विराटनगर । राष्ट्रिय सहकारी बैंकमा कोशी प्रदेशको उपस्थिति अन्य प्रदेशको भन्दा उत्कृष्ठ देखिएको छ । बैंकको २२ औं स्थापना दिवसको अवसरमा शनिबार विराटनगरमा सम्पन्न “सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा” विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा प्रस्तुत प्रतिवेदनले उक्त तथ्य बताएको हो ।
कोशी प्रदेशमा बैंकका १ वटा प्रादेशिक कार्यालय र १२ वटा शाखा कार्यालय रहेका छन् । २ हजार ६०१ प्रारम्भिक सहकारी सदस्य रहेका छन् । कोशी प्रदेशको मात्र बैंकमा ४३.८५ करोड अर्थात कुल पूँजीको १५.७२ प्रतिशत शेयरको हिंसा कोशी प्रदेशले ओगटेको छ।
बैंकका लेखा समिति संयोजक लक्ष्मि प्रसाद उप्रेतीद्धारा प्रस्तुत बैंकको प्रगति प्रतिवेदन अनुसार बैंकको निक्षेप १० अर्ब ४ करोड रहेको छ । जुन बैंकको कुल निक्षेपको १६.४५ प्रतिशत हो । बैंकले कोशी प्रदेशमा ३ अर्व १४ करोड कर्जा लगानी गरेको छ । जुन बैंकको कुल कर्जाको ११.१७ प्रतिशत हो ।
बैंकका प्रदेश संयोजक महेन्द्र गिरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै भट्टराईले सहकारीले जनताको सानो सानो समस्या टार्ने काम गरेको बताए ।
अहिले मिटर ब्याजि पिडितको निवेदन जिल्ला प्रशासन कार्यालयमा ६ सयको हाराहारीमा परेको बताउँदै उनले सहकारी नभएको भए यो समस्या झन विकराल अवस्थामा हुने उनको भनाई थियो । प्रतिफल दिने ठाउँमा लगानी गर्ने हो भने सहकारीले राम्रो गर्ने र सदस्यको हितमा काम गर्ने वातावरण बन्ने उनको भनाई छ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले बैंकले सदस्यको हितको लागि काम गरिरहेको बताए । बैंक स्थापना कालमा केही अप्ठ्यारा परिस्थिति आएपनि अहिले बैंक अगाडि बढेको बताउँदै पछिल्लो समयमा देखिएका केही घटनाले सदस्यमा आशंक पैदा भएको भए पनि आशंकालाई चिर्ने उनले बताए । केही खराब व्यक्तिका कारण समस्या देखिएको बताउँदै समस्याको समाधानतर्फ आफूहरु लागेको उनले बताए ।
सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिदै पोखरेलले आगामि दिनमा सदस्यहरुको हितको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर नितिगत निर्णय गरिने समेत बताए । बैंकको २२ औं स्थापना दिवसको अवसरमा कोशी प्रदेशका शाखा कार्यालयमा नियमित कारोबार गर्ने सहकारीहरुलाई पुरस्कृत गरेको छ । बैंकले हरेक शाखाबाट नियमित कारोबार गर्ने २÷२ वटा सहकारीलाई पुरस्कृत गरेको हो ।
Leave a comment