हाइलाइट

बिन्धवासिनी साकोस ३२औं वर्षमा

बिन्धवासिनी साकोस ३२औं वर्षमा :: Sahakari Akhabar

काठमाडौं । काभ्रेको पनौती १० खोपासीमा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था ३२औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन ६ गते जिल्ला सहकारी कार्यालय धुलिखेलमा दर्ता भएको संस्था ३२ वर्ष प्रवेश गरेको हो । यसै अवसरमा संस्थाले प्रतिवद्धता ब्यक्त गर्दै ५५ जनाबाट सुरु भएको संस्थामा ५७ हजार पाँच सय ८५ शेयर सदस्य र ११ हजार सात सय ७५ जना शैक्षिक बालबचतकर्ता पुगेको  जनाएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन खोपासी र चलाल गणेशस्थान गाविसबाट बिजारोपण भएको संस्थाले हाल काभ्रेपलाञ्चोक जिल्लाका साथै भक्तपुर, काठमाण्डौ र ललितपुर जिल्ला कार्यक्षेत्र बिस्तार गरीसकेको छ । संस्थाका सात वटा सेवा कार्यालय र नौवटा सेवाकेन्द्र मार्फत सदस्य तथा शैक्षिक बाल बचतकर्ताहरुलाई नीति विधि र प्रविधिमा आधारित वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्दै आएको जनाइएको छ ।

३२ औं वर्ष प्रवेशको अवसरमा प्रतिवद्धता ब्यक्त गर्दै संस्थाले सहकारीका सिद्धान्त, मूल्यमान्यता र दर्शनका साथै संयुक्त राष्ट्र संघद्धारा घोषित दिगो विकास लक्ष्यलाई अंगिकार गरी वित्तीय पहुँच नपुगेका ग्रामिण क्षेत्रका सदस्यहरुलाई लघुवित्त मार्फत वित्तीय पहुँच पुर्याएको उल्लेख गरेको छ ।

वित्तीय पहुँचमा रहेका शेयर सदस्यहरुलाई नेपाल राष्ट्र बैकबाट सिमित बैंकिङ्ग कारोबार गर्न स्वीकृति लिई बैकिङ्ग सेवा प्रदान गर्नुका साथै आपत विपतमा परेको शेयर सदस्यहरुलाई करीब ८२ हजार सम्म निःशूल्क सदस्य सुरक्षण सेवा, लघु जीवन विमा सेवा, विप्रेषण सेवा, प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्यावलेट बैकिङ्ग, ईटेलर, एटिएम, क्यूआर पेमेन्टलगायत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सामाजिक तथा सांस्कृति विकासका लागि सहकारी शिक्षा, वित्तीय साक्षरताका साथै नेतृत्व विकास कार्यक्रम, शिक्षा, स्वास्थ्य सम्बन्धी जागरणका कार्यका साथै कुलत र कुसंस्कारबाट माथि उठ्न सभ्य समाज निर्माणका लागि विभिन्न अभियान संचालन गर्दै आएको प्रतिवद्धता पत्रमा ब्यक्त गरेकोछ ।

समुदायको उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ ऐन नियम, निर्देशन, अन्तर्राष्ट्रिय असल अभ्यासको पूर्ण अनुशरण गर्दै सुशासनयुक्त कार्यशैली, व्यवहार, आचारणको अबलम्बन गरी सदस्य केन्द्रीयतामा पूर्ण ध्यान दिई सुरक्षित र दिगो वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्न संस्था केन्द्रीत रहेको बताइएको छ ।

समिति उप समिति र कर्मचारीहरुले संस्थागत संस्कार, आचारण र मूल्यमान्यतामा रही निर्धारित आचारसंहिताको पूर्ण परिपालन गरी सदस्य सेवामा संस्थाले महाभूकम्प, कोभिड, बाढि पहिरो जस्ता विनासकारी प्राकृतिक प्रकोपमा व्यवसाय निरन्तरता योजना निर्माण गरी सहुलियत ऋण, व्याज छुट सुविधा, निःशूल्क अक्सिजन वितरण गरेको जनाएको छ ।

त्यसैगरी राहत सुविधा, पुनः निर्माण तथा व्यवसाय पुनःस्थापना सहुलियत ऋण प्रदान गर्दै आएको संस्थाले विभिन्न स्थानीय सरकारहरुको सहकार्यमा कृषि तथा पशुजन्य र लघु उद्यम विकास व्यवसायमा ब्याज अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि ज्ञानमा आधारित कृषि कार्यक्रम ( किसान २) पशु विमा र बाली विमा, कृषि प्राविधिक सेवा, व्यवसाय प्रवर्धनको लागि व्यवसाय विकास परामर्श सेवा प्रदान गर्दै आएको जनाइएको छ ।

एशियाली ऋण महासंघ (अक्कू) द्वारा प्रवर्तित र नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित एक्सेस ब्राण्डिङ्ग कार्यक्रमको प्रथम व्याचमा आवद्ध भई सुरक्षित, दिगो र स्वास्थ वित्तीय अवस्था, गुणस्तरीय सदस्य सेवा र सदस्य सन्तुष्टी, आन्तरिक सञ्चालन प्रणाली सञ्चालन समक्षता र प्रतिष्पर्धी अवस्था, ज्ञानसिप दक्ष सञ्चालक र योग्य दक्ष र सन्तुष्टि कर्मचारी चार आयमलाई पूर्ण अंगिकार गरी कार्य सञ्चालन गरेको यस संस्थाले एक्सेस ब्रोञ्ज, एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरी सुरक्षित र दिगो वित्तीय संस्थाको रुपमा प्रमाणीकरण चिन्ह समेत प्राप्त गरेको जनाइएको छ ।

साथै उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कार, वागमती प्रदेश उत्कृष्ट सहकारी संस्था पुरस्कार, बागमती प्रदेश उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था पुरस्कारका साथै अन्तर्राष्ट्रिय स्तरमा एशियाली ऋण महासंघबाट पहिलो पटक क्यूमी पर्फमेन्स अवार्ड समेत प्राप्त गरेको जनाएको छ ।

त्यसैगरी संस्थाका संस्थापक अध्यक्षले नेफ्स्कूनबाट उत्कृष्ट संस्थापक अध्यक्ष सम्मान र राष्ट्रिय सहकारी बैंकबाट स्व.संस्थापक अध्यक्ष स्मृति पुस्कार पाएको र संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाले नेफ्स्कूनबाट सर्वोत्कृष्ट व्यवस्थापक पुरस्कार २ पटक, जिल्ला सहकारी संघ काभ्रेबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार, पनौती नगरपालिकाबाट उत्कृष्ट व्यवस्थापक पुरस्कार, बागमती प्रोस्कूनबाट उत्कृष्ट व्यवस्थापक पुस्कारका साथै अन्तर्राष्ट्रिय स्तरमा Credit Union Executive Outstanding Award प्राप्त गरिसकेको जनाइएको छ ।

“सदस्य समृद्धि अभियान, विन्धवासिनीको पहिचान भन्ने मूल नारा र “सहकारी मूल्य मान्यताका आधारमा प्रविधिको अधिकतम प्रयोग गरी वित्तीय तथा गैरवित्तीय सेवाहरुमार्फत सदस्यहरुको जीवनस्तर उन्नत बनाउने संस्थाले प्रतिवद्धता ब्यक्त गरेको छ ।  त्यसैगरी सदस्यहरुलाई विभेदरहित अझ गुणस्तरीय अत्याधुनिक प्रविधियुक्त सवल, सुरक्षित, दिगो र प्रतिष्पर्धी वित्तीय तथा गैर वित्तीय सेवाहरु निरन्तर प्रवाह गर्ने समेत संस्थाको प्रतिवद्धता छ ।



Leave a comment