१.सहकारी अभियानमा योे रोग महामारीका रुपमा बढेको छ, माला, खादा, मायाको चिनो र भ्रमण नगरे सहकारी नै होइन कि वा सहकारीको नेता नै भइदैन । कुनै पनि संघको कोही आउछ, तराइको गर्मिमा पनि उसलाई खादा वा गलबन्दि नलगाए उसको पनि खातिरदारी भएन, आतिथेय सरहकारीको पनि हैसियत राम्रो भएन । अतिथिले जतन गर्दैन भन्ने कुरा थाहा पाउदा पाउदै पनि कथित मायाको चिनो दिएको फोटो फेसबुकमा पोष्ट्याउनै पर्ने गजबको संस्कृति विकास भएको छ ।
त्यो चिनो न पाहुनाले घरमा उचित ठाउमा राख्छ, न त्यसको जतन हुन्छ भन्ने नै विश्वास हुन्छ । तर पनि मायाको चिनो दिने र लिने फेसबुकमा फोटा हाल्ने गज्जबको धन्दा चलेकैछ । हरेक अभियन्ताका नाउमा एकहजार चुना लाग्छ ।
२.भ्रमणका नाउमा सहकारीका हर्ताकर्ताहरुले सदस्यको पैसामा बर्षेनी रमाइलोमा दुरुपयोग गर्ने चलन बढेको छ । अवलोकन भ्रमण भन्दा बदनाम हुनेभएकाले सहकारीमा अचेल सिकाइ आदान प्रदान भन्ने थेगो चलेको छ । भ्रमणको नाउमा हुने दुरुपयोगमा सदस्यकोे विरोध वा सामाजिक बदनामलाई झुक्याउन सिकाइ आदान प्रदानको नामाकरण गदैै थरिथरिका सफारी चलिरहेको छ ।
यो अवस्था प्रारम्भिक सहकारीमा भन्दा जिल्ला स्तरिय संघमा चर्को छ । माला, खादा, उपहार र भ्रमण नगरे जिल्ला स्तरका संघहरु नै नहुने जस्तै भएको छ । संघका पदाधिकारी हरेक बर्ष असम्वन्धित ठाउमा सिकाइ आदान प्रदानका नाउमा मस्ति गरिरहेका छन् ।
३.प्रारम्भिक सहकारी संस्थाहरुले सदस्यहरुकै लागत सहभागितामा सदस्यहरुलाई देश दर्शन गराउनु राम्रै हो । सदस्यहरुले देशको भूगोल देख्न पाउछन । केहि नयांं देख्छन, संस्कृति र भूगोल देख्छन, राम्रै कुरा हो । तर त्यो पनि तीन चार सय शेयर सदस्य भएका संस्थाहरुले गरे ठिकै हो । हरेक ४ वा ५ बर्षमा पुरानो सदस्यलाई पालो पर्छ । तर हजारौको संख्यामा सदस्य भएका सहकारी संस्थाहरुले यस्तो भ्रमण गराउन सहज छैन ।
४.सदस्यहरुको पैसामा कथित सञ्चालकहरुको शयर, सफर, भ्रमण वा मनोरञ्जन आफैमा नीतिगत भ्रष्टाचार हो । सहकारी अवलोकनका नाउमा संस्थाको बजेटबाट हरेक बर्ष सञ्चालकहरु दार्जिलिङ, सिक्किम वा नेपालका विभिन्न धार्मिक स्थल वा पर्यटकीय स्थलको भ्रमण गरेर सदस्यहरुको रकम दुरुपयोग गर्न हामीलाई लाज लाग्दैन ।
अर्थहिन माला वा खादा लगाइदिएर वा माला थापेर ङिच्च दाँत देखाएको फोटो हाल्नु पौरख ठान्छौं । अझ मायाको चिनो नाउको जिन्सीको त कुरै फरक । यसले अपसंस्कृतिलाई बढाइ रहेको छ । तर सहकारीमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक विकासको कुरा गर्न हामी कत्ति लाज मान्दैनौ ।
५.सहकारीमा असल अभ्यासको आदान प्रदान महत्वपूर्ण हुन्छ । तर हाम्रा भ्रमणका नाउमा हुने १ घण्टे अवलोकनले मसिनो गरि असल अभ्यास वा सिकाइ बितरण सम्भव होला ? ४ वा ५ दिनको भ्रमण तालिकामा आफु भन्दा कमजोर संघ संस्थामा पुगेर फोटो सेयर गर्दै हामीले भ्रमण शिर्षकको बजेट दुरुपयोगलाई बैधानिक बनाउछौ ।
एउटा सहकारीको बर्षौ लामो असल अभ्यास र त्यसले आर्जेको परिणाम १ घण्टे परिचयात्मक कार्यक्रमले कामलाग्दो सिकाइ होला ? किमार्थ हुदैन । तर विभिन्न संघ संस्थाका सञ्चालकहरुले सदस्यको रकमको दुरुपयोग गर्न अवलोकन भ्रमणको बजेट शिर्षक कायम गरेका छौ ।
हुँदा हुँदा रुपन्देहीको मल र पेट्रोलियम पदार्थ विक्रि गर्नेे सहकारी संस्थाले सञ्चालक र दलका केहि नेताहरुलाई भ्रमण गराउन रुपन्देहीबाट कालिगण्डकी करिडोरको बाटो हुदै बाग्लुङ कालिका मन्दिरको भ्रमण गराएको थियो । सो प्रकृतिको संस्था त्यस क्षेत्रमा छैन । बजेट सहकारी अवलोकन भ्रमणको खर्च भयो । तर खास मकसद सञ्चालकहरुको मस्ती मात्र थियो । सो भ्रमणलाई बैधानिकीकरण गर्न पहाड तिरको कुनै सामान्य सहकारीको साइनबोर्ड फोटोमा उपयोग भएको थियो ।
६.केहि सहकारी संघहरु छन, जसका सञ्चालकहरु संघको बजेटमा हरेक बर्ष सिकाइ आदान प्रदान गर्न ढोरपाटन वा सोलुखुम्बु पुग्छन । भ्रमण गर्ने संस्था भन्दा कमजोर संस्थामा पुगेर १ घण्टाको कार्यक्रमको फोटोहरु राखेर भब्य सिकाइ आदान प्रदान गर्ने संस्कृति विकास भएको छ ।
त्यसैका लागि सञ्चालक हुन मरिहत्ते गर्ने दलका नेता रिझाएर सहकारी नेता वा अभियन्तामा नियुक्त हुने कुसंस्कार विकसित भइरहेको छ । सहकारीमा यो गलत संस्कृतिले जरा गाड्दै गएको छ । समाज विगार्ने कार्यको तिव्रता बढ्दो छ । रुपन्देही जस्तो तराइका सिचाइ समिति वा खानेपानी समितिका हर्ताकर्ताहरु सिकाइ आदान प्रदानका लागि दार्जिलिङ र सिक्किम वा नैतिताल पुगेका धेरै उदाहरण छन ।
७.म एउटा प्रारम्भिक सहकारीको जिम्मेवार तहमा छु, हामीले माला, खादा र मायाको चिनो र सञ्चालकहरुको वाहियात शयर (भ्रमण) मा सदस्यको रकम दुरुपयोग नगर्ने नीति बनायौ । हाम्रै टिम भित्र पनि यसमा विवाद नभएको होइन, तर संस्थाको यो ५ बर्षमा यस्ता फजुल खर्च हामीले गरेनौ । हामीले संस्थाको नाउमा गलबन्दी वा खादा छपाएका छैनौ, कुनै मायाको चिनो पनि बनाएका छैनौ ।
अन्य सहकारीबाट भ्रमणमा आउने अतिथिहरुलाई गलबन्दिले होइन हृदयले स्वागत गर्छौ, वहाँहरुले दिने समयका आधारमा हाम्रो एकीकरणको अनुभव र हालको सञ्चालन प्रकृयाका बारेमा जानकारी दिन्छौ । एउटा संयुक्त तस्विर लिन्छौ । यस अवधिमा हामीले भ्रमणका लागी रकम खर्च नै गरेनौ ।
हामीलाई प्रष्ट थाहा छ, कुनै संस्थाले दशकौ बर्ष लगाएर सिकेको कुरा हामीले १ घण्टामा सिक्न सक्दैनौ । हामीले सिक्नु पर्ने लाग्यो भने उक्त संस्थाको बारेमा विस्तृत जानकारी दिन सक्ने जिम्मेवार ब्यक्तिलाई नै हाम्रो संस्थामा ल्याएर बृहत अन्तर्कृया गर्ने । यसले हाम्रो समयको पनि सदुपयोग हुन्छ, धेरैजनाले अन्तर्कृया गर्ने अवसर पनि प्राप्त हुन्छ र संस्थाको रकम पनि कम खर्च हुन्छ ।
८.सहकारीमा बढेको माला खादा र मायाको चिनो नामको अपसंस्कृतिले यी तत्व नभए सहकारी नै भएन भन्ने अवस्था श्रृजना भएको छ । तर के सहकारीको साध्य नै माला, खादा, मायाको चिनो र भ्रमण नै हो त ? माला खादाले गजक्क परेका केहीथान पुङमाङहरुको संख्या बृद्धि नगरे सहकारी नै नहुने अवस्था भएको हो त ? यस कार्यमा मुख्य समस्या सञ्चालक, पूर्व सञ्चालक र सल्लाहकारहरुमा छ ।
सहकारीमा पहिला सुध्रनु पर्ने तह नै सञ्चालकहरु हुन । दलहरुको दलदलमा पुगेका संघ, केन्द्रिय संघ र महासंघहरु सहकारीका संस्थागत असल अभ्यासमा भन्दा माला, खादा र चिनो नाउको कर्मकाण्डीय भुल भुलैयामा लिप्त छन । सहकारीलाई यी देखावटी आडम्बर अनिवार्य नै हो त ? छलफल र बहस आवश्यक छ । एजेण्डा मैले प्रस्तुत गरे ।
Leave a comment