्षमा ४२ करोड नाफा गर्ने प्रक्षेपण गरेको अध्यक्ष हरिबहादुर राजवंशीले जनाएका छन् ।
संस्थामा हाल शेयर पुँजी १ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ रहेको छ । जगेडा कोष १ अर्ब ३२ करोड ६८ लाख रहेको छ । त्यस्तै बचत १४ अर्ब १५ करोड ७६ लाख रहेको छ भने लगानीमा रहेको ऋण ११ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको जनाइएको छ ।
०८२ असार मसान्तसम्मको संस्थाको वासलास १८ अर्ब ५६ करोड ५८ लाख रहेको छ । संस्थामा हाल एक लाख ९२ हजार दुई सय ४० जना शेयर सदस्य रहेका छन् । कोशी प्रदेशका छ जिल्लामा ८० वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिरहेको सहारा नेपाल साकोसको वित्तीय अवस्था अत्यन्त मजबुत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले बताएका छन् ।
उनले भने, ‘सहकारी प्रतिको नकारात्मक धारणाका बीच पनि सहारा साकोसले हासिल गरेको सफलताले मुलुकको सहकारी अभियानको विरासत जोगाउनमा टेवा पुगेको छ ।’ प्रमुख कार्यकारी अधिकृत गिरीका अनुसार संस्थाले जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रतिव्यक्ति बचत ३ लाखभन्दा कम करिब ९८ प्रतिशत र २५ लाखसम्मको ऋण पनि करिब ९५ प्रतिशत रहेको छ।
संस्थाले आफ्नो वित्तीय अवस्थालाई मजबुत बनाउने सोच अनुरुप ०८५ सम्ममा २५ अर्बको वासलास बनाउने लक्ष्य समेत तय गरेको छ । संस्थाले ०८३ असार मसान्तभित्रमा दुई लाख २५ हजार शेयर सदस्य पुर्याउने २० अर्बको वासलात बनाउने र ४२ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ ।
संस्थाले आर्थिक वर्ष ०८१ / ०८२ मा विभिन्न शिर्षकमा ११ करोड ३६ लाख ५५ हजार दुई ८७ रुपैयाँ कर तिरेर देश विकासमा भूमिका खेलेको जनाइएको छ । संस्थाको २९औं वार्षिक साधारण सभा अन्तर्गत मंगलबारबाट इकाइ साधारण सभा सुरु भएका छन् । संस्थाले २९औं वार्षिक साधारणसभाको अन्तिम माइन्युट प्रमाणित भेला पुस २१ गते सोमबार गर्ने जनाएको छ ।
प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इनरुवाको निर्देशन बमोजिम ७ वटा एकाई अन्तरगत ८६ स्थानमा उपएकाइ भेला पौष १ गते देखि १२ गते सम्म सम्पन्न गर्दै प्रतिनिधिमुलक ढंगबाट सदस्यहरुलाई अन्तिम माइन्युट प्रमाणिकरण सभामा सहभागिता गराईने जनाइएको छ ।
सहाराको संचालक समिति र लेखा सुपरिबेक्षण समितिको आगामी ४ बर्षे कार्यकालको लागि यसै साधारण सभाले २०८३ जेष्ठ १४ गते देखि निर्वाचन प्रकृया शुरुवात गर्ने निर्णय गर्ने बताइएको छ । संस्थाले आर्थिक वर्ष ०८२ / ०८३ का लागि ३१ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको जनाइएको छ ।
Leave a comment