काठमाडौं । सहकारीलाई ब्यवसायिक कारोबार व्यक्तिगत खाताबाट नगराउन सरकारले निर्देशन दिएको छ । सहकारी विभागले निर्देशन जारी गर्दै ब्यवसायिक कारोबार व्यक्तिगत खाताबाट नगराउन निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ ले सहकारीलाई पनि वित्तीय संस्थाको रूपमा परिभाषित गरेकोले सहकारीले ब्यवसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न सहकारी विभागले निर्देशन दिएको छ । कानुनी प्रावधानहरूको कार्यान्वयन गर्दै सहकारी संस्थाहरूलाई आफ्नो कारोबार प्रणाली पारदर्शी राख्न र व्यक्तिगत खातामार्फत हुने गतिविधि रोक्न सरकार पक्षबाट कडाई गरिएको जनाएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम १० तथा आयकर ऐन, २०५८ को दफा ८१ ‘क’ को प्रावधानअनुसार सहकारी संस्थाहरूलाई व्यक्तिगत खातालाई व्यावसायिक कारोबारको माध्यम नबनाउन विभागले सूचना जारी गरेको हो ।
नियमावली १० का अनुसार, कुनै कानुनी व्यक्ति वा व्यवस्थापन इकाईले आफ्नो नाममा खोलिएको खाताबाहेक अन्य व्यक्तिगत खातामा व्यावसायिक कारोबारसम्बन्धी रकम लिने–दिने गरेमा वा व्यक्तिगत बचत खाता व्यावसायिक कारोबारका लागि प्रयोग गरिएको भेटिएमा, सहकारीसहितका वित्तीय संस्थाले तुरुन्तै वित्तीय जानकारी इकाई र आन्तरिक राजस्व विभागलाई प्रतिवेदन गर्नुपर्ने हुन्छ ।
त्यस्तै, आयकर ऐनको दफा ८१ ‘क’ ले व्यावसायिक कारोबारबाट प्राप्त नगद, चेक, क्युआर कोड वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट प्राप्त भुक्तानी व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।

Leave a comment