काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले संघमा आवद्ध संस्थाहरुको बर्गिकरण गर्ने भएको छ । संघका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले संघको बार्षिक योजना अनुसार यस आर्थिक बर्षबाट संस्थाहरुको वर्गिकरण गरिने बताए ।
सक्षम, सामान्य, सुधार गर्नुपर्ने र निस्कृय गरी संस्थाहरुलाई ४ वटा समुहमा विभाजन गरिने उनको भनाई छ । त्यसका लागि संघले वर्गिकरणको आधार र सूचकहरु तयार गरेको जनाए । उनले सबै संस्थालाई एउटै उपचार विधि काम नलाग्ने जानकारी भन्दै समस्यामा परेका सहकारीलाई पुनः सञ्चालन योग्य बनाउन कर्मचारीलाई तालिम शिक्षा मार्फत दक्ष बनाउने र आवश्यक परे वित्तीय सहजीकरण समेत गर्ने जनाए ।
संस्थाको अवस्था अनुसार आधारभूत, मध्यम र उच्चस्तरीय तालिम दिने र सक्षम संस्थाका व्यवस्थापकहरुलाई रिसोर्स पर्सनका रुपमा प्रयोग गर्ने उनले जनाए । संघमा बागमती प्रदेशभरका ४९४ संस्था आवद्ध छन् । त्यस मध्ये २२ वटा संस्था संघको कोशिस कार्र्र्यक्रममा सहभागी रहेका छन् ।
संघले संस्थाहरुलाई सुशासित, व्यावसायिक र सुरक्षित बनाउन कोशिस कार्यक्रम सञ्चालन गरेको जनाएको छ । त्यसैगरी संघले सञ्जाल व्यवस्थापन गरेर अगाडि बढ्ने नीति लिएको र सोही अनुरुपम ४ वटा जिल्ला बचत संघसँग सम्झौता समेत गरिसकेको सिइओ दाहालले जनाए ।
बचत संघमार्फत सदस्य संस्थाहरुलाई तालिम तथा शिक्षा प्रदान गर्ने र संघहरुलाई सबल बनाउन कोशिस कार्यक्रममा सहभागी गराउने उनले बताए । संघले चालु आर्थिक वर्षमा २० वटा संस्थाको अनुगमन गर्ने र सुधारका लागि सहजीकरण समेत गर्ने जनाएको छ ।
संघले बागमती प्रदेश सरकारबाट स्वीकृत लिएर ऋण व्यवस्थापन, संगठन विकास, लेखा प्रणाली र यूवाका लागि वित्तीय साक्षरता कार्यक्रमको पाठ्यक्रम विकास गरिसकेको छ । यस आर्थिक बर्षमा थप २ वटा नयाँ पाठ्यक्रम विकास गरेको समेत उनले जानकारी दिए । संघले गत आवमा १८ वटा संस्थाको अनुगमन गरेको र सुशासनमा कसैसँग सम्झौता नगर्ने उनको भनाई छ ।
संघको गत असार मसान्तसम्म शेयरपुँजी ७ करोड ४८ लाख, बचत ३ अर्ब ५४ करोड, वित्तीय लगानी २ अर्ब ६३ करोड, ऋण लगानी ४० करोड, तरलता ५७ करोड ४५ लाख र कर अघिको बचत २ करोड ९२ लाख रहेको छ । संघको कुल सम्पत्ति ३ अर्ब ५४ करोड पुगेको छ ।
Leave a comment