हाइलाइट

राजनीतिक दम्भले दबाएको मल्लको ‘सहकारी यात्राको शिर’

राजनीतिक दम्भले दबाएको मल्लको ‘सहकारी यात्राको शिर’ :: Sahakari Akhabar

राजनीति कति निष्ठुर हुँदो रैछ भन्ने पनि म सहकारी महासंघको अध्यक्ष भएपछि थाहा पाएँ । स्वार्थ मिलेन भने नेताहरु कति क्रुर हुदारहेछन त्यो पनि बुझ्न पाए । थाहा छैन, महिलाले काम गर्न सक्दैनन् भन्ने लाग्यो कि? पार्टीमा मैले गुट गर्न सकिन कि ! उहाँहरुको नजरमा गुट मिलेन कि ? वा पार्टीको सहकारी विभाग र विभागका साथीहरुको कही कतै चित्त दुखाए कि ? म आफैलाई के भयो भन्ने जानकारी छैन ।

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले आफ्नो कार्यकाल पुरा हुननपाउँदै पदबाट राजीनामा दिएकी छन् । राजनीतिक हस्तक्षेपका कारण महासंघमा काम गर्न नपाएको र संचालकहरुको दवावका कारण राजीनामा दिएको उनले उल्लेख गरेकी छन्।

जम्मा जम्मी आधा कार्यकाल अध्यक्ष पदमा रहेकी मल्लले टिममा एउटै पार्टीका संचालक भएपनि साथीहरुबाट सहयोग नपाएको गुनाँसो गरेकी छन् । सहकारीको माउ निकाय सहकारी महासंघ भित्रको बास्तविकता अध्यक्ष मल्लले समुद्रपारबाट राजीनामा पत्रमार्फत छर्लङ्ग देखाइदिएकी छन्।

‘स्वरोजगार’ बन्ने उद्देश्यले २०५५ सालमा केही उत्साहित युवाहरुबाट काठमाडौमा स्थापना भएको ‘रिलायबल फाइनान्स सहकारीबाट सुरु भएको ओमदेवी मल्लको सहकारी यात्रामा यतिखेर बार लागेको छ । सदस्यबाट सुरुभएको मल्लको सहकारी यात्राले चढ्दैगरेको ‘नेतृत्व’को सिढि भने पुरा गर्नसकेन ।

टुङ्गो नलगाउँदै रोकिनुपरेको उनको सहकारी यात्राको कारक भने राजनीतिक हस्तक्षेप बन्यो । सहकारीको संस्थापक सदस्यबाट नै सुरु गरेको मल्लको सहकारी यात्राले अभियानको मुख्य नेतृत्वलाई बिटमार्ने अवसर भने पाएन । अधुरो यात्राको मुख्य भागेदार असक्षम नेतृत्व भने थिएन, थियो त चरम राजनीतिक हस्तक्षेप नै ।

उनको २७ वर्षे सहकारी यात्राको बिट मार्ने अवसर संघारमै आँउदा भौतिक शरिरलाई समुद्रपार गराएको छ, सहकारीमा दलको स्वार्थी राजनीतिले । विश्वभरका सहकारीको छाता संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को संचालकसम्म पुगेर नेपाली सहकारी अभियानलाई चिनाउन सफल भएकी मल्ललाई सहकारीमा राजनितिक हस्तक्षेपले अन्तत् असफल नेतृत्वको ट्याग भिराइदियो ।

र त्यो ट्याग भिराउने काम आफ्नै टिमका संचालकहरुले गरे । राजीनामा पत्रमा मल्ल लेख्छिन, ‘पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरेँ, तर एउटै पार्टीका साथीहरु रहेको बोर्डमा रहेपनि असहयोगको अवस्था पनि भयो ।

आफ्नै साथीहरुको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ ।’ यही कारण आधा कार्यकाल रहँदै उनलाई उक्त पदबाट राजिनामा दिन बाध्य बनायो । राजिनामामा उनले उल्लेख गरेकी छन्, ‘अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रुपमा पूर्ण सहयोग प्राप्त भएन ।

राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक वैठक पूर्व अनिवार्य रुपमा पार्टीको विभागिय प्रमुखसँग सल्लाह लिनुपर्ने, निर्णयहरु पार्टीहित अनुकुल हुनुपर्ने जस्ता दवावको कारण मैले स्वस्फूर्त रुपमा योजना अनुसार काम गर्न सकिन ।’

सहकारी अभियानमा अनवरत रुपमा लागेकी मल्ल यतिबेला भने राष्ट्रिय सहकारी महासंघको नेतृत्वबाट अलग बनेकी छन् । महासंघको संचालक सदस्यदेखि बरिष्ठ उपाध्यक्षको कार्यकाल पुरा गरेकी मल्लको अध्यक्ष पदको आधा कार्यकाल आन्तरिक द्वन्द्धमा नै बित्यो । महासंघमा पहिलो महिला अध्यक्षका रुपमा इतिहाँस रचेपनि सहकारी अभियानलाई नयाँ उचाइमा पुर्याउने योजनामा भने कुठाराघात भयो ।

उपचारकालागि गत भदौमा परिवारसँगै अमेरिका पुगेकी मल्लले राजीनामा नदिएसम्म सुखै नपाएको गुनाँसो चाही राजीनामा पत्रमार्फत गरेकी छन्, ‘गत भदौमा परिवार अमेरिका जाने भनेपछि केही समयका लागि परिवारसँगै विदेशमा रहँदा उपचारसँगै तनाव पनि कम हुन्छ भन्ने परिवारको सल्लाह अनुसार अमेरिका आएको हुँ ।

यहाँ आएपछि केही परिवर्तन हुन्छ कि ? भन्ने लागेको थियो तर पार्टी नेतृत्वको दवावले नै होला महासंघका साथीहरुले पटक पटक राजिनामा पठाउन दवाव दिनुभयो । राजिनामा नदिए, अविश्वासको प्रस्ताव साधारणसभामा लगेर हटाउने धम्की पनि साथीहरुले दिनुभयो । मैले साधारणसभामा शुभकामना सन्देश पठाए । त्यसपछि पनि धेरै दवाव दिएको कारण म राजिनामा दिने निष्कर्षमा पुगे ।’

सहकारी यात्रामा सिल्बर जुब्ली मनाइसकेकी मल्लको आगामी दिनका यात्रा पनि सहकारीसंगै जोडिएर अघि बढ्नेहुन् वा पूर्णबिराम लाग्ने हो ? उनको सहकारी यात्राको अन्तिम खुट्किलोको सारथीको जिम्मा अभियानलाई ।

२०२९ सालमा गोरखाको धुवाँकोटमा बुबा कृष्णदाश मल्ल र आमा राधा मल्लको सन्तानका रुपमा जन्मिएकी ओमदेवीको नेतृत्व क्षमता देखेर तत्कालिन राष्ट्रिय सहकारी संघका अध्यक्ष दिपकप्रकाश बास्कोटाले महासंघमा जोडेका थिए ।

स्थानीयस्तरमै माध्यामिक तहसम्म अध्ययन गरेर काठमाडौंको पद्यमकन्या कलेज हुँदै त्रिभुवन यूनिभर्सिटीबाट स्नातकोत्तर गरेकी मल्ल सहकारीमा आउनुभन्दा पहिला क्रियटिभ वुमन नेपालको फाउण्डर प्रेसिडेन्ट रहेकी थिइन ।

२०५८ सालमा रिलायबल बचत तथा ऋण सहकारी संस्थालाई तत्कालिन राष्ट्रिय सहकारी संघले एसोसियट सदस्यता दिएपछि मल्लले छातासंघको यात्रा सुरु गरेकी हुन् । त्यसपछि सहकारी अभियानमा निरन्तर लम्केका उनका पाइलाले विश्राम लिएको छ।

राष्ट्रिय सहकारी महासंघको नेतृत्व गरेर सहकारी अभियानको शिर उँचो बनाएपछि मात्र सहकारी यात्रा टुङग्याउने सोच राखेकी मल्लका आधा सपना अहिले निष्ठुरी स्वार्थी राजनीतिले स्वाहा बनायो । २०६१ सालमा भारतबाट ‘डिप्लोमा इन को–अपरेटिभ एजुकेसन म्यानेजमेन्ट कोर्ष’ गरेर सहकारी सिकाइलाई निखारेकी मल्लले त्यसपछिको सहकारी सिकाइलाई जापान, अमेरीका हुँदै १७ वटा देशबाट थप्दै सहकारी शिक्षामा पोख्त बनाएकी थिइन् ।

मल्लले जिल्ला संघ काठमाडौंको आमन्त्रित संचालक, कोषाध्यक्ष, हुँदै २०५९ सालमा काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघको संचालक पनि बनेर नेतृत्वको अनुभव संगालेकी थिइन । सन् २००९ मा स्विट्जरल्याण्डमा भएको आइसिएको निर्वाचन सहितको साधारण सभामा भाग लिएपछि त मल्लले सहकारीलाई नै आफ्नो गन्तब्य बनाउने लक्ष्य लिएकी थिइन् ।

किनभने त्यहाँ ‘ड्याम पोलिन ग्रिन’ महिला अध्यक्ष बनिन् । त्यो देखेपछि उनलाई पनि नेपालको सहकारी अभियानमा महिला नेतृत्व हुनसक्छ भन्ने आत्मबल बढेको र आफूलाई पनि सहकारीमा केही गर्न सकिन्छ भन्ने लागेको थियो । तर उनको त्यो सपना अधुरो नै रहेको छ । उनी लेख्छिन्, ‘तल हुँदा सबैलाई साथ दिएकी थिए, सहयोग गरेकी थिए, तर म अध्यक्ष भएपछि मैले सहयोग गरेकाहरुबाट साथ पाइन, उल्टो असहयोग हुने अवस्था सिर्जना भयो ।

राजनीति कति निष्ठुर हुँदो रैछ भन्ने पनि म सहकारी महासंघको अध्यक्ष भएपछि थाहा पाएँ । स्वार्थ मिलेन भने नेताहरु कति क्रुर हुदारहेछन त्यो पनि बुझ्न पाए । थाहा छैन, महिलाले काम गर्न सक्दैनन् भन्ने लाग्यो कि? पार्टीमा मैले गुट गर्न सकिन कि ! उहाँहरुको नजरमा गुट मिलेन कि ? वा पार्टीको सहकारी विभाग र विभागका साथीहरुको कही कतै चित्त दुखाए कि ? म आफैलाई के भयो भन्ने जानकारी छैन ।

कहाँनिर म चुके भन्ने पनि पत्तो छैन, छ त ! केबल सहकारीमा कुनै योगदान नभएका मान्छेको आदेश, निर्देशन अनि अनाहकको तनाव । यो सबै कुरालाई मनन् गरी आज सारै विक्षिप्त भएर राष्ट्रिय सहकारी महासंघको अध्यक्ष पदबाट राजीनामा पठाएकी छु ।’

नेपालमा महिलाहरुलाई माथिल्लो तहमा जान धेरै संघर्ष गर्नुपर्ने भएपनि आफू जसरी पनि त्यो स्थानमा पुग्ने अठोट लिएर अघि बढेकी मल्ललाई स्वार्थी सहकारी राजनीतिका अगाडी केही चलेन ।’ कार्यकारी भूमिकामा रहँदा आफ्नै पहलमा महासंघको भवन बनाउनकालागि मन्त्रालयदेखि सरोकारवालाहरुसम्म पहल गरेको बताउने उनले २०६६ सालदेखि २०७० सालसम्म चारवर्ष सहकारी विकास बोर्डको संचालक भएर विज्ञको रुपमा समेत काम गरेकी थिइन्।

सहकारीमै लागेर संविधान सभा सदस्यसम्म बन्न सफल मल्ल संविधानमा सहकारी लेखाउन, सहकारी ऐन ०७४ संसोधन गर्न महत्वपूर्ण भूमिका खेलेकी छन् । अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड संचालक रहिसकेकी मल्ल एसियाकै पहिलो महिला आइसिएको संचालक पनि हुन् ।

सहकारी बाहेक अन्य क्षेत्रमा हात नहालेको र यसैलाई राम्रो गर्न दिनरात खटे्ने बताउने उनले आफ्नो नशा नशामा सहकारी रगत बगेको बताएकी थिइन । ‘चुनावमा सहयोग नगरेको नाममा, सल्लाहकार चयन नगरेको नाममा हुने यस्ताखाले गलत प्रवृति रोक्न सकेमा मात्रै सहकारी अभियान थप प्रभावकारी बन्ने भन्दै उनले आगामी दिनमा यस्ता हस्तक्षेपकारी काम नहुने विश्वास लिएकी छन् ।

मल्लले लेखेकीछन्, ‘नेपालको सहकारी अभियानलाई सबै मिलेर, सबैको सहभागितामा, सबैको सक्रियतामा थप व्यवस्थित गराउन सकियोस् । त्यसका लागि म वाधक हो कि ? भन्ने केही साथीहरुलाइ परेको छ, मेरा कारणले मात्र समस्या आएको हो भने पनि म त्यसका लागि सजाय भोग्न तयार छु । तर म वाधक होइन, बन्दिन भन्ने प्रतिवद्धताका साथ राजिनामा गरेकी छु ।

३३ औ साधारणसभाबाट संशोधनसहित पारित विनियम यथासिघ्र सम्बन्धित सहकारी विभाग र निकायबाट स्वीकृत गराई सोही संशोधित पारित विनियम अनुसार आगामी कार्यकालकोलागि राष्ट्रिय सहकारी महासंघको संचालक समितिको निर्वाचन गराई नयाँ नेतृत्व चयनतर्फ सम्पूर्ण सभाका सदस्यहरु लाग्नुहुनेछ भन्ने विश्वासका साथ निर्वाचित अध्यक्ष पदबाट राजीनामा गर्दछु ।

आगामी निर्वाचनको प्रकृयाबाट आउने नयाँ संचालक समितिलाई अग्रीम बधाई तथा शुभकामना समेत व्यक्त गर्दछु ।’ सहकारीले महिलाको वृति विकासमा, जागरणमा र बचत अभियानमा महत्वपूर्ण भूमिका खेलेको र सदस्यलाई आत्मनिर्भर बन्न र चुलो चौकाबाट बाहिर निकाली आर्थिक उपार्जन गर्न सिकाएको बताउने मल्ल जिल्लाका सहकारी र सहकारीमा आवद्ध सदस्यको धेरै मायाँ लाग्ने बताउँछिन् ।

सहकारी यात्रामा सिल्बर जुब्ली मनाइसकेकी मल्लको आगामी दिनका यात्रा पनि सहकारीसंगै जोडिएर अघि बढ्नेहुन् वा पूर्णबिराम लाग्ने हो ? उनको सहकारी यात्राको अन्तिम खुट्किलोको सारथीको जिम्मा अभियानलाई ।



Leave a comment