हाइलाइट

पोखरा रोयल सहकारी २४ औं वर्षमा प्रवेश

पोखरा रोयल सहकारी २४ औं वर्षमा प्रवेश :: Sahakari Akhabar

काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था २४ औं वर्षमा प्रवेश गरेको छ । २०५९ साल जेठ ८ गते २८ जनाको सहभागितामा ७ लाख पूँजी संकलन गरी स्थापित संस्था २४ औं वर्षमा प्रवेश गरेको हो । यसै अवसरमा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) तथा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले स्थापना दिवसको अवसरमा सदस्य तथा सरोकारवालामा शुभकामना व्यक्त गरेका छन् ।

२०५५ साल वैशाख ९ गते नेपालभर कार्यक्षेत्र रहने गरी रोयल सहकारी संस्थाको रुपमा काठमाण्डौमा स्थापना भएको थियो । पछि पोखरामा क्षेत्रीय कार्यालयको रुपमा स्थापना भएको यस संस्था सञ्चालनकै क्रममा क्षेत्रीय एवं शाखा कार्यालयहरुलाई स्थानीयकरण गरी स्वायत्त संस्थाको रुपमा स्थापित भयो ।

२०७६ कात्र्तिक २३ गते १८ औँ वार्षिक साधारण सभाबाट पोखराको शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण पश्चात संस्थाको कार्यक्षेत्र कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर रहेको छ । संस्थाले आफ्नो सेवालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउने अभियानमा अघि बढेको छ ।

संस्थाको कारोबारलाई सुरक्षित, प्रविधिमैत्री र समयानुकूल बनाउन कोर बैंकिङ प्रविधिलाई अवलम्बन गरिएको छ । तथ्याङ्कहरुलाई क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको छ । सदस्यहरुका लागि कनेक्ट आईपीएस, ट्याब्लेट बैंकिङ सुविधासमेत उपलब्ध छ ।

रोयल स्मार्ट बैंकिङ सेवामार्फत बचत रकमको जानकारी, स्टेटमेन्ट, मोबाइल टपअप, बिल भुक्तानी, ट्रान्सफर, एटीएम र क्यूआर सेवा उपलब्ध गराइएको छ । सीईओ गुरुङका अनुसार हाल करिब २ हजार जनाले एटीएम सेवा, १ हजार ६९८ जनाले मोबाइल बैंकिङ, ३३३ जनाले एसएमएस सेवा र १५१ जनाले क्यूआर कोड प्रविधि प्रयोग गरिरहेका छन् । त्यसरी नै १ हजार २६० सदस्यले स्मार्ट परिचयपत्र बनाएको जनाइएको छ ।

त्यसैगरी संस्थाले सदस्यहरुलाई शिशुस्याहार राहत, स्वास्थ्योपचार, पेन्सनदेखि किरिया खर्चसम्म उपलब्ध गराउँदै आएको छ । रोयल फाउन्डेसन नामक छुट्टै सहयोगी संस्थामार्फत पनि सहकारी सामाजिक उत्तरदायित्वका गतिविधिहरु सञ्चालनमा छन् । रोयल फाउन्डेसनमार्फत साकोसले प्रतिसदस्य १० हजारका दरले मृत्यु राहत र ३ हजारका दरले सुत्केरी स्याहार रकम उपलब्ध गराउँदै आएको छ।

सहकारीले सदस्यहरूको दुर्घटना बीमासमेत गरेको छ । संस्थाले रोयल फाउन्डेसनमार्फत ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यहरूलाई वार्षिक रुपमा जनही ५ हजारका दरले पेन्सन समेत उपलध गराउँदै आएको जनाइएको छ ।

त्यसैगरी संस्थाले ग्यालेक्सी हस्पिटल, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, न्यूरोडमा युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स, पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेस सेवा दिइरहेको छ।यी संस्थाहरूबाट सेवा लिँदा सहकारीका सदस्यहरूले सहुलियतसमेत पाउँछन् ।

संस्थाले विभिन्न अवसरमा सदस्य र कर्मचारीहरुलाई विभिन्न सम्मान तथा पुरस्कार गर्दै आएको छ । सदस्य, बाल बचतकर्ता, सेवा केन्द्र, बचत समूहको केन्द्रहरू र कर्मचारीलाई कारोबार तथा कार्य सम्पादनको आधारमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ भने प्रत्येक महिना उत्कृष्ट सदस्य घोषणा गरी सम्मान गर्दै आएको छ ।

यस्तै, कर्मचारीहरूमा पठन संस्कृति विकास गराउन पुस्तकालयमा अध्ययन अनुसन्धानको संस्कृति पनि बसालेको छ । संस्थाले विकास सेवा डेस्क (बीडीएस डेस्क) स्थापना गरि सदस्यहरुलाई उत्पादनमा जोड्ने, आय आर्जनका बहुविकल्पहरु उपलब्ध गराउने, उद्यमशीलताका प्रयासहरुमार्फत क्रियाशीलता र रोजगारीका अवसरहरु सृजना गराउने प्रयास भइरहेको संस्थाका सिइओ भीम गुरुङ बताउँछन् ।

पोखरा पुग्ने जोकोहीको लागि अध्ययन अवलोकनको पहिलो रोजाइ पोखरा रोयल साकोस बन्ने गरेको छ । यो साकोसले बनाएको छवि भएको संस्थाका सूचना अधिकारी मिलन ढकाल बताउँछन् । साकोसले बेलायत, मलेसिया लगायतका मुलुकमा पनि सहकारी सम्बन्ध बिस्तार गरेको ढकालले बताएका छन् ।

संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार संस्थामा १० हजार २ सय १८ जना सदस्य, कूल सम्पत्ति २ अर्ब ५७ करोड ६० लाख ७८ हजार रहेको छ । १५ करोड ३० लाख २० हजार शेयर पूँजी रहेको संस्थासँग २१ करोड ३० लाख ७४ हजार संस्थागत पूँजी छ । २ अर्ब ५९ लाख २३ हजार बचत रहेको संस्थाले १ अर्ब ६८ करोड ३६ लाख ५२ हजार ऋण लगानी गरेको छ । संस्थाका भण्डारडिक, मोहोरिया कास्की र दुलेगौंडा तनहुँमा सेवाकेन्द्र रहेका छन् ।



Leave a comment