हाइलाइट

इमेज सहकारीका ४८७ जना बचतकर्ताको ४ करोड फिर्ता

इमेज सहकारीका ४८७ जना बचतकर्ताको ४ करोड फिर्ता :: Sahakari Akhabar

काठमाडौं । बागलुङ्गको इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तामध्ये चार सय ८७ जनाको चार करोड रकम फिर्ता गरेको छ । संस्थाको मुख्य कार्यालय रहेको बागलुङ बजारका २४८, ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका १४७ जनालाई चार करोड रकम फिर्ता गरेको हो ।

सहकारीपीडित सङ्घर्ष समितिको अगुवाइमा एक लाख रुपियाँभन्दा कम बचत गर्ने सदस्यहरूलाई सरकारी वकिलका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा रकम फिर्ता गरिएको जनाइएको छ । समितिले पहिलो चरणमा सानो रकम रहेका बचतकर्तालाई फिर्ता दिए पनि समय मिलाएर ठुला बचतकर्ताको पनि रकम फिर्ता गर्ने योजना बनाएको सहकारीपीडित सङ्घर्ष समितिका अध्यक्ष डिलबहादुर कार्कीले बताए ।

ठुलो रकम फिर्ता गर्न भने सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीको नाममा रहेका अचल सम्पत्ति बिक्री गर्नुपर्ने उनले बताए । त्यसका लागि केही समय कुर्नुपर्ने समितिका अध्यक्ष कार्कीले भने । सहकारीका अध्यक्ष नेपालीको नाममा दुई दर्जनभन्दा बढी स्थानमा जग्गा तथा घर रहेकाले ती बेचेर तरल सम्पत्ति बनाउनुपर्ने उनले जनाए । 

यसअघि ढोरपाटनका ९२ जना बचतकर्ताले ३७ लाख रुपियाँ प्राप्त गर्नेगरी चेक बुझेको जनाइएको छ भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेजपीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले बताइन् । जिल्ला अदालत बागलुङले एक महिनाअघि नै मुद्दा फिर्ता लिन चाहने बचतकर्ताका लागि मेलमिलापको बाटो खोलिदिएको थियो ।

सोही आधारमा मेलमिलाप भएकाहरुले रकम फिर्ता पाएका हुन् । नेपालीले एक अर्ब ५४ करोड रुपैंयाँ हिनामिना गरेको आरोपमा अदालतमा जाहेरी परेकोमा झण्डै २३ करोड रुपैंयाँ बराबरका बचतकर्ताले मेलमिलाप गरिसकेका छन । संस्थापक अध्यक्ष नेपाली विरुद्ध सहकारी ठगी मुद्दा भने निरन्तर चलिरहेको छ । नेपाली गत असोजमा पक्राउ परेपछि जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा रहेका छन् ।



Leave a comment