काठमाडौं । दोलखाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था ३३ वर्षमा प्रवेस गरेको छ । संस्था स्थापना दिवसको खुल्ला रक्तदान तथा सदस्य सम्मान कार्यक्रम गरेको हो ।
संस्थाले ३२ औं बर्ष पुरा गरी ३३ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३३ जना स्वयसेवी रक्तदाताले रक्तदान गरेका थिए । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, शेयर सदस्य तथा स्थानियवासीहरुले रक्तदान गरेको जनाइएको छ ।
रक्तदान कार्यक्रमबाट विरामीलाई अत्यावश्यक पर्ने रगतको मागलाई पूर्ति गर्न केहि मात्रामा भए पनि टेवा पुगेको संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमले जनाए । कार्यक्रममा बागमती प्रोस्कून, जिल्ला संघ तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको आथित्यता रहेको थियो । स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न विधामा सदस्यहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरेको छ ।
सदस्यहरुको हितको लागि स्थापना गरिएको संस्थाले स्थापनाको ३२ औं बर्ष सफलतापूर्वक पुरा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानले बताए । उनले सदस्य र समुदायलाई केन्द्रमा राखेर संस्थाले वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको बताए । आर्थिक मन्दी, नियमकिय परिवर्तन र मुलुकमा आएको वित्तीय चुनौतीको बाबजुद पनि संस्थाले असल अभ्यासको माध्यमबाट सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा निरन्तर क्रियशिल रहेको उल्लेख गरे ।
समुदायमा उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ सहकारी मुल्य, मान्यता र सिद्धान्तका साथै ऐन नियमको परिधिमा रहेर संस्था सञ्चालन गर्दै आएको सिईओ न्यौपानेले बताए । संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले क्युआर कोड, मोबाइल बैकिङ्ग तथा एटिएम सेवा प्रदान गर्दै आएको छ ।
त्यसका साथै संस्थाले सामाजिक उत्तरदाियत्व अन्तर्गत सामाजिक क्रियााकलाप, वित्तीय साक्षरता, सहकारी शिक्षा तथा नेतृत्व विकासको क्षेत्रमा समेत उल्लेख भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले अक्कुद्वारा सञ्चालन गरेको एक्सेस कार्यक्रममा सहभागी भएर एक्सेस ब्राण्ड समेत प्राप्त गरिसेको छ भने, जिल्ला बचत संघ, जिल्ला सहकारी संघ, सहकारी बैंक र नेफस्कूनबाट समेत विभिन्न समयमा पुरस्कृत भइसकेको छ ।
उद्यमशीलता मार्फत सेयर सदस्यहरुको जीवनस्तर माथि उकास्न लागि परेको उक्त संस्थाले वित्तीय पारदर्शिताका साथै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखको छ । संस्थामा गत असार मसान्तसम्म २२ हजार ९२४ जना सदस्य आवद्ध रहेका छन् ।
संस्थाको शेयर पुँजी ६ करोड ७७ लाख, ८८ हजार, जगेडा कोष ९ करोड १० लाख, कुल संस्थागत पुँजी ९ करोड १० लाख ८० हजार, बचत संकलन १ अर्ब १२ करोड ४९ लाख २१ हजार र ऋण लगानी ९७ करोड ४९ लाख २८ हजार तथा संस्थाको कुल सम्पत्ति १ अर्ब ४० करोड ६७ लाख ५४ हजार पुगेको छ ।
Leave a comment