ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पूँजी फिर्ताकोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरेको छ । सोमबार बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट ३ करोड ८३ लाख बितरण गरेको छ । कोषबाट एउटै सदस्यले ९ लाख भन्दाबढी रकम प्राप्त गरेको बैंकले जनाएको छ।
सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप बैंकका सदस्य संघ/संस्थाहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा कुल ३ करोड ८३ लाख २० हजार २ सय ९५ रुपैँया संरक्षित पूँजी फिर्ताकोषको रकम बाँडफाँट गरेको हो।
संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । उनका अनुसार बचत र कर्जा कारोबार गर्ने १६ हजार ६० सहकारी संघ/संस्थाहरु को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् ।
बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ९ लाख ७५ हजार ६ सय ७ रुपैयाँ तथा कर्जा तर्फ ३ लाख २४ हजार ८ सय ४ रुपैयाँ सम्म प्राप्त गरेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले बताए ।
बैंकले संरक्षित पूँजी फिर्ताकोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ÷संस्थाहरु बचत तर्फ २६ र कर्जा तर्फ १०४ वटा रहेका छन् । हाल बैंकमा १६ हजार ३ सय ३० सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।
Leave a comment