हाइलाइट

सहकारी संस्कार निर्माण गर्ने की !

सहकारी संस्कार निर्माण गर्ने की ! :: Sahakari Akhabar

समाजमा सहकारी संस्कारको निर्माण हुनुपर्छ र गर्न सक्नुपर्छ । किनभने सहकारी र संस्कार एक अर्काका परिपुरक हुन । दुवैले ब्यक्ति, समाज अनि राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

सहकारीः
सहकारी शब्द सुन्दा जती प्रिय र पवित्र लाग्छ, यस मार्फत गरिने कर्म, यो मार्फत हुने ब्यवहार पनि उत्तिकै प्रिय र पवित्र हुन्छ र हुनुपर्छ । सहकारी दुईवटा शब्द मिलेर पूर्ण भएको छ । ‘सह’ र ‘कारी’ । सह भनेको, सँगै मिलेर वा साझा भन्ने बुझाउँछ भने, कारी भनेको कार्य गर्ने भन्ने अर्थ हुन्छ । त्यसैले सहकारीको बास्तविक अर्थ, सामुहिक वा एउटाको समस्या समाधानका लागि मिलेर सँगै काम गर्ने प्रक्रिया हो ।

समान उद्देश्य भएका व्यक्तिहरूले स्वेच्छिक रूपमा एक आपसमा मिलेर गठन गरेको संस्था नै सहकारी हो, जहाँ आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि संयुक्त प्रयास गरिन्छ । सहकारी संस्थाले ब्यक्तिहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन मद्दत गर्दछ । ब्यक्तिहरु सहकारीकालागि सदस्य हुन्छन् ।

सहकारीले समाजलाई दिशा निर्देश गर्छ र सस्कारयुक्त बनाउँछ । सहकारीमा सदस्यहरूको समान स्वामित्व र सहभागिता हुन्छ । सहकारी संस्था मार्फत थोरै पूँजी भएका व्यक्तिहरू पनि ठूलो ब्यवसायिक गतिविधिमा संलग्न हुनसक्छन् । यसले स्वरोजगारको अवसर सिर्जना गर्छ र गरिबी न्यूनीकरण गर्न सहयोग गर्छ ।

सहकारी संस्था लोकतान्त्रिक सिद्धान्तमा आधारित हुन्छ । यसको सञ्चालन एक सदस्य, एक मतको आधारमा हुन्छ, त्यसैले ‘एकका लागि सवै र सवैकालागि एक’ भनिएको हो । सहकारी मार्फत विभिन्न वर्ग, जाति र लिंगका ब्यक्तिहरूलाई एकै थलोबाट समान रुपले आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलिन्छ ।

सहकारी संस्थाले समुदायमा रहेको स्रोत साधनको सही उपयोग गर्न सहयोग गर्छ, जसले दीर्घकालीन दिगो विकासमा योगदान पु‍र्याउँछ । त्यसैले सहकारी एक प्रकारको आर्थिक तथा सामाजिक प्रणाली हो, जसले मिलेर, साझेदारी गरेर, लोकतान्त्रिक रूपमा काम गर्ने अवसर प्रदान गर्छ ।

नेपालमा सहकारी संस्थाले गरिबी न्यूनीकरण, स्वरोजगार सिर्जना, महिला सशक्तीकरण र आर्थिक समृद्धिमा ठूलो योगदान दिनसक्छ । सहकारी सेवामूलक ब्यवसाय सहितको सामाजिक संस्था हुनुपर्छ, जसले समाजका हरेक आवश्यकतालाई सम्बोधन गर्न सधै संगै रहेको हुन्छ अनि त्यो संस्था समाजकालागि बनेको हुन्छ । त्यसैले सहकारी संस्कार पनि हो ।

संस्कारः

संस्कार शब्दको अर्थ शुद्ध, परिष्कृत वा परिमार्जित गर्नु हो । संस्कार भन्नाले व्यक्तिगत, पारिवारिक, सामाजिक, तथा सांस्कृतिक जीवनमा हुने सकारात्मक रूपान्तरण वा परिस्करणको प्रक्रियालाई बुझाउँछ । संस्कार भनेको नैतिक मूल्य, ब्यवहार र परम्परालाई पुस्तादेखि पुस्तामा हस्तान्तरण गर्ने माध्यम हो, जसले व्यक्तिको जीवनलाई अनुशासित, नैतिक र सभ्य बनाउँछ।

व्यक्तिगत संस्कार, धार्मिक संस्कार, सामाजिक संस्कार, शैक्षिक संस्कारले व्यक्तिको बिचार, बोली र ब्यवहारलाई मर्यादित बनाउँछ, जसले राम्रो चरित्र निर्माणमा सहयोग गर्छ । संस्कार भनेको जीवनको आधारभूत मूल्य हो, जसले ब्यक्ति, परिवार र समाजलाई सही दिशा दिन्छ ।

राम्रो संस्कारले सभ्य समाज निर्माण गर्छ भने नराम्रो संस्कारले समाजमा बिकृति ल्याउँछ । त्यसैले समाजमा सहकारी संस्कारको निर्माण हुनुपर्छ र गर्न सक्नुपर्छ । किनभने सहकारी र संस्कार एक अर्काका परिपुरक हुन । दुवैले ब्यक्ति, समाज अनि राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।

अझ भनौं सहकारी मार्फत संस्कार निर्माण गर्न सकिन्छ, संस्कार निर्माणमा सहकारी पद्धती अपनाइनु पर्छ । त्यसका लागि सहकारीमा आवद्ध मानिसहरु, नेतृत्व गर्ने मानिसहरु नौतिक, चरित्रवान र सामाजमा असल पहिचान बनाएको सामाजिक ब्यक्तित्व हुनुपर्छ भनिएको हो । माथि उल्लेख गरिएका सहकारी र संस्कार विषय दुवै ब्यक्ति, समाज अनि राष्ट्र निर्माणकालागि महत्वपूर्ण औजारहरु हुन् ।

सिपलाई रोजगारमा बदल्न सहकारीको सदुपयोग गर्नुपर्छ भन्ने शिक्षा सदस्यमा भएन । अस्वस्थ प्रतिष्पर्धाले वित्तीय अस्थिरता निम्त्याएको छ । ऋण लगानीको उचित व्यवस्थापन नहुँदा सहकारीहरू बिस्तारै टाट पल्टिने अवस्थामा पुगेका छन् । सहकारीमा गलत नियत भएका ब्यक्तिहरुको प्रवेशले धेरै सहकारी संस्थाहरूमा लेखा परीक्षण ढिलो गर्ने वा गर्दै नगर्ने, गरेपनि सदस्य र नियामकलाई दिने फरक फरक प्रतिवेदन बनाउनेजस्ता गलत प्रवृतिको अभ्यास भयो ।

सहकारी अभियानः

सहकारी अभियान कुनै एकल संस्था वा व्यक्तिको स्वामित्वमा नरही सामूहिक प्रयास, विश्वास र उद्देश्यमा आधारित आन्दोलन हो । सहकारी प्रणाली व्यक्तिगत लाभभन्दा सामूहिक समृद्धिलाई केन्द्रमा राख्ने भएकाले यसलाई आर्थिक तथा सामाजिक सुधारको अभियानका रूपमा लिइएको हो । यसको प्रमुख लक्ष्य सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्नु हो ।

सहकारी प्रणाली विशेष गरी मध्यम वर्ग, गरिब तथा साना उद्यमीहरूको आर्थिक सशक्तीकरणका लागि प्रभावकारी रहेको छ । ग्रामीण विकास, कृषि, महिला सशक्तीकरण, लघु उद्यम प्रवद्र्धनजस्ता क्षेत्रमा योगदान गर्ने भएकाले यो आर्थिक सुधारको अभियान हो ।

सहकारी पद्धती १९ औं शताब्दीमा युरोपबाट सुरु भएको थियो र अहिले विश्वभर फैलिएको छ । यो अभियानलाई अन्तर्राष्ट्रियस्तरमा पनि सफल आर्थिक आन्दोलनका रुपमा हेरिन्छ र ‘सहकारी अभियान’ भनेर चिनिन्छ।नेपालमा परापूर्व काल देखि औंचोपैंचो, अर्मपर्म लगायतको विकसित रुप नै चितवनको बखान ऋण समिति सहकारी पद्धतीको उदाहरण हो ।

सहकारी प्रणालीको ब्यापक उद्देश्य, सामूहिक सहभागिता, गरिबी न्यूनीकरणमा योगदान र विश्वव्यापी प्रभाव छ । यो केवल ब्यवसायिक संस्था होइन, बरु सामाजिक न्याय, आत्मनिर्भरता र समृद्धिका लागि गरिएको एक ठोस अभियान हो ।

तर के देशमा स्थापना भएका ३१ हजार बढी सहकारीमार्फत समाज निर्माणमा भूमिका खेलेका छन् त ? नेपालमा सहकारी संस्कार बसेको छ त ? यो बहसको विषय बनेको छ । सहकारीमा ७५ लाखभन्दा बढी सदस्यहरू संलग्न छन् भनिएको छ ।

९४ अर्ब रुपैयाँभन्दा बढी शेयर पूँजी संकलन र पौने ५ खर्ब रुपैयाँभन्दा बढी बचत परिचालन गर्दै साढे ४ खर्ब रुपैयाँ भन्दा बढी ऋण लगानी गरेको सहकारी विभागको पछिल्लो तथ्याङ्क छ । त्यसैगरी सहकारी क्षेत्रले नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ४ प्रतिशत योगदान पु‍र्याएको छ भन्ने अपुरो तथ्याङ्क छ।

सहकारीलाई वित्तिय संस्थाका रुपमा मात्र हेरिनु हुन्न । सहकारी संस्थाहरूले वित्तीय सेवाहरू मात्र नभई कृषि, दुग्ध उत्पादन, स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, उपभोग्य र विद्युत जस्ता विभिन्न क्षेत्रमा योगदान पु‍र्याएका छन् । तर, सहकारी मार्फत कुन क्षेत्रमा कति योगदान रहेकोछ भन्ने विषयमा न राज्यले बास्तविक तथ्याङ्क राखेको छ, न सरोकार निकायहरु संग नै छ।

‘अरे’ को भरमा सहकारी दौडीरहेको अवस्थाले परिणाम आज भोग्नुपरेको जगजाहेरै छ । संस्था स्थापनालाई मात्र उपलब्धी मान्न हुँदैन, स्थापनासंगै संस्कार बसेको छ की छैन भन्ने विषय महत्वपूर्ण हुन्छ । अत्यधिक संख्यामा सहकारीहरूको स्थापना, दोहोरो सदस्यता, वित्तीय सुशासनको कमी र राजनीतिक हस्तक्षेप जस्ता गतिविधिले यस क्षेत्रको विश्वसनीयता र प्रभावकारितामा असर पु‍र्याएको छ ।

साथै नियमन र अनुगमनको अभावले केही सहकारीहरूमा आर्थिक अपचलन र दुरुपयोगका घटनाहरू पनि देखिएका छन् । केही सहकारी संस्थाहरूले सदस्यहरूको बचत रकम अपचलन गरेको पनि पाइएको छ, त्यो सहकारीे चेतनाको कमी हो । केही सहकारीहरूमा नेतृत्व तहमा आर्थिक अपचलन र हिनामिना हुने घटना आइरहेकाले विश्वसनीयता गुम्दै गएको छ ।

पारदर्शिता नहुँदा सदस्यहरू ठगिन थालेका छन् । सहकारी नियमन गर्ने संस्थाहरू कमजोर छन्, जसका कारण सहकारी संस्थाहरूको कार्यशैलीमा अनुशासन छैन । सहकारी ऐन र नियमहरूको प्रभावकारी कार्यान्वयन नहुँदा अनियमितता मौलाएको छ । सहकारी संस्थाहरूमा राजनीतिक दलका निकट व्यक्तिहरूको हस्तक्षेप अत्यधिक देखिन्छ।

नेतृत्व चयनमा राजनीतिक प्रभाव परेपछि सहकारीहरू व्यवसायिक भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रीत हुने गरेका छन् । सहकारी स्थापना गर्न सहज भएकोले आवश्यकता नभएका व्यक्तिहरु र स्थानमा पनि सहकारी खोल्ने प्रवृतिले समस्या बढेर गएको भन्न सकिन्छ ।

व्यावसायिक दक्षता र आवश्यक पूँजीबिना नै सहकारी खोल्ने प्रवृत्तिले वित्तीय जोखिम पनि बढायो अनि समस्या थपिँदै गए । एउटै व्यक्ति धेरै सहकारी संस्थामा सदस्यता लिने र कारोबार गर्ने प्रवृतिले ऋण सदुपयोग गरेर उद्यमी, ब्यवसायी र स्वरोजगार बन्ने भन्दा पनि अल्छि सदस्य निर्माण भयो ।

सिपलाई रोजगारमा बदल्न सहकारीको सदुपयोग गर्नुपर्छ भन्ने शिक्षा सदस्यमा भएन । अस्वस्थ प्रतिष्पर्धाले वित्तीय अस्थिरता निम्त्याएको छ । ऋण लगानीको उचित व्यवस्थापन नहुँदा सहकारीहरू बिस्तारै टाट पल्टिने अवस्थामा पुगेका छन् । सहकारीमा गलत नियत भएका ब्यक्तिहरुको प्रवेशले धेरै सहकारी संस्थाहरूमा लेखा परीक्षण ढिलो गर्ने वा गर्दै नगर्ने, गरेपनि सदस्य र नियामकलाई दिने फरक फरक प्रतिवेदन बनाउनेजस्ता गलत प्रवृतिको अभ्यास भयो ।

पारदर्शी र जवाफदेही व्यवस्था नहुँदा अनियमितता बढिरहेको छ। कतिपय सहकारीहरूले सदस्यहरूको बचत रकम फिर्ता दिन नसक्ने अवस्थामा पुगेका छन् । गलत लगानी, अपचलन र व्यवस्थापन कमजोरीका कारण सदस्यहरू मर्कामा परेका छन् । सहकारीको कारोबार समुदाय केन्द्रित नभएर कार्यक्षेत्र बाहिर गैर सदस्यसँग समेत बढ्दै गयो ।

सहकारी मार्फत नजानेर वा बलमिच्याँइ पूर्वक भएका यस्ता गैर सहकारी कारोबारलाई सहकारीका नियमक निकाय र अभिभावक संघहरुले देखेर पनि अनदेखा गर्नु, संरक्षण गर्नु गलत भयो । सदस्य निष्क्रिय रहनु, साधारणसभा औपचारिकतामा मात्र सीमित रहनु, सहकारी संस्थालाई नाफामुखी संस्थाका रूपमा मात्र विकास गरिनु, कमसल धितो राखी ऋण प्रवाह गर्नु, उद्धेश्य बिपरित काम गर्नुजस्ता कर्मले सहकारीको बाटो मोडिएको हो।

राम्रा सहकारीहरूको उदाहरण देखाउँदै विश्वसनीय सहकारीहरूलाई अगाडि ल्याउन भूमिका खेल्नु अहिलेको आवश्यकता हो, सहकारीको गुमेको शाख फर्काउन, सहकारी संस्कार बसाल्न । सहकारीका पदाधिकारी, सदस्यहरू, सञ्चारमाध्यम र नागरिक समाज सबै पक्षले आआफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्छ । पारदर्शिता, असल सुशासन, प्रभावकारी नियमन र सदस्यहरूको सकृय अनि सचेत सहभागिता नै सहकारी क्षेत्रलाई पुनः विश्वासिलो बनाउन सक्ने मूल आधार हो । 

सहकारी संस्कारः

सहकारी समाज परिवर्तनको उत्तम उपाए हुँदा हुँदै पनि बिस्तारै यसप्रति विश्वास गुम्दै गएकोले शाख जोगाउन मुस्किल हुँदैगएको छ । यसलाई जोगाउन अव कडा नियमन र अनुगमनको आवश्यकता छ । जुन पछिल्लो समय स्थापना भएको सहकारी नियमन प्राधिकरण संग अपेक्षा गर्न सकिन्छ । सहकारी ऐन र नियमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ ।

सबै सहकारीहरूको वार्षिक लेखा परीक्षण अनिवार्य गरी पारदर्शी रिपोर्ट सार्वजनिक गर्न लगाउनुपर्छ । बचत अपचलन वा दुरुपयोग गर्ने सहकारीका पदाधिकारीलाई कानुनी दायरामा ल्याउनु जरुरी छ । त्यसैगरी सहकारी संस्थाहरूलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नदिने नीति अपनाइनुपर्छ ।

सहकारी नेतृत्व चयनमा योग्यता, अनुभव र इमान्दारिता भएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्छ । सहकारी भित्रको आर्थिक कारोबार पारदर्शी बनाउने, सदस्यहरूलाई नियमित रूपमा आर्थिक प्रतिवेदन उपलब्ध गराउने र सदस्यहरूको हितलाई प्राथमिकता दिंदैजाने हो भने सहकारी संस्कारको सुरुवात हुन्छ।

सहकारीहरू नाफामुखी नभई सदस्यहरूको हितका लागि केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी नगरी इमान्दारीपूर्वक कृषि, साना व्यवसाय, शिक्षा, स्वास्थ्य र बचत तथा ऋण सेवामा ध्यान दिने, आधुनिक प्रविधिको प्रयोग गर्दै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवा अहिलेको आवश्यकता भएकोले त्यसलाई पनि आत्मसाथ गर्न जरुरी छ।

सदस्यहरूले कारोबार गर्दा संस्थाको विश्वसनीयता जाँच गर्नुपनि अहिलेको समयले सिकाएको पाठ हो । सहकारीमा सदस्यको सकृय सहभागिता भइ नियमित गतिविधि माथि निगरानी र संस्थाका नीति तथा निर्णयहरूमा आफूले आवाज उठाउने गरे सहकारीमा सिमित ब्यक्तिको मनोपोली हुनपाउँदैन ।

त्यसैगरी आम सञ्चार र नागरिक समाजको भूमिका पनि सहकारीको शाख जोगाउन र सहकारी संस्कार निर्माण गर्न महत्वपूर्ण हुन्छ । सञ्चारमाध्यमले सहकारीमा भएका अपचलन र भ्रष्टाचारका घटनाहरूलाई उजागर गर्ने, नागरिक समाजले सहकारी सुधारका लागि सरोकारवालाहरुलाई दबावमूलक कार्यक्रमहरू गर्नु आवश्यक छ ।

त्यसैगरी राम्रा सहकारीहरूको उदाहरण देखाउँदै विश्वसनीय सहकारीहरूलाई अगाडि ल्याउन भूमिका खेल्नु अहिलेको आवश्यकता हो, सहकारीको गुमेको शाख फर्काउन, सहकारी संस्कार बसाल्न । सहकारीका पदाधिकारी, सदस्यहरू, सञ्चारमाध्यम र नागरिक समाज सबै पक्षले आआफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्छ ।

पारदर्शिता, असल सुशासन, प्रभावकारी नियमन र सदस्यहरूको सकृय अनि सचेत सहभागिता नै सहकारी क्षेत्रलाई पुनः विश्वासिलो बनाउन सक्ने मूल आधार हो । अनिमात्र सहकारी संस्कारको कल्पना गर्न सकिन्छ र सभ्य अनि सुशासनयुक्त सहकारी अभियानको सपना पुरा गर्न सकिन्छ । जय सहकारी !



Leave a comment