काठमाडौं । गण्डकी प्रदेश मातहत रहेका गोरखा जिल्लाका बचत, दुग्ध र कृषि संघ निष्कृय रहेका छन् भने ६ वटा सहकारी खारेजिमा परेका छन् । गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा (३) अनुसार लगातार २ वर्ष कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका सहकारीलाई खारेज गर्ने व्यवस्था छ ।
सोही अनुरुप लामो समय देखि कारोबार नगरेका ती सहकारीलाई खारेज गरिएको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले जनाएको छ । ‘लामो समय देखि कारोबार नगरको सहकारी संघ संस्थालाई खारेज गर्न उदेश्यले ऐन अनुसार हामीले ३५ दिने सूचना जारी गरेका थियौं,’ सहकारी रजिष्ट्रार भेषराज रिजालले भने,‘त्यसपछि पनि सम्र्पकमा नआएका र लेखापरीक्षण प्रतिवेदनमा लिनुदिनु पर्ने नदेखिएका संस्थाको दर्ता खारेजी गरिएको छ।’
कार्यालयले गोरखा नगरपालिका–३ को गोरखा सूचना तथा संचार सहकारी, गोरखा नगरपालिका–४ को जनता सूचना तथा संचार सहकारी र भीमसेन थापा–१ को नागरिक बचत तथा ऋण सहकारी खारेजी भएको हो ।
यसैगरी गोरखा नगरपालिका–५ को सत्यनारायण बचत तथा ऋण सहकारी, आरुघाट गापा ७ को सहयोगी कृषि सहकारी र अजिरकोट गापा ४ को सिम्जुङ ग्रामीण विद्युत सहकारीलाई पनि खारेजी गरेको कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लामा संचालित प्रदेश मातहतका १८ सहकारी संघसस्था निष्क्रिय (सम्पर्कमा नरहेको) कार्यालयले जनाएको छ ।
जिल्लामा प्रदेश मातहतका ४९ वटा सहकारी संचालनमा रहेकामा ३१ वटा मात्र अद्यावधिक रहेको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ । जिल्लाको आरुघाट गाउँपालिका–२ को भिम बहुउद्देश्यीय सहकारी, आरुघाट गाउँपालिका–४ को लार्के बचत तथा ऋण सहकारी, आरुघाट गापा–९ को मनास्लु दुग्ध उत्पादक सहकारी निष्क्रिय अवस्थामा रहेका सहकारी रजिष्ट्रार रिजालले जानकारी दिए ।
गण्डकी गाउँपालिका–७ को गोरखा दुग्ध उत्पादक सहकारी संघ, गोरखा नगरपालिका–१० को मनकामना बचत तथा ऋण सहकारी, गोरखा नगरपालिका–११ को पवित्रा बहुउद्देश्यीय सहकारी, गोरखा नगरपालिका–६ को गोरखा जनसेवा सहकारी निष्कृय रहेको जनाइएको छ ।
त्यसैगरी गोरखा जिल्ला बचत तथा ऋण संघ, कृषि सहकारी संघ, शहिद परिवार कल्याणकारी कृषि सहकारी पनि निष्क्रिय रहेको उनले बताए । यसैगरी गोरखा नगरपालिका–७ को देउराली सूचना तथा संचार सहकारी, धार्चे गापा–४ को लेकाली बचत तथा ऋण सहकारी, पालुङटार नपा–१ को दिपेश–राजु स्मृती कृषि सहकारी र भिमसेन थापा गापा–१ को कालिका सहकारी निष्क्रिय अवस्थामा रहेको रिजालले जानकारी दिए ।
शहिद लखन गापा–३ को माई मनकामना बचत तथा ऋण सहकारी, शहीद लखन गापा–९ को भूमि विकास बचत तथा ऋण सहकारी, सिरानचोक गापा–४ को नमुना कृषि उत्पादक सहकारी र सिरानचोक गापा–७ को लगनशिल धर्मावति कृषि सहकारी निष्क्रिय अवस्थामा रहेको सहकारी रजिष्ट्रार रिजालले जानकारी दिए । ‘यी सहकारीले पनि आफ्ना गतिबिधि गरेको देखिदैन यीनीहरु कार्यालयको सम्र्पकमा पनि छैनन्,’ सहकारी रजिष्ट्रार रिजालले भने,‘अब पनि संचालनमा आएनन् भने निष्क्रिय रहेका सबै सहकारी खारेज हुन्छन् ।’
Leave a comment