काठमाडौं । कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थाले उत्पादन गरेको मसिनो र ग्रेडिङ चामल काठमाडौंमा पनि उपलब्ध हुनेभएको छ ।
संस्थाले उत्पादन गरेको उक्त चामलको काठमाडौं उपत्यकामा बजार बिस्तार गर्न लागिएको हो । संस्थाले १३ गते शनिबार काठमाडौंमा एकदिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरी उक्त कुरा जानकारी दिएको ।
संस्थाले गोदावरी नगरपालिका ८ मजगाउँमा कृषि उप आयोजना अन्तर्गत नवजीवन खाद्य उद्योग (राइस मिल) सञ्चालन गरी मसिनो र ग्रेडिङ चामल बजारमा ल्याएको संस्थाका अध्यक्ष देबबहादुर बमले जानकारी दिए । उनले १ करोड ५० लाख लगानीमा मिल सञ्चालनमा ल्याएको र मिलले १६ हजार २८७ क्विन्टल धान खरिद गरी उत्पादन सुरु गरेको जनाए ।
संस्थाले मझगाउँमा कृषि उपआयोजनाका लागि एक बिगाहा १० कट्ठा जग्गा खरिद गरेको र सोही स्थानमा पाँच हजार टन क्षमताको गोदाम घर निर्माण गरेको अध्यक्ष बमले बताए ।
‘नवजीवन औद्योगीक ग्रामका रूपमा विकास गर्ने छौ, अध्यक्ष बमले भने, यो क्षेत्रमा मसुरोको दाल, तोरीको तेल र पानी उत्पादन गर्ने तयारीमा छौ । शुद्ध र अग्र्यानीक चामल खान पाउन भन्ने उद्देश्यले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको बमको भनाइ छ।
कार्यक्रममा बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि देवकोटाले सहकारीमार्फत देश समृद्धिको मार्गमा बढ्ने कुरामा दुईमत नभएको बताए ।
उनले सहकारी आम जनताको सुखदुःखको साथी बनेको भन्दै संविधानले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा उल्लेख गरेर सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको बताए ।
यसले सहकारी क्षेत्रको चुनौती र कमी कमजोरीलाई चिर्दै संविधान र कानुन प्रदत्त अधिकारको उपयोगसहित आम जनताको जीवनस्तर उकास्ने अभियानको सारथी बन्न अभिप्रेरित गरेको उल्लेख गरे ।
व्यक्तिगत र पारिवारिक ढङ्गले सञ्चालन गरिएका र केही बदमास नियतकाले नेतृत्व गरेका सहकारीले अभियानमा हिलो छ्याप्न खोजेको भन्दै उनले भने, ‘नकारात्मकताको बिउ रोपेर सकारात्मकता उम्रन सक्दैन, त्यसैले केही छिटपुट बदनियतलाई समग्र सहकारी जगतको बदनामीमा जोड्नु घोर अन्याय हुनेछ ।’
नवजीवन सहकारीले सुदूर पश्चिम र लुम्बिनीका लाखौं जनतामा आर्थिक क्रियाशीलता अभिवृद्धि गरी जीवनस्तर उकास्न सफल भएको भन्दै उनले भने, ‘नवजीवन परिवर्तनको संवाहक हो र रहिरहनुपर्दछ ।
सहकारीको मूल्य, मान्यता र शिद्धान्तलाई सर्वोपरि राखेर अघि बढेको हुनाले नै इतिहासका कुनै कालखण्डले नवजीवनलाई बिचलित पारेको छैन ।’
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडाल, निवर्तमान अध्यक्ष मिनराज कंडेललगायतले आफ्ना बिचार राखेका थिए ।
२०५० साल मङ्सिर ३० गते स्थापना भएको नवजीवन सहकारी संस्थाका सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० वटा सेवाकेन्द्र रहेका छन् ।
३१ करोड ५३ लाख ५५ हजार शेयर पूँजी रहेको संस्थामा ४८ करोड ३३ लाख ९३ हजार जगेडाकोष तथा ६ करोड २१ लाख ३८ हजार अन्य विभिन्न कोष रहेको छ ।
त्यसैगरी संस्थामा ५ अर्ब ८ करोड ९० लाख २३ हजार निक्षेप र ४ अर्ब १८ करोड ४४ लाख ७९ हजार रुपैयाँ ऋण लगानीमा रहेको जनाइएको छ ।
संस्थाको ६ अर्ब ४७ करोड ९६ लाख ३८ हजार कुल सम्पती रहेको छ । संस्थामा ३६ हजार ३५७ जना सदस्य तथा ५ हजार १९२ जना ऋणी सदस्य रहेका छन् ।
Leave a comment