हाइलाइट

उदयदेव सहकारीको सम्पति तीन अर्ब नजिक पुग्यो

उदयदेव सहकारीको सम्पति तीन अर्ब नजिक पुग्यो :: Sahakari Akhabar

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा मुख्य कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाको सम्पति तीन अर्ब नजिक पुगेको छ । संस्थाले प्रकाशन गरेको साउन मसान्तको विवरण अनुसार संस्थाको कूल सम्पति २ अर्ब ८१ करोड ६ लाख २२ हजार पुगेको छ ।

संस्थाको असार मसान्तमा २ अर्ब ७१ करोड ९० लाख ५५ हजार ३५८ रुपैंयाँ रहेको थियो । संस्थामा २६ हजार २८६ जना सदस्य तथा ८ हजार २६४ जना ऋणी सदस्य रहेका छन् ।

संस्थामा २२ करोड ३२ लाख ६५ हजार ४०० रुपैंयाँ सेयर पूँजी तथा २१ करोड ७३ लाख २२ हजार ९१२ रुपैंया जगेडा कोष र अन्य कोषमा ३ करोड ८० लाख ८२ हजार ५४१ रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थामा २ अर्ब १ करोड ७२ लाख ८७ हजार ५५६ रुपैंयाँ बचत तथा १ अर्ब ६२ करोड ८९ लाख ९ हजार २५६ ऋण लगानीमा रहेको जनाइएको छ ।

संस्थाको संस्थागत पूँजी २२ करोड ८२ लाख ६१ हजार ५९५ रहेको छ भने संस्थामा ५३.५६ प्रतिशत तरलता, ८.१२ प्रतिशत संस्थागत पूँजीकोष र २३.२४ प्रतिशत प्राथमिक पूँजीकोष रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले जानकारी दिएका छन् ।

केही समय अघि बचत तथा ऋण लगानीमा ब्याजदर परिवर्तन पनि गरेको छ । संस्थाले बचत तर्फ मुद्धती बचत एक वर्ष अवधिमा प्रदान गर्दैआएको ७.५० लाई ७ प्रतिशत, मुद्धती बचत एक वर्ष मुनिकोमा ७ बाट ६.५० प्रतिशत र जेष्ट नागरिक तथा बाल बचत ७ बाट ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यसैगरी कर्जा तर्फ अनुत्पादक कर्जामा लिंदैआएको १४ बाट १३.५० प्रतिशत, लघु वित्त, ब्यापार ब्यवसाय कर्जा १२ प्रतिशत कायम गरेको छ भने नयाँ सरल उद्यमी कर्जा थप गरी ९.७५ प्रतिशत कायम गरेको प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिएका छन् । संस्थाका दैजी, झलारी, कृष्णपुर, बेलौरी, चाँदनी दोधारा, धनगढी, अत्तरिया, डढेल्धुरा र बैतडीमा सदस्य सेवाकेन्द्र रहेका छन् ।



Leave a comment