नेफ्स्कून अध्यक्ष ढकाल एफएनसिसिआइको सामाजिक सेवा फोरमको उपसभापति मनोनित

नेफ्स्कून अध्यक्ष ढकाल एफएनसिसिआइको सामाजिक सेवा फोरमको उपसभापति मनोनित :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को सामाजिक सेवा फोरमको उपसभापति मनोनित भएका छन्।

गत भदौंमा नेपाल उद्योग वाणिज्य महासंघको सामाजिक सेवा फोरमको उपसभापतिमा नेफ्स्कून अध्यक्ष ढकाल मनोनित भएका हुन् । महासंघको कार्यकारिणी समिति सदस्य पुष्पराज कुँवरको सभापतित्वमा गठित सामाजिक सेवा फोरमको उपसभापतिमा अध्यक्ष ढकाललाई मनोनित गरिएको महासंघले जनाएको छ ।

नेफ्स्कून र नेपाल उद्योग वाणिज्य महासंघबीच पहिलो औपचारिक सहकार्य गर्ने सहमति भएको पहिलो कार्य भएको नेफ्स्कून अध्यक्ष ढकालले बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघको सामाजिक सेवा फोरमको उपसभापति मनोनित भएसँगै सहकार्यको ढोको खुलेको बताए ।

उनले भने, यो किसिमको सहकार्यले सरकारसँगै निजी क्षेत्रसँगको सहकारीको सम्बन्ध थप प्रगाढ बन्ने र यसले समग्र मुलुकको अर्थव्यवस्थालाई संविधानले परिकल्पना गरेबमोजिम सुमधुर त्रिपक्षीय सम्बन्धको जगमा थप सबल बनाउने विश्वास लिएका छौं।

निजी क्षेत्र र सहकारी एक अर्काका प्रतिस्पर्धी नभई परिपूरकको रुपमा अघि बढ्नुपर्ने विषयलाई थप जोड दिएको ठानेको छु । यसले निजी क्षेत्र र सहकारीबीच सम्बन्धका थप आयामहरु विकसित गर्नेमा नेफ्स्कून सञ्चालक समिति मात्र नभई समग्र साकोस अभियान विश्वस्त छ । फोरमको हिजो असोज २ गते सम्पन्न पहिलो बैठकमा पनि सहकारी र निजी क्षेत्रबीचको सम्बन्धलाई सुमधुर र सहकार्यात्मक रुपमा अघि बढाउने विषयमा छलफल भएको उनले जनाए ।

सभापति पुष्पराज कुँवरको अध्यक्षतामा बसेको बैठकले सहकारी तथा निजी क्षेत्रबीच सामाजिक विषयहरुमा सहकार्यका माध्यमबाट आपसी सम्बन्धलाई प्रगाढ बनाउने उपयुक्त र प्रभावकारी माध्यम सामाजिक सेवा फोरम हुने विश्वास लिएको बताए।

फोरमको पहिलो बैठकमा उपसभापति चन्द्रप्रसाद ढकाल लगायत सदस्यहरु, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत जिल्ला नगर उपाध्यक्ष सुरज वैद्य, भेला समिति संयोजक उमेश डालमिया, कृषि उद्यम केन्द्र संयोजक एवम् नेफ्स्कूनका पूर्व अध्यक्ष डिबी बस्नेत, राजस्व समिति संयोजक अम्बिका पौडेल आमन्त्रित अतिथिका रुपमा सहभागी रहेका थिए ।

फोरमले भूकम्प, बाढी, पहिरो, महामारी जस्ता प्राकृतिक विपत्तिको अवस्थामा उद्दार कार्य एवम् राहत उपलब्ध गराउने कार्यमा विभिन्न निकाय तथा पक्षसँग समन्वय गरी नतिजामुखी हिसाबले काम गर्ने उद्देश्य बोकेको छ ।

यसैगरी, सार्वजनिक सम्पदाको संरक्षण, स्वास्थ सरसफाई आयोजनाका कार्यक्रम सञ्चालन तथा त्यस्ता कार्यक्रममा सहभागिता जनाउने, स्रोत परिचालनका लागि योजना बनाइ काम गर्ने आदि उद्देश्य पनि फोरमको रहेको छ ।

त्यसका लागि गृह, स्वास्थ्य, समाज कल्याण लगायतका मन्त्रालयसँगै  प्रमुख जिल्ला अधिकारीहरुको कार्यालय, प्रदेश र स्थानीय सरकारका सम्बन्धित कार्यालयहरु एवं सहकारी तथा सामाजिक सेवाका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग मिलेर काम गर्ने छ ।



Leave a comment