सदस्यको बचतको जिम्मा सिइओहरुको होः शिवजी सापकोटा

सदस्यको बचतको जिम्मा सिइओहरुको होः शिवजी सापकोटा :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारीका व्यवस्थापनले सदस्यको बचतको जिम्मा लिनुपर्ने बताएका छन् ।

उनले बचतको सुरक्षामा सिइओहरुले ध्यान दिनुपर्ने बताए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस सिईओ गोष्ठीमा ‘संस्थागत सुशासनको अवधारणा, मापदण्ड र प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले व्यवस्थापनले सदस्यको बचतको सुरक्षाको सुनिश्चितता गर्न सक्नुपर्नेमा जोड दिए ।

सहकारीका व्यवस्थापनले बचतको सुरक्षा र सञ्चालकले सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्ने उनको भनाई छ । सहकारीमा सदस्य बनेका ६० प्रतिशत सदस्यले मासिक नियमित बचत गरे समुदायका लागि संस्था आवश्यक भएको प्रमाणित हुने सिईओ सापकोटाले बताए ।

त्यसका साथै सदस्यका छोराछोरी बाल बचतकर्ता भएर बचत गर्नुका साथै ऋण लिने सदस्यको संख्या धेरै हुँदा संस्थाको आवश्यकता थप पुष्टी गर्ने उनको भनाई छ । सहकारीलाई सुशासनमा सञ्चालन गर्न  आन्तरिक कार्यविधि महत्वपूर्ण हुने र बोलेर भन्दा लेखेका कुराले सुशासनमा सञ्चालन गर्न सघाउने उनको दावी छ ।

सहकारीमा गुड गभर्नेन्स नभएको र सबै कुरा लिखित भए काम गर्न सजिलो हुने उनले जनाए । सहकारी बैंक भन्दा राम्रो भएको र नियमन प्रभावकारी बनाउन उनको आग्रह छ ।

सहकारीमा ऋण लिन सदस्य बनाउने गरेको र अहिलेको समस्या नै ऋण असुली रहको उनको भनाई छ । सदस्यलाई पटक पटक सम्झाएर  ऋण दिन उनको सुझाव छ ।

संस्थाबाट ऋण लिएर आर्य आर्जन वृद्धि भएको छ कि छैन,त्यसमा ध्यान दिन र ठुलो भन्दा सानो ऋण लगानीमा प्राथमिकता दिनु पर्नेमा उनको जोड छ । संस्थाका व्यवस्थापकहरुले ६६ प्रतिशत समय अफिसमा नभई फिल्डमा बिताउनु पर्नेमा सिईओ सापकोटाको जोड छ।

संस्थाको संख्या, धेरै सहकारी ऐन, सुशासनको अभाव, निस्कृय लेखा समिति,दक्ष जनशक्तिको अभाव,भरपर्दो प्रविधिको अभाव, सदस्य केन्द्रियताको अभाव नै अहिलेको समस्या भएको उनको भनाई छ ।

अहिले सहकारीमा ऋण लगानी नभएर गरेको ऋण असुली नभएर समस्या भएको सापकोटाले जनाए । प्रमाणीकरण कार्यक्रममा आवद्ध संस्थाहरुको मात्र गुड गभर्नेन्स मापन गर्न सकिने उनले जनाए । संस्थाहरुलाई सुशासनको फ्रमवर्क बनाउन उनको सुझाव छ ।



Leave a comment