काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद थप भएको छ । समितिले प्राप्त गरेको तथ्य पुष्टि र प्रतिवेदन लेखनका लागि भन्दै प्रतिनिधि सभाले १५ दिन म्याद थपिदिएको हो । समितिका सभापति सूर्य थापाले म्याद थपका लागि राखेको प्रस्ताव सभाले स्वीकृत गरेको छ ।
सहकारीको रकम हिनामिनामा तत्कालीन गृहमन्त्री रवि लामिछानेकोसमेत नाम जोडिएपछि तत्कालिन प्रतिपक्षी दलहरूको मागमा समिति गठन भएको थियो । जेठ १५ गते गठित समितिले जेठ २२ गतेदेखि काम सुरु गरेको थियो । तीन महिनाको अवधि सकिएपछि थप १५ दिन थपिएको हो ।
समितिले हालसम्म ५१ बैठक सम्पन्न गरिसकेको जनाएको छ । समितिले समस्याग्रस्त सहकारीका सञ्चालक, पीडित सदस्यका प्रतिनिधि, विभिन्न सरकारी कार्यदलका प्रमुख र सदस्य, सुरक्षा निकाय, पालिका लगायत अन्य सरोकारवाला विभिन्न पक्षसँग रायसुझाव, सोधपुछ, जानकारी आदानप्रदान गरेको छ ।
Leave a comment