बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन।
६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार बिराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा बनेको बताए । यसले रोजगारी सिर्जना, गरिबी निवारण र समावेसी विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ, उनले भने ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारी आन्दोलनको वर्तमान अवस्था र चुनौतीहरूबारे प्रकाश पारे । ‘६८ वर्षको यात्रामा नेपालको सहकारी आन्दोलनले धेरै उतारचढाव पार गरेको छ।
सहकारी क्षेत्रमा ३५ हजारभन्दा बढी संस्थाहरू क्रियाशील छन् र करिब ७० लाख नागरिकहरू प्रत्यक्ष रूपमा आबद्ध छन, उनले भने । उनले सहकारी सिद्धान्त र मूल्यमान्यताको अनुशरण गर्दै सहकारी संस्थाहरूलाई पारदर्शी र जवाफदेही बनाउन जोड दिए ।
कार्यक्रममा सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई अभियन्ताहरू माधव अत्री र विष्णु ओझालाई विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा सहकारी विज्ञ प्राडा खगेन्द्र ओझाले सहकारीको आर्थिक विकासमा भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहकारी क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सुझावहरू प्रस्तुत गरे ।
कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी आन्दोलनले सामना गरिरहेका चुनौतीहरूबारे चर्चा गरे। उनले सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्दै सहकारीलाई आर्थिक र सामाजिक रूपान्तरणको माध्यम बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरूले सहकारी सम्बन्धी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमका अवसरमा सहकारी उत्पादनहरूको प्रदर्शनी पनि आयोजना गरिएको थियो जसमा विभिन्न सहकारी संस्थाहरूद्वारा उत्पादित वस्तुहरू प्रदर्शनीमा राखिएका थिए ।
आयोजक मूल समारोह समितिका संयोजक तथा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा. डिःली पोखरेलले कार्यक्रमको समापन गर्दै आगामी दिनमा सहकारी क्षेत्रलाई थप सुदृढ र सक्षम बनाउन सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सहकारी क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरिएको र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए ।
बुधबार देशभर नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ। ‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ बुधबार विराटनगरमा सहित देशभर कार्यक्रम गरि सहकारी दिवस मनाइएको हो ।
Leave a comment